
प्रजु पन्त/पुष्पा थपलिया झापा कचनकवल गाउँपालिका वडा नम्बर ९ की सुनिता दर्जीका श्रीमान् वैदेशिक रोजगारीमा मलेसिया गएको वर्ष दिन मात्रै भयोे । चार सन्तानको जिम्मेवारी दिएर कमल दर्जी विदेशिए ।बेलाबेलामा पैसा पनि आउँथ्यो । हप्तामा एक दिन इमोमार्फत् दुवैबीच गफगाफ पनि हुन्थ्यो ।श्रीमान्प्रति उनी इमान्दार थिइन् तर अकस्मात उनको जीवनमा एउटा शहरिया केटोको प्रवेश भएपछि जीवनको लय बद्लियो ।
काठमाडौं घर बताउने त्यो केटोको आवतजावत उनको घरमा बाक्लिन थालेपछि गाउँघरमा गाइँगुइँ चल्न थाल्यो । केही समयमै सुनिता श्रीमान्ले पठाएको सबै पैसा लिएर त्यही केटासँग शहर पसिन् । परिवारको लागि कमाउन मलेसिया भासिएका कमलको जीवनको लय नै बिग्रियो ।‘खै बुद्धि पनि कता गएको थियो होला त्यो आइमाईको,
’ सुनिताकी सासू गोमा दर्जीले भनिन्, ‘साना लालाबाला छाडेर कसरी हिँड्न सकेकी होली ! इटहरी उपमहानगरपालिका वडा नम्बर ७ बज्राहाका अक्षय खवासले झुलनवती चौधरीसँग प्रेम विवाह गरेका थिए । बिहे हुनेबित्तिकै अक्षयका परिवारले उनीहरुलाई एक कठ्ठा जमिन दिएर छुट्याइदिए ।खान लाउनै समस्या भएपछि अक्षय ऋण काढेर विदेशिए । पाँच वर्षसम्म विदेशमा दुःख गरेर घरको आर्थिक अवस्था सुधार्ने सल्लाहअनुसार उनी विदेशमा टिक्न सकेनन् र घर फर्किए । नेपाल फर्किएपछि अक्षयको व्यवहार बद्लियो । अहिले यी दुवै सम्बन्ध विच्छेदको तयारीमा छन् । ‘ऊ विदेश गएर परिवर्तन भएर आएछ,’ भुलनवतीले शुक्रवारकर्मीसँग गुनासो गर्दै भनिन्, ‘तिमी मनै पर्दैन भन्न थाल्यो, त्यसैले छुट्टिन आँटेको ।’
आर्थिक वर्ष २०६५÷०६६ देखि ०७४÷०७५ को आकँडाअनुसार वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३८ लाख ९८ हजार छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले उपलब्ध गराएको आँकडाअनुसार उनीहरुबाट १० वर्षको अवधिमा ४ हजार ४ सय ८२ अर्ब रुपैयाँ नेपाल भित्रँदा देशको आर्थिक स्वास्थ्य राम्रै भयो तर रेमिटेन्ससँगै पारिवारिक कलह, ठगी, दलालीसमेत भित्रियो ।रेमिटेन्ससँगै भित्रिएको पारिवारिक कलहका थप घटना यस्ता छन्:-कञ्चनपुर घर भएका रमेश शाही श्रीमती रिनासँगै महानगरीय प्रहरी परिसर काठमाडौंको महिला तथा बालबालिका सेवा केन्द्र कालिमाटीमा भेट्टिए । श्रीमतीले प्रहरी कार्यालयमा खान–लाउन नदिएको भन्दै उजुरी दिएपछि उनी तारेख धाउन आएका थिए । उनीहरुबीचको पारिवारिक कलहको कारण अनेक देखिए पनि मूल कारण वैदेशिक रोजगारी थियो ।
रमेश २१ र रिना १९ वर्षको हुँदा भागी विवाह गरेका थिए । रिना तल्लो जातको भन्दै रमेशको घरले स्वीकारेन । दुवै परिवारसँग छुट्टिएर बसे । पारिवारिक सल्लाहमा रमेश वैदेशिक रोजगारीका लागि कतार लागे । परिवारलाई सुख दिने भन्दै उनले सात वर्ष कतारमा बिताउँदा दुवैको सम्बन्ध भाताभुङ्ग भइसकेको थियो ।सात वर्षपछि रमेश स्वदेश फर्किए तर न माइतमा रहेकी श्रीमतीको वास्ता गरे न नौ वर्षको छोराको ख्याल नै गरे । श्रीमान्ले वास्तै नगरेपछि उनी प्रहरी कार्यालय आइन् । ‘उहाँ विदेश गएपछि परिस्थिति बिग्रियो,’ रिनाले भनिन्, ‘सुन्दैछु, उहाँ आफ्नै जातकी अर्की केटीसँग विवाह गर्दैै हुनुहुन्छ रे !’
रमेश श्रीमतीको दाबी स्वीकार्दैनन् । उनी बेकारमा आफूमाथि शंका गरेको दाबी गर्छन् । कतारमा बस्दा कम्पनीको पैसा चोरिएपछि आफूले धेरै दुःख पाउँदासमेत श्रीमतीले साथ दिनुको साटो तनाव मात्रै दिएको दाबी गर्दै उनले भने, ‘आफू उता टेन्सनमा हुँदा उनले खाली डिमान्ड मात्र गरिन्, मेरो अवस्थाको ख्यालै गरिनन् । त्यसपछि मैले पनि वास्ता गर्न छाडिदिएँ ।’अहिले उनले १० लाख लिएर छोडपत्र गर्न दबाब दिइरहेका रहेछन् । ‘मलाई १० लाख लिएर छुटौँ भनेर दबाब दिइरहेको छ,’ उनले भक्कानिँदै भनिन्, ‘छोरा त उसैको खुनको हो, दिउँला । ऊ नभएपछि त्यो पैसा लिएर मेरो मन त खुसी हुन्न नि !’
रमेशले सम्बन्ध विच्छेद हुनुमा एक अर्काबीच बढेको असझदारी मुख्य कारण रहेको दाबी गरे । रिनाले भने आफ्नै जातकोसँग प्रेम भएकाले उसैसित विवाह गर्न यस्तो गरेको दाबी गरिरहिन् । रमेशलाई अन्यसँगको प्रेमसम्बन्धबारे सोध्दा ‘रिना पनि अरुसँग विवाह गर्न स्वतन्त्र रहेको’ भन्दै उम्किए ।रामेछापका शैलेन्द्र रानाविरुद्ध महिला सेवा केन्द्रमा परेको मुद्दाको प्रकृति पनि उस्तै छ । २०७५ माघमा दर्ता भएको मुद्दाको मिसिल केलाउँदा सम्बन्ध विच्छेदको कारण वैदेशिक रोजगारपछि बढेको दुरी नै देखिएको छ ।
शैलेन्द्र दिनहुँ होसै नहुनेगरी रक्सी खान्थे, जुवाको लत उस्तै । श्रीमती सीताले पति शैलेन्द्रलाई सुधार्न माइतीसँग ऋण लिएर साउदी अरब पठाइदिइन् । तीन वर्षका लागि साउदी गएका उनले शुरुको वर्ष पैसा पनि पठाए तर ऋण तिरिनसक्दै पैसा आउन छाड्यो ।सीताले श्रीमान् नेपाल आएको चाल पाइन् । उनी त अर्कै महिलासँग विवाह गरेर पो बसेका रहेछन् ! जेठीले खोज्न थालेपछि उनले भागे । अहिले उनी कता छन्, अत्तोपत्तो छैन । सीताले पति भेटिने आशामा प्रहरीमा निवेदन दिएकी थिइन् तर फेला परेका छैनन् ।
यी भए विदेशिएका श्रीमान्ले स्वदेशमा भएका श्रीमतीलाई दिएको धोकाका घटना । अर्को रोचक घटना पनि फेला पर्यो । यो भने विदेशिएकी श्रीमतीलाई स्वदेशमा बस्ने श्रीमान्ले दिएको धोकाको हो ।घटना यस्तो रहेछः पुतली सडकमा रहेको सर्वोदय लिगल सर्भिस एन्ड रिसर्च सेन्टरमा सम्बन्ध विच्छेदको प्रक्रियाका लागि आएकी ती महिलाका पाँच वर्ष इजरायलमा बसेर आएकी थिइन् ।पाँच वर्षका लागि इजरायलको भिसा लागेपछि उनी परिवारको खुसीका लागि त्यता लागिन् । श्रीमान् नेपालमा, उनी विदेशमा । तापनि दुवैको सम्बन्ध राम्रै थियो । उनले महिनैपिच्छे पैसा पठाउँथिन् । श्रीमान्ले अब घर बनाउनुपर्छ भनेपछि उनले पैसा पठाइन् । श्रीमान्ले घर बनाएँ भने तर फोटो पठाएनन् । ‘तिमी फर्केपछि सरप्राइज हुन्छ क्या !’ भनिरहे ।
नेपाल आउँदा घर बनेको ठाउँमा जाँदा पतिले भनेझैँ उनी पूरै सरप्राइज भइन् । घर त पूरै बन्यो भनेका थिए श्रीमान्ले तर त्यहाँ त पिल्लर मात्र गाडिएको थियो ।यसपछि उनका श्रीमान्को पोल खुल्यो । उनी त अर्कै युवतीसँग राशलीला गरेर बसेका रहेछन् । घर बनाउने पैसा त्यतै सक्किएछ । श्रीमान्ले धोका दिएको खुलेपछि उनी सम्बन्ध विच्छेद गर्न ल फर्म धाइरहेकी छन् । यी प्रतिनिधि घटना हुन् । वैदेशिक रोजगारीमा लामो समय बस्दा यता स्वदेशमा घरबार भताभुङ्ग भएका घटनाको संख्या बढेको बढ्यै छन् । कुनै घटनाका पीडित महिला छन्, कुनैमा पुरुष तर कारण भने लामो समयको दुरी नै देखिएको छ ।महानगर प्रहरी परिसर महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी निरीक्षक चेतना पोख्रेलका अनुसार कार्यालयमा दैनिक तीन वटा यस्तै प्रकृतिका घटना आउने गर्छन् ।
उनका अनुसार विदेशिएका श्रीमान्ले उतै अर्की महिलासँग प्रेम सम्बन्ध बनाएको, श्रीमान्ले पठाएको पैसा नेपालमा बसेर दुरुपयोग गरी अरु नै पुरुषसँग प्रेम सम्बन्ध राखेर धोका दिएको, श्रीमती विदेश पठाएर यता अन्य महिलासँग मस्ती गरेर पैसा सकाएको जस्ता घटना आउने गरेका छन् ।‘दुःख गरेर श्रीमतीले ऋणधन गरेर बाहिर पठाउँछन्,’ पोख्रेलले भनिन्, ‘विदेशबाट आएपछि घरै नजाने, अरु नै महिलासँग विवाह गरेर बस्ने गरेका धेरै घटना छन् ।’