कोरिया खबर

ईपीएस चित्रकारको कथा

गोकुल थोकर / सउल

दक्षिण कोरियाको राजधानी सोलदेखि ४० किलोमिटर टाढा पर्ने छनान सहरमा छ– कृष्णबहादुर सुनारको कम्पनी । उनको कम्पनीमा हुन्डाई गाडीको ब्रेक बन्छ । सोमबारदेखि शुक्रबार बिहान ८ बजेबाट बेलुकीको ८ बजेसम्म काम चल्छ भने शनिबार र आइतबार बिहान ८ बजेबाट बेलुकी ५ बजेसम्म ।थोरै फुर्सत छ । त्यही समयमा उनी मनैदेखि ‘चाहेको काम’ चित्र कोर्छन् ।

यसरी व्यस्त जिन्दगीको बचेको समयमा कोरेका चित्रको एकल प्रर्दशनी यतिबेला दक्षिण कोरियाको थेजन सहरको सगरमाथा रेस्टुरेन्टको हलमा भइरहेको छ ।सुनार नेपाल हुँदा मूर्ति बनाउँथे । उनको आफ्नै मूर्तिको पसल थियो । व्यापार ठिकै थियो । खानेबस्ने चल्थ्यो । ललितकला क्याम्पसमा स्नातक तहको अध्ययन गर्दै थिए । पहिलो र दोस्रो वर्ष पास पनि भए । तेस्रो वर्ष परीक्षा हुने समयमै कोरियन भाषाको पनि परीक्षा हुने भो । घरमा छलफल गरे । भाषाको जाँच दिने कि ललितकलाको ? श्रीमतीले दुई छोरी देखाउँदै ‘भविष्य बनाउनु पर्दैन ?’ भनिन् ।

उनलाई पनि लाग्यो– आफ्नोभन्दा छोरीहरूको जिम्मेवारी राम्रोसँग लिनुपर्छ । भाषा राम्रै थियो । उनी पास भए । ललितकलाको परीक्षा दिने रहर मनैमा मारे । संयोग कस्तो भने उनी कोरिया आउने दिन नेपालमा महाभूकम्प गयो । उनी नेपालको एयरपोर्टमा तीन दिन बसे । ‘हामी त एयरपोर्टमै बन्दी जस्तो,’ उनले कथा सुनाए, ‘बाहिर जान पनि नपाइने ।’ सँगै बसेकाले फोन ल्याएका थिए । त्यहींबाट बल्ल बल्ल काठमाडौंमै बस्ने श्रीमतीसँग कुरा गरे । परिवारको हालखबर सोधे । सबै ठिकै भएको सुनेपछि मन ढुक्क भयो ।‘ईपीएस लेखेको टोपी र ज्याकेट लगाएका ४० जनाको ग्रुप थियौं । टोपी ज्याकेट खोल्न पनि नदिने’, उनले भने, ‘अर्काको देशमा नोकरी गर्न हिंडेको मान्छे भन्ने चिनाउने टोपी ज्याकेट लगाएर बस्दा अलि अलि आत्मग्लानि जस्तो हुँदो रहेछ ।

त्यो त सुरुवात मात्रै रहेछ । कोरियामा आएपछि पहिले पहिले कोरियनले गाली गर्थ्यो । खुब नमज्जा लाग्ने तर बानी पर्ने रहेछ समयसँगै ।’अझै उनी एयरपोर्टकै सम्झनामा थिए । ‘कोरियामा खान बोकेको चाउचाउ खाएर दिन कट्यो । दोस्रो दिन बेलुकी खाना खुवाउनुपर्‍यो भन्यौं । दालभात दिने भनियो तर पर्खंदा पर्खंदा उनी निदाए । त्यही बेला दालभात बाँडेछन् । साथीभाइले पनि बोलाएनन् । ‘खाना खाने कत्रो इच्छा थियो, पूरा भएन,’ उनले सुनाए ।तेस्रो दिनको राति जिन्दगीमा पहिलो पटक प्लेन चढे उनी । काठमाडौंलाई फन्को मार्दै प्लेन अकासियो । झ्यालबाट तल हेर्दा कतै कतै मात्रै उज्यालो देखिन्थ्यो । ‘मलाई त काठमाडौं क्यान्भास जस्तो लाग्यो । भर्खरै स्याड थिममा चित्र कोरे जस्तो ।

कालो रङले दुःख देखाए जस्तो । म पनि दुःखी नै थिएँ,’ कुराकानी क्रममा उनी भावुक देखिए । प्लेन मलेसियामा तीन दिन बसेर बल्ल दक्षिण कोरिया आयो । उनको व्यस्त जिन्दगी पनि सुरु भइगयो । चित्र र मूर्ति बनाउने काम सायद उनको रगतमै थियो । बाग्लुङको जैमनी गाउँमा बा आरनका काम गर्थे । अझै गर्छन् । उनका बा हँसिया, चक्कु, कोदालीका डिजाइन कपीमा लेख्थे । थोरै फलाममा राम्रो सामान कसरी निकाल्न सकिन्छ भनेर फरक फरक चित्र बनाइरहन्थे । उनी घरका जेठा छोरा । स्कुल नगएको दिन बालाई सहयोग गर्नुपर्थ्यो । ‘त्यही बेलादेखि सामानको डिजाइन म गर्न थालेँ,’ उनले सम्झे, ‘मेरा लागि त्यही नै चित्र कोर्ने पहिलो मेसो थियो ।’चित्रकला र मूर्तिकलाको प्राज्ञिक ज्ञान भने ललितकला क्याम्पसमा आईएफए पढ्दा भयो । नेपाली कलाकार लैनसिंह वाङ्देल, शशिविक्रम शाह, किरण मानन्धरका बारेमा जाने । विदेशी कलाकार पाब्लो पिकासो, भ्यान गस, लियोनार्दो दा भिन्ची, फ्रिडा काहुलोबारे थोरै भए पनि जाने सिके, ‘पहिला किन पढ्नुपर्छ होला चित्र र मूर्ति बनाउन पनि भन्थेँ ।

पढ्दै जाँदा थाहा भो, औपचारिक पढाइले कलालाई हेर्ने नजर फेर्ने रहेछ ।’उनले कक्षाका साथीहरूसँग मिलेर ग्रुपमा मूर्तिकला प्रदर्शनीमा पनि भाग लिए । कोरिया उड्ने बेलैमा रङ, ब्रुस बोकेरै आएका थिए उनी । फुर्सद भयो कि पेन्टिङ गर्थे । उनको चित्रकला कोरियामा भएका नेपाली रेस्टुरेन्टमा देख्न सकिन्छ । कतै ल्यान्डस्केप चित्र कोरेका छन्, कतै पोट्रेट । ‘मैले यहाँका ५ वटाजति रेस्टुरेन्टका लागि चित्र दिएको छु,’ उनले भने, ‘उहाँहरूले प्रायः माग्ने भनेको नेपालको हिमाल, टिपिकल गाउँ र फ्यामली प्रोट्रेट हुन् ।’एक्रलिक पेन्टिङ गरिरहेका सुनारका प्रदर्शनीमा राखिएका चित्र धार्मिक आस्था बोकेका छन् । एक दर्जनभन्दा बढी चित्र राखिएको प्रदर्शनीमा बुद्धको प्रतीकसँगै शान्ति, माया, जीवनचक्र, धर्म र प्रकृतिलाई प्रतिबिम्बित गरेका छन् । त्यस्तै मातृत्व, प्राकृतिक सौन्दर्यसँगै कोरियन जीवनको व्यस्ततालाई पनि चित्रमा समेटिएको छ । सुनारको चित्रकला प्रदर्शनी हेरेपछि कोरियन राष्ट्रिय चित्रकार संघका अध्यक्ष चित्रकार दु सि योङले मानवीयता र सामाजिक अनुभव, मूल्यमान्यता र ऐतिहासिक चेत देखिने र प्रवासी कामदारहरूको पीडामय जीवनमा सिर्जनात्मक खुराक भएको उल्लेख गरेका छन् ।

चित्रकला प्रर्दशनीपछि नेपाली साहित्यकारहरूको मूर्ति बनाउने काम पाएका छन् उनले । उनलाई नेपाल कोरिया कल्चर सेन्टरले साथ दिएको छ । ‘विदेशमा हाम्रा नेपाली साहित्यकारको मूर्ति बनाउन पाउनु मेरा लागि सम्मानको कुरा हो,’ उनले भने, ‘फेब्रुअरी महिनाभरि त्यही काम गर्छु ।’ सेन्टरका संस्थापक छन् कोरियन कवि किम ह्याङह्यो र लेखक तथा पत्रकार मञ्जु गुरुङ । सेन्टरमार्फत यसअघि केही चित्रकार नेपालबाट आएर कोरियामा प्रदर्शनी गरेको भए पनि ईपीएसमार्फत आएको प्रतिभाको भने यो नै कोरियामा पहिलो कला प्रदर्शनी रहेको किमले बताए । ‘हामी कला, साहित्य र संस्कृतिमार्फत दुई देशलाई जोड्न चाहन्छौं,’ किमले भने, ‘यही क्रममा कृष्णजीलाई भेटायौं ।’ source :ekantipur

Author Since: Dec 06, 2019

Related Post