
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले चिनियाँ, जापानी र कोरियाली भाषामा स्नातक तहको पढाइ सुरु गर्ने भएको छ । मानविकी संकायअन्तर्गत यी भाषाको पढाइ सुरु गर्न लागिएको हो । विषयविज्ञ नियुक्ति गरेर पाठ्यक्रम निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी डिन कार्यालयले दिएको छ । त्रिवि प्राज्ञिक परिषद्ले चिनियाँसहित, जापानी, कोरियाली, अरबी, जर्मनलगायत
भाषाको पठनपाठन गराउन स्वीकृति दिएको छ। परिषद्ले स्वीकृति दिएपछि डिन कार्यालयले चिनियाँ, जापानी र कोरियाली भाषाको पाठ्यक्रम निर्माणको काम अघि बढाएको हो। प्रशिक्षण र तालिमका रूपमा मात्र विश्वभाषा क्याम्पसमा यी भाषाको कक्षा सञ्चालन हुँदै आएको थियो।
विश्वविद्यालय तहको पढाइ सुरु गर्ने गरी तयारी अघि बढाइएको जानकारी क्याम्पस प्रमुख भीमनाथ रेग्मीले दिए। पाठ्यक्रम र कोर्स पूरा भएलगत्तै विद्यार्थी भर्ना गरेर पठनपाठन थालिने जानकारी रेग्मीले दिए। ‘६ महिनाअघि नै पढाइ थाल्न सक्ने अवस्था थियो, पाठ्यक्रमले पूर्णता नपाउँदा भर्ना खोल्न सकिएन,’ उनले भने, ‘पाठ्यक्रम टुंगो लागे यही माघको अन्तिम वा फागुनको सुरुमा भर्ना आह्वान गरेर शैक्षिक कार्यक्रम सुरु गर्न सकिन्छ। विश्वभाषा क्याम्पसले भाषा सिकाउने उद्देश्यले विभिन्न विदेशी भाषाको पढाउँदै आएको छ। १३ देशका भाषामध्ये चिनियाँमा विद्यार्थीको सबैभन्दा बढी आकर्षण रहेको प्राध्यापकहरू बताउँछन्।
काठमाडौं विश्वविद्यालयले तीन वर्षदेखि स्नातक तहमा चिनियाँ भाषाको चारवर्षे कोर्स पठनपाठन गराउँदै आएको छ। स्कुल अफ एजुकेसन र कन्फुसियस इन्स्टिच्युटले ‘बीएड इन चाइनिज ल्याङ्ग्वेज टिचिङ’ कार्यक्रम चलाएका हुन्। त्रिविले पनि सेमेस्टर प्रणालीमा चार वर्षे कोर्स अध्ययनरअध्यापन गराउन लागेको हो। मानविकी संकायअन्तर्गत ऐच्छिक विषयका रूपमा विद्यार्थीले तीनमध्ये कुनै एक भाषा रोज्न पाउँछन्।भाषाको पढाइ दुई सय पूर्णांकको हुनेछ। चार वर्षमा आठवटा सेमेस्टर हुन्छन्। कक्षा १२ को परीक्षामा कम्तीमा २।६ जीपीए ल्याएका विद्यार्थीले भाषा अध्ययनका लागि स्नातक तहमा भर्ना हुन पाउँछन्। अनिवार्य अंग्रेजी एक सय र त्रिविको स्नातक तहको मानविकी संकायमा अध्ययन गर्नुपर्ने कुनै दुई विषय अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यी भाषा पढाउनका लागि सम्बन्धित मुलुकबाटै शिक्षकहरू क्याम्पसको सम्पर्कमा आइसकेका छन्। नेपालस्थित दूतावासमार्फत चीन, जापान र कोरियाली विश्वविद्यालयबाट शिक्षक सम्पर्कमा आएको रेग्मीले बताए। ‘पहिले भाषा सिकाउने उद्देश्यले मात्र छोटो अवधिका कोर्स पढाइ हुन्थ्यो,’ उनले भने, ‘अब स्नातक तहको शैक्षिक प्रमाणपत्र र मान्यता पाउने गरी पढाइ सुरु गर्न लागिएको हो।यसअघि कोर्ष पूरा गरेका विद्यार्थीलाई त्रिविले सामान्य प्रमाणपत्र दिन्थ्यो। त्यसको प्राज्ञिक मान्यता थिएन। भाषा सिकेकोरजानेको प्रमाणका रूपमा त्यही प्रमाणपत्र देखाएर विद्यार्थीले थप अध्ययनका लागि ती मुलुक जाने र रोजगारीमा लाग्ने गरेका थिए। चिनियाँ लगानीमा खुलेका उद्योगधन्दा, कर्पोरेट हाउस, वित्तीय संस्था, शिक्षण संस्था र पर्यटन क्षेत्रमा उक्त भाषा जानेका विद्यार्थीको अभाव छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा कन्फ्युसियस अध्ययन कार्यक्रम सञ्चालन गर्ने सम्झौता सरकारले गरेको थियो। उक्त कार्यक्रम सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको शिक्षा मन्त्रालयले जनाएको छ। उच्च शिक्षाबाहेक विद्यालय तहदेखि चिनियाँ भाषाको पठनपाठन गराउने विद्यालयको संख्या बढ्न थालेको छ। केही विद्यालयमा अतिरिक्त विषयका रूपमा चिनियाँ भाषाको पढाइ सुरु गरिएको छ । कान्तिपुर दैनिकबाट