News

जापानमा नेपालीहरुको बढ्दो लिभिङ टुगेदर : समस्या निम्त्याउदैं

टोकियो – सिजन महतो (नाम परिवर्तन) २०१५ मा विद्यार्थी भिसामा जापान आएका हुन् । विवाह गरेको तीन वर्ष नपुग्दै उनी विदेश लागेका थिए । उनको नेपालमा पाँच वर्षकी छोरी छिन् । जापानी भाषाको दुई वर्षको अध्ययन सकेपछि भोकेशनल कोर्स (सेम्मोन) अध्ययन गर्दै गर्दा उनी एकजना विवाहित युवतीको रिलेशनशीपमा परे ।

यो जोडीको प्रेमलीला झाँगिदै गएपछि दुवैको सहमतिमा संगै बस्ने निर्णयमा पुग्दछन् । उनीहरुबीच लिभिङ टुगेदरको यात्राले दुई वर्ष नाघिसकेको छ । उनीहरु दुवैले आ-आफ्नो परिवारसंगको सम्बन्ध पनि राम्रै म्यानेज गर्दै आईरहेका थिए । पोर्चुगलमा श्रीमान भएका ती युवती पनि विद्यार्थी नै हुन् । जापानको महंगी, उर्लदो जवानीको भेल, घरपरिवारदेखि टाढा हुँदा विदेशको न्यास्रोपना जस्ता कारणले साथी नै त हो विरानो बस्तीमा जिउने आधार भन्ने मानसिकताले उनीहरुलाई नजिक्याउनु अस्वभाविक थिएन ।

यद्यपि आफ्नो सुन्दर घरसंसारलाई दाउमा राखेर संगसंगै बस्दै आएका यी जोडिको बारेमा एक कान, दुईकान, मैदान हुँदै उनीहरुको परिवारसम्म पुग्यो ।ती दूवै जनाको घरपरिवारले थाहा पाएपछि यो जोडीको लिभिङ टुगेदरको यात्रामा सँधैका लागि पूर्णविराम मात्र लागेन, छँदाखाँदाको सुन्दर घरसंसार खरानीमा परिणत भयो । ती युवतीको श्रीमानले नेपाल गएर उनलाई डिभोर्स दिए । अहिले उनीहरुबीचको डिभोर्स प्रक्रिया अदालतमा पुगेको छ भने उता महतोको नेपालमा भएकी श्रीमती पनि काखभरिको छोरी छोडेर अर्कैसंग टाप कसिन् ।यता महतोले पढाई सकाए पनि भिसासहितको रोजगारीको निश्चित नहुँदा भिसामा समस्या आई नेपाल फर्कनुपर्ने वाध्यता आईलागेको छ ।

आफु जापान आउँदाको ऋण ज्यूँका त्यूँ छ, बूढ्यौली लागेका बाबुआमाको एक मात्र आशाको केन्द्र छोरो अहिले खाली हात नेपाल फर्कदै गर्दा घरमा भएकी अंगालोभरिकी भरभराउँदी जीवनसंगीनी पनि गुमाउनु परेको छ । ती युवती पनि अहिले मानसिकरुपमा क्षतविक्षतको अवस्थामा दिन गुजारा गरे पनि आफ्नो लक्ष, गन्तब्य र सुदूर भविष्यको निशाना नै डामाडोल भएपछि के गर्ने र के नगर्ने अन्यौलताको स्थितिमा रहेकी छिन् । श्रीमान गुमाउनुको पीडा त त छंदै छ, सामाजिकरुपमा भएको क्षतीले जीवनभर पार्ने असर आफ्नै ठाउँमा छ ।विवेक गुमाएर गरिने अपरिपक्व निर्णयसंगै यसरी लिभिङ टुगेदरमा बस्नेहरुको संख्या जापानतिर नजानिदों तवरले बढ्दै गईरहेको छ ।

महतोको जोडी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता अत्यन्त संवेदनशील विषयमा युवा पुस्ताबीच हुर्कदो विकृतिले अनेकन समस्या ल्याउन सक्ने जानकारहरु बताउँछन् । भावनात्मक आवेगमा हुर्कने मायाप्रेम, त्यसपछिको लिभिङ टुगेदर र त्यसपछि हुने यौनहिंसा, सामाजिक सञ्जालको दुरुपयोग गरी गरिने ब्ल्याकमेलिङ, असुरक्षित गर्भपतन, अन्तमा पारस्परिक सम्बन्धमा आउने दरारले एकपछि अर्को विकराल समस्याहरु निम्त्याउने गरेका छन् । जसले गर्दा जीवनलाई नै पूरै अन्धकारतिर धकेलिदिएको उदाहरण महतोजोडी मात्र होइनन् । पश्चिमा खुल्ला समाजको झझल्को दिनेगरी लिभिङ टुगेदर सँस्कृति विदेशमा मात्रै नभएर नेपालमै पनि बिस्तारै हुर्कदै गएको पाईन्छ ।

उसो त विवाहपूर्वको शारीरिक सम्बन्ध र लिभिङ टुगेदरलाई नेपाली समाजले पचाउन नसक्ने अवस्थामा विवाहित परपुरुष र परस्त्री समेत लिभिङ टुगेदरमा बस्ने सँस्कार चिन्ताको बिषय बन्दै गएको छ । वैदेशिक रोजगारीका कारण स्वदेश तथा विदेशमा बढ्दो लिभिङ टुगेदरको सँस्कृति टाउको दुखाईको बिषय बन्दै गइरहेको छ ।यस्ता संवेदनशील बिषयहरुमा समय समयमा चेतनामुलक परामर्श कार्यक्रमहरु हुनु आवश्यक रहेको र यसतर्फ समाजका अगुवाहरुको ध्यान जानुपर्ने बताईन्छ ।

Author Since: Dec 06, 2019

Related Post