बिचार/ब्लग

कोरियनलाइ कसरि बताउँ देशको यथार्थ

दक्षिण कोरिया,एकदिन हाेईसिक( कम्पनी पार्टी )थियो।सवैजना दिनभरिकाे थकाइ भुल्दै कामको विषयमा केही कुराहरु गर्दै खानपिनमा रमाईरहेका थियाैं।त्यसैवेला छेउमा संगै वसेकाे सहकर्मी काेरियनले साेधेकाे सोध्यो – नेपालमा तिमिहरुकाे निजि घर छ? “छ” मैले उत्तर दिए जग्गाजमिन पनि छ? कति छ?वरिपरिको केही जमिन देखाउदै जवाफ दिए लगभग यति छ ।

काेरियनले पत्याएन अनि साेच्याे झुट वाेल्याे किनकि काेरियामा झण्डै अाधा मानिसको आफ्नाे निजि घर हुदैन सरकारले उपलव्ध गराएको अपार्टमा भाडा तिरेर वस्नुपर्छ।जग्गा जमिन हुनेहरु त झन धेरै धनी मानिन्छन् काेरियामा त्यसैले उ झन उत्सुकतापुर्ण प्रश्न गर्न थाल्छ” तिमिहरु हामी भन्दा धनी रहेछाैं अनि किन काेरिया आएको त? मलाई प्रश्नले थिचे झै लाग्यो सरकारकाे कमजोर कृषिनिति र देशको अवस्थाकाे गहिराई म कसरी वताउँ? विचाैलियाले खाएकाे कृषि अर्थतन्त्रकाे कसरी वयान गराैं?उसकै भाषामा भन्नुपर्ने हुदा सव्दसंयाेजनमा कठिनाइ त छँदैथियो तर उसको प्रश्नको उत्तर दिनु वाध्यता थियोे किनकि यदि जवाफ दिन नसके म झुट ठहरिन्थेँ र एकपटक झुट लागेकाे मान्छेलाई काेरियनहरु प्राय विस्वास गर्दैनन्।

त्यसैले देशमा कृषि प्रविधि नहुनु र प्रविधिविना दुख गर्दापनि उचित मुल्य नपाएर घाटामा जानुपर्ने वाध्यताले विशेषगरी आफुलाई खानकाे लागि खेति हुन्छ व्यवसायिक कम हुन्छ भन्दै वुझाउन खाेजेँ ।उसलाई अझै चित्त वुझेन किनकि काेरियामा प्रविधि कृषकले नै भित्र्याउने हैसियत राख्छन र ठुलाे महामारी वा विपत्ति नआएसम्म कृषक घाटामा जाँदैनन् किनकि लगानीको अाधारमा मूल्य निर्धारण कृषकले र वजारकाे उपयुक्त व्यवस्थापन सरकारले गरेको हुन्छ। उक्त काेरियन मलाई यिनै कुरा वताउदै थियो अलि सरल भाषामा तर अब म अलि कम वाेल्ने प्रयत्न गर्दै थिएँ किनकि न मलाई देशको दयनीय अवस्था र निरीह सरकारि संयन्त्रको व्यख्या गरेर अचम्मित वनाउनु थियो न अन्य कुनै दुखेसाे गरेर सहानुभूति वटुल्नु थियो आखिर जति जवाफ दिन खाेज्याे उतिनै देशको गरिमा खस्किने त हाे।कुरा गर्दागर्दै विषयान्तर गरेर कामको विषयमा माेड्ने प्रयत्न गरें तर केही वुझेजस्ताे अनि अझ धेरै वुझ्न चाहेजस्तो उसका चेहरामा प्रष्ट देखिन्थ्याे।

जे हाेस त्यतिबेला प्रसंग त माेडियाे अलि हलुको महसुस त गरें तर मन झनै वहकिन थाल्यो।के म त्यो काेरियन भन्दा धनी नै हाे त?त्यसाे हाे भने सवै नेपाली धनी हुनुपर्ने अनि सवै नेपाली धनी भए देश कसरी गरिव?? प्रश्न माथि प्रश्न आउँथे जवाफ नै दिन नसक्नेगरि।अलिवेर एकाेहाेराे साेचिरहेकाे थिए त्यसैबेला फान्जाङ( क्याप्टेन) ले अब घरतिर जाने जानकारी गरायो।म पनि बाहिर निस्किएँ र आपसमा अभिवादन गर्दै वसस्टेसन तिर लागेँ। त्यो दिन त्यतिकै वित्याे भाेलिपल्ट वाट फेरि काममा निरन्तर लागें र खासै त्याे विषयमा साेच्न पनि छाडिसकेकाे थिएँ।

तर अाज फेरि अनलाइन खवरमा एक समाचार देखेँ वर्साैंदेखिकाे पसिनाकाे मूल्य नपाएर एक उखु किसान सडकमै सुतेर हड्ताल गर्दै रहेछन।मेडियाकाे मुख्य पृष्ठ ओगटेको समाचारले भन्दैथियाे पैसा नदिने व्यक्ति फलानो पार्टीको फलानो ओहदा काे अरे समाचार उत्सुक वन्दै गए जनता असन्तुष्टि पाेख्दै गए तर कागजि निर्देशन वाहेक न दाेषिले हिनतावाेध गर्याे न सरकारले दण्डित गर्याे।त्यति नै वेला काेरियनलाई दिन नसकिएका सवै उत्तरहरु तस्बिर वनेर आँखा अगाडि आए,किन कृषि व्यवसायिक भन्दा निर्वाहमुखि वन्याे? किन करोड कमाईसकेका नेपाली सहकर्मी देशमा लगानी नगरी फेरि विदेश छिर्छन?अनि हामी देशमा गर्न नसकेर विदेश छिरेका हाै त?देशमा सम्भावना नै नभएको हाे र?
आज कपाल सेतै फुलेका उखु किसानकाे आँखाको आँशु र भावुक भनाइले यी प्रश्नहरुकाे समेत सहज उत्तर मिलेकाे आभाष भइरहेकाेछ ।अनि म पनि डराईरहेछु त्यही काेरियनकाे प्रश्नमा जहाँ एकपटक उसले साेधेकाे थियो ५ वर्षपछि फेरि आउछस नि? मैले जवाफ दिएको थिएँ “हिजो पैसा थिएन तर अव केही पैसा हुनेछ त्यसैले नेपालमा केही गर्छु सकेसम्म अब फेरि फर्केर आउँदिन ” यता किसान चिच्याउदै छन कहिले सडकमा दूध पाेखेर त कहिले टमाटर फालेर अनि कहिले तरकारी खेतिमा डाेजर लगाएर त कहिले सडकडमै सुतेर तर पनि सरकार विउझिदैन न विचाैलिया र ठेकेदारलाई नियन्त्रण गर्न सक्छ न दिर्घकालिन रणनीति वनाउन सक्छ।त्यसैले सरकारले नदेखेको गाउले परिवेश र नभाेगेकाे कृषक जीवन अनि हचुवामा दिईने समृद्धिका भाषणले काँशि जाने कुत्तिकाे वाटाे भन्ने उखान चरितार्थ त वनाउदैछ त्यो संगै देशमै केही गर्ने साेच वनाएका म जस्ता हजारौं युवाहरुलाई नराम्ररी झस्काएकाेछ।सिन्धुपाल्चोक,ईन्द्रावति गा.पा-७(हाल दक्षिण काेरिया)

Author Since: Dec 06, 2019

Related Post