News

हिमपहिरोमा हराएका कोरियन पदयात्री भेट्न कठिन

पोखरा – अन्नपूर्ण आधारशिविर ९एबिसी० पदमार्गमा आएको हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र उनीहरुका नेपाली गाइडको खोजीमा कठिनाइ उत्पन्न भएको छ। हिमपहिरोमा हराएका पर्यटक र सहयोगी तत्काल फेला पार्न सकिने अवस्था नरहेको पदयात्रा व्यावसायीले बताएका छन्। त्यस क्षेत्रमा हिउँ पर्ने क्रम नरोकिएको र ठूलो पहिरोले पुरिएका कारण तत्काल भेट्न कठिन रहेको व्यवसायीले बताए।

हिमपहिरो आएपछि खोजतलास र उद्धारका लागि ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानले सदस्य विजय केसीको नेतृत्वमा सातजना खोजीकर्ता पठाएको थियो। ती खोजीकर्ताका अनुसार पहिरो झरेको ठाउँमा चट्टानजस्तै हिउँ जमेको र ६र७ फिटसम्म हिउँ थुप्रिएकाले हराएका व्यक्ति तत्काल फेला पार्न सकिने अवस्था छैन।

गत शुक्रबारको हिमपहिरोमा चारजना कोरियाली र तीनजना नेपाली गाइडसहित सातजना हराएका छन्। तीमध्ये नेपाली गाइडहरुमा सरोज परियार, मिनबहादुर लामा र छिरिङ भोटे रहेको टानले जनाएको छ। खोजीमा खटिएका टानका सदस्य विजय केसीका अनुसार हिमपात जारी रहेको र बाक्लो हिउँका कारण पहिरोस्थलमा पुग्नै कठिन छ।

कठिन साथ पहिरोस्थल पुगे पनि खोजतलास सहज नभएको उनले बताए। स्थानीय र टानका खोजीकर्ता मात्र अहिलेसम्म घटनास्थल पुगे पनि खोजी सम्भव नभएपछि पोखरा फर्केको छ।‘हामी घटनास्थल पुगेर फर्किंदैछौं। तर अहिलेका लागि खोजतलास सम्भव नै छैन,’ केसीले भने, ‘पहिरो भीषण छ। तत्काल हिउँ पग्लिने सम्भावना छैन। हिउँ नपग्लेसम्म खोतलेर बेपत्ता मान्छे भेट्न सकिन्न।’

समुद्री सतहदेखि करिब ३२ सय मिटर उचाइको उक्त घटनास्थलमा हराएका कोरियाली पर्यटक भेट्न कम्तीमा एक महिनासम्म लाग्न सक्ने उनले बताए। ‘अहिले पनि लगातार हिउँ परेकाले खोजीकार्य तत्काल सम्भव छैन। कोरियाली पर्यटक हराएको खोचमा त झनै बाक्लो हिउँ जमेको छ’, उनले भने। नेपाली गाइड परियार बेपत्ता भनिएको ठाउँमा भने केही कम हिउँ रहेकाले अरु नथपिएको अवस्थामा कम्तीमा एक साता लाग्ने उनले बताए।

बाक्लो हिउँले पुरिएको मानवशरीर पत्ता लगाउने कुनै विशेष प्रविधि प्रयोग गरेर यकिन गर्न सकेको अवस्थामा केही छिटो भेट्टाउन सकिने सम्भावना रहे पनि हिउँ पग्लिने दिन पर्खिंदा महिना दिनभन्दा बढी लाग्ने उनले बताए। नागरिक दैनिकबाट

Author Since: Dec 06, 2019

Related Post