कोरिया खबर

कोरियामा जमेको नेपाली ठिटो : रोजगारीका लागि आएका लोकेन्द्र कसरी बने रोजगारदाता?

शिव भुषाल/सोल- सङ्नामदोङस्थित नेपालीले सञ्चालन गरेको रेष्टुरेन्टमा एक जना कोरियाली पाहुना ढोका धकेल्दै खुसी मुद्रामा भित्र छिरे। रेष्टुरेन्टको चारैतिर नियाले। ती कोरियाली पाहुनाले भने, ‘लोकेन साहुजी बधाई छ, हामीबाट कुनै सहयोग आवश्यक परे सम्झनु होला।’

कोरियाली ग्राहक त उनको रेष्टुरेन्टमा दैनिकजसो आइरहन्छन् तर ती ग्राहक अन्य पाहुनाभन्दा लोकेन्द्र सुवेदीका लागि विशेष थिए।

ती कोरियाली ग्राहक किम दोङ इल, जसलाई सुवेदीले आजभन्दा ११ वर्षअघि कोरियामा कम्पनी प्रवेश गर्दा पहिलो पटक भेटेका थिए। सुवेदी कामदारका रुपमा कोरिया प्रवेश गरेका थिए। उनलाई बोलाएका थिए, उनै किम दोङ इलले। रोजगारदातालाई सुवेदीले साठी डिग्री झुकेर इन्सा (ढोग) गरेका थिए।

कोरियाको राजधानी सोलदेखि ४ सय किमी दक्षिणी क्षेत्रमा पर्ने उल्सानस्थित कार्पेट बनाउने कम्पनी सञ्चालन गरिरहेका किमले नेपालमा अवसरको खोजीमा भौंतारिएको एक २३ वर्षीया ठिटो सुवेदीलाई त्यतिबेला श्रमिकको रुपमा आफ्नो कम्पनीमा ल्याएका थिए।

सुवेदीले उनैको कम्पनीमा ८ वर्षसम्म निरन्तर काम गरे। कडा मिहिनेत गरे, दिनरात काम गरे। सुरुसुरुमा काम नजान्दा उनै रोजगारदाता किमको मुखबाट धेरै पटक सुवेदीले गाली पनि खानुपरेको थियो।

कोरियामा काम नजान्दा वा रिसाउँदा धेरै प्रयोग गरिने शब्द सेक्या (कुकुरको बच्चा) उनले धेरै पटक सुने। मेसिनसँग अभ्यस्त नभएका सुवेदीलाई हातमा काम आउन गाह्रो भयो। किमले पनि सुवेदीलाई सुरुसुरुमा सेक्या शब्द प्रयोग गरेर धेरै हप्काएर काममा लगाएको सम्झिन्छन् उनी।

‘हिजो जसले सेक्या, पाल्ली हे (कुकुरको बच्चा, छिटो छिटो काम गर) भन्दै काममा लगाउँथ्यो आज उसैको मुखबाट साजाङ निम (साहु जी) सुन्न पाउनु एउटा निम्नवर्गीय परिवारबाट संघर्ष गर्दै यहाँ पुगेको मान्छेका लागि गर्वको कुरा थियो,’ सुवेदीले विगत सम्झिए ।

उनी आजभन्दा ११ वर्षअघि विराटनगरस्थित रिलायन्स स्प्रिङ मिलमा काम गर्दै आफ्नो स्नातक तहको पढाइलाई निरन्तरता दिइरहेका थिए। एक दिन कार्यालयमा पत्रिका पढ्दै गर्दा साठी हजार तलब सुविधा भएको गजबको रोजगारी गन्तव्य कोरिया रहेको भन्ने खबर पढे।

सानातिना काम गर्दै अध्ययनलाई निरन्तरता दिइरहेका लोकेन्द्रको पढाइ सकाएर केही व्यवसाय गर्ने सपना त थियो तर लगानी गर्न आर्थिक हैसियत थिएन। चार हजारको जागिर गर्दै अध्ययन गरिरहेको ठिटो ६० हजार तलब पाइने अवसर भनेपछि भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया हानिएको थियो।

सुरुमा कोरिया ३ वर्ष बस्ने, अलिकति लगानी गर्नको लागि पैसा जम्मा गरेर आफ्नै देश फर्केर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने सपना लोकेन्द्रको थियो। उनले तीन वर्षपछि परिवारसँग सोही प्रस्ताव सुनाए पनि नेपालमा लगानीको सुरक्षा नभएकाले केही वर्ष कोरियामैं बस्न परिवारले सुझायो।

तीन वर्ष, पाँच वर्ष, आठ वर्ष हुँदै दस वर्षसम्म सुवेदीले कोरियामा श्रमिकको रुपमा काम गरे। अब केही व्यवसाय गर्न सक्ने आँट उनको आर्थिक पाटोले पनि दिइरहेको थियो। तर नेपालमा व्यवसाय गर्न वातावरण राम्रो नभएको भन्दै उनका आफन्तले सकारात्मक प्रतिक्रिया दिएनन्।

अन्त्यमा एक कोरियाली र एक नेपाली व्यवसायीको साझेदारीमा सञ्चालनमा रहेको नेपाली ‘नमस्कार रेष्टुरेन्ट’ लोकेन्द्र साझेदार बनेर आफैंले एक वर्षदेखि सञ्चालन गरिरहेका छन्। दुई जना साझेदार नेपालमा कृषि, शिक्षा र ढुवानी व्यवसाय गरिरहेका छन् भने लोकेन्द्रले कोरियामैं रेष्टुरेन्ट व्यवसाय गरिरहेका छन्।

सुरुमा श्रमिकको रुपमा काम गर्न कोरिया आएका लोकेन्द्र अहिले कोरियामैं साहुजी बनेका छन्। लोकेन्द्रको उल्सान क्षेत्रमै रहेको अर्को रेष्टुरेन्टमा पनि साझेदारी छ। उनका दुई वटा रेष्टुरेन्टमा गर्ने ११ जना कामदार छन्। वर्षौँको मिहिनेतले आफ्नै व्यवसाय गर्न पाउँदा आफूखुसी रहेको लोकेन्द्र बताउँछन्।

श्रमिकको रुपमा कम्पनीमा काम गर्दा शारीरिक थकान बाहेक मानसिक दबाब नहुने तर आफ्नै व्यवसाय गर्दा मानसिक थकान भने अलि बढी हुने अनुभव उनले सुनाए। उनी ठट्टा गर्दै भन्छन्, ‘पहिला घडीको सुई हेरेर काम गरिन्थ्यो, घडीको सुई छिटोछिटो दौडिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो, अहिले आफ्नै व्यवसायमा चाहिँ यो घडीको सुई अलि विस्तारै घुमोस् जस्तो लाग्छ।’

सुवेदीले रेष्टुरेन्ट व्यवसायबाट सन्तुष्ट रहेको बताए। नेपालमा अर्काको काम गरे पनि थोरैधेरै व्यवसायीका समस्या नियाल्ने अवसर पाएका सुवेदी नेपालमा व्यवसाय गरेर हुने नाफा-घाटाको भन्दा पनि लगानीको सुरक्षा गर्नै समस्या पर्ने बताउँछन्।

नेपालमा लगानीको र लगानीकर्ताको सुरक्षाको ग्यारेन्टी सरकारले व्यावहारिक रुपमै लिने वातावरण भएमा अहिले पनि सानोतिनो उत्पादनमूलक व्यवसाय आफ्नै देशमा गर्ने सोच रहेको सुवेदीले बताए। उनी थप्छन्, ‘नेपालमा व्यवसाय गरिरहनु भएकाहरुले चन्दा आतङ्क, राजनीतिक दबाब र अस्वस्थ प्रतिस्पर्धा जस्ता यावत् समस्याका कारण फेरि विदेश पलायन भइरहेको देखेर हात हाल्न आँट आएन। हामी विदेशमा रहेका नेपालीहरु आफ्नै देशमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न इच्छुक छौँ तर यति दु:ख अनि मिहिनेत गरेर जम्मा गरेको लगानीको सुरक्षा हुनेमा विस्वस्त छैनौँ।’

सुवेदी अहिले श्रीमती र एक छोरीसहित कोरियामा श्रमिकबाट व्यवसायी बनेर रमाइरहेका छन्। विभिन्न संस्थामा आवद्ध रहेका उनी सामाजिक सेवामा पनि सक्रिय छन्। उनी यहाँका नेपालीहरुलाई भैपरी आउने समस्यामा सहयोग गर्दै आएका छन्।

भाषामा कमजोर नेपालीहरुका लागि अस्पतालमा दोभाषेको काम गरिदिने, प्रहरी चौकीमा दोभाषेको काम गरेर पनि सहयोग गर्दै आएका छन्।

नेपाल लाईभ बाट

Author Since: Dec 06, 2019

Related Post