News

सन्दीप एकै वर्षमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलरद्वय सन्दीप लामिछाने र करन केसी यसवर्ष सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । भानुआटुका नालिन निपिकोलाई पछि पार्दै नेपालका भरपर्दा दुई बलर यसवर्ष टि–ट्वान्टी इन्टरनेसनलमा सबैभन्दा बढी विकेट लिने शीर्ष दुईमा अटाएका हुन् ।यो नेपाली खेलाडीको नयाँ उपलब्धि हो । हालसम्म कुनै नेपाली खेलाडीले एकै क्यालेन्डर वर्षमा यति धेरै विकेट लिएका छैनन् । विश्व क्रिकेट परिषद् (आईसीसी) को क्यालेन्डर वर्ष २०१९ मा सन्दीपले २८ तथा करनले २७ विकेट लिएका छन् । ओमानमा सम्पन्न पाँच राष्ट्र सम्मिलित क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै खेलाडी शीर्षस्थानमा उक्लिएका हुन् ।

ओमानमा करनले सर्वाधिक ११ विकेट लिएका थिए भने सन्दीपले ७ विकेट हात पारे । यस वर्ष सन्दीपले सर्वाधिक २८ विकेट लिने क्रममा १६ खेलमा ५९ ओभर बलिङ गर्दै ३ सय ८४ रन दिएका छन् । जसमा उनको करिअरकै सर्वोत्कृष्ट स्पेल ४–२० सामेल छ । उनले हरेक १३.७१ रनमा विकेट झारेका छन् । सन्दीपभन्दा १ विकेट कम लिएका करन एकै वर्ष सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले १६ खेलमा ५४.५ ओभर बलिङ गर्दै ४ सय २८ रन खर्चेका हुन् । उनी एकै क्यालेन्डर वर्षमा दुईपल्ट चार विकेट लिने छैटौं खेलाडी पनि हुन् ।सन्दीप एकै क्यालेन्डर वर्षमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा माथि अस्ट्रेलियाका एन्ड्र्यु टाइ छन् । टाइले २०१८ मा सर्वाधिक ३१ विकेट लिएका थिए । आईसीसीको क्यालेन्डर वर्ष सकिन दुई महिना बाँकी छ । नेपालले यसबीचमा कुनै टि–ट्वान्टी खेल खेल्न पाए दुवै खेलाडी यो सूचीको शीर्ष स्थानमा उक्लने सम्भावना रहेको छ ।

एकै क्यालेन्डर वर्षमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा २०१८ मा २८ विकेट लिएका पाकिस्तानका सदाब खान तेस्रोमा तथा २०१६ मा २८ विकेट लिएका भारतका जस्प्रित बुमराह चौथो र २०१० मा २७ विकेट लिएका डिर्क नेन्स चौथो स्थानमा छन् ।नेन्सबराबर विकेट लिएका करन इकोनोमीका आधारमा पछि परेका हुन् । यस वर्ष सर्वाधिक विकेट लिने खेलाडीको दावेदार भानुआटुका निपिकोसँगै कतारका इकबाल हुसेन पनि रहेका छन् । हुसेनले २३ विकेट लिइसकेका छन् । यसवर्ष ७ खेलमात्र खेलेका अफगानिस्तानका रशिद खानले १७ विकेटमात्र लिएका छन् । नेपालका अभिनाश बोहोराले पनि यसवर्ष १६ विकेट लिइसकेका छन् ।

Author Since: Dec 06, 2019

Related Post