कोरिया खबर

कोरियन यूवती र नेपाली यूवकको अदभुत प्रेम कथा !

काठमाडौँ– धेरैलाई लाग्छ, नेपालमा भन्दा बाहिर राम्रो। त्यसैले पसिना मात्रै होइन, रगत बगाउन समेत तयार हुँदै विदेसिन्छन् नेपाली आफ्नो थातथलो छोडेर। त्यहाँ पुग्दा अनपेक्षित घटना र परिस्थितिसँग जुध्नु परे पनि उनीहरु स्वदेश फर्कन चाहन्नन्। तर, विदेशमा सिकेको सीपबाट नेपालमा आम्दानी गर्ने युवाहरु पछिल्लो समय बढ्दै गएका छन्।

त्यति मात्रै होइन, विदेशीले समेत नेपाललाई राम्रो कमाइ खाने थलो बनाउन थालेका छन्। त्यही लाइनमा छन्- भोजपुरका गोविन्द राई र उनकी पत्नी ली योङ सुक। राई कोरियन पत्नी लिएर नेपाल फर्के। उनीहरुको हातमा सिप थियो, त्यही भएर अहिले उनीहरुको हातमा पैसा पनि छ, खुसी पनि।

‘कपाल काट्ने समय नभए पनि हप्तै पिच्छे मेरो पार्लरमा आउँथे उनी। मसँग समय छैन अर्को मान्छेसँग कपाल काट भन्दा तिमीसँग मात्र काट्छु भन्थे उनी। मलाई पनि मायामा पारे,’ गोविन्द राईलाई इंगित गदै ली योङ सुक पिपुल्स प्लाजाको पाँचौ तल्लास्थित आफ्नै पार्लरमा गफिँदै थिइन्। छेउमा मुसुमुसु हाँसेर सुकको समर्थन गरिरहेका थिए राई।

१८ वर्षका तन्नेरी राई उच्च शिक्षा पढ्दै गर्दा कामको खोजीमा कोरिया पुगे। राजधानी सोलको एक पार्लरमा कपाल काट्ने क्रममा लीलाई भेटे। कामसँगै आँखा जुध्यो। आँखाले प्रेम भेट्यो, माया झाँगियो। कामसँगै लीसँग घरजम गरेर करिब दुई दशक कोरिया बसेका राई १२ वर्षअघि नेपाल फर्किए, त्यसपछि कोरिया फर्किएनन्, त्यसमा सुकको बलियो साथ रह्यो।उमेरले ५० पुगेको बताउने राई वि.सं. २०४६ सालमा कोरिया गएका थिए। त्यतिबेला गाउँमा एकजना काकाको छोरा पनि कोरियामै भएकाले आफू उनैबाट प्रेरित भएको राई बताउँछन्।

राई थप्छन्, ‘बाबाको सपना पढेर ठूलो मान्छे होस् भन्ने थियो तर त्यतिबेला ब्रिटिस आर्मीको पनि मासिक तलब जम्मा ७ हजार हुन्थ्यो। बाबुआमालाई सुख दिने सपना बोकेर आमाले खोजिदिनु भएको ४० हजार रुपैयाँ ऋणले कोरिया हानिएँ।’त्यहाँ भाषा बुझ्न कठिन भयो, ८ महिना त इसारामै चले। ‘मासिक २० हजार रुपैयाँमा धागो उत्पादन गर्ने कम्पनीमा काम सुरु गरेँ। बीस वर्ष सम्म एउटै कम्पनीमा काम गर्दा म्यानेजरसम्म भएर मासिक ५ लाखसम्म कमाएँ,’ उनले भने।

त्यसपछि उनलाई विस्तारै आफ्नै देशको माया लाग्यो। र, नेपाल आएर काम गर्ने सोच बनाए।‘पढ्न, घुम्न र सिप सिक्न विदेश ठिक छ तर त्यहाँको सीपले आफ्नै देशमा आएर पसिना र उर्जा खर्चिँदा देश विकास हुन्छ,’ राई भन्छन्।उनलाई लाग्छ- नेपालमा पनि सबै काम सम्भव छ। त्यो उनले व्यवहारमा पनि परिणत गरेर देखाएका छन्। उनले भने, पैसा नै सबैथोक हैन नि। ‘नेपालमा पनि सबै कुरा सम्भव छ भनेर शिक्षा दिनु पर्छ हामीले,’ राई थप्छन्, ‘नेपाली साउदीमा इँट्टा बोक्छन् तर नेपालमा मेहनत गर्न मान्दैनन्।’आफूले कोरियामा मेहनत गर्ने सीप सिकेको बताउँदै राई भन्छन्, खुब दुःख गरेर अनुभव बटुलेँ, ‘विदेशमा त लाइफ रोबोटको जस्तै हुने रैछ। दिनको १८ घन्टासम्म ड्युटी गरेँ।’

कोरियामा उनको जीवन व्यस्त मात्रै थिएन, माया र सम्मानको पनि अभाव थियो। ‘यहाँ हामीलाई सबैले इज्जत गर्छन् तर त्यहाँ हामीलाई कसले चिन्छ र ?’ राईले नेपाल फर्कनुको अर्को कारण खोले।अहिले राई बिहान ६ बजेदेखि नै कोरियन भाषा पढाउँछन्। त्यति मात्र होइन, उनी कोरिया जानुभन्दा पहिला दिइने ईपीएस सम्बन्धी तालिम पनि चलाउँछन्। अहिलेसम्म ७० हजार मानिसलाई तालिम दिइसकेको राई बताउँछन्। त्यसपछि उनी आफ्नो ट्राभल एजेन्सी पुग्छन्। समय मिलेसम्म उनी सुकलाई सहयोग गर्न पार्लर पुग्छन्।करिब बाह्र वर्ष अघि २०६६ सालमा पहिलो पटक नेपाल आएकी सुकलाई पनि नेपाली भाषाको मोह चढ्यो। निकै मेहनतले उनले नेपाली सिकिन्, पेशा मात्रै होइन, जीवन चलाउन पनि।

सुक भन्छिन्,‘कोरिया पनि पहिला विकसित थिएन, नेपालमा पनि काम गर्ने हो भने असम्भव केही छैन्।’ तर नेपालका मान्छे अल्छी भएको सुकको गुनासो छ।सी पनि ५० वर्षमा टेकिसकिन्। कोरियामा भन्दा नेपाल रमाइलो लाग्छ उनलाई। उनले भनिन्, ‘कोरियामा मानिस अति व्यस्त हुन्छन्। तर नेपालमा आफ्नो परिवारसँग बसेर आरामले काम गर्न पाइन्छ।’पार्लरमा तीस वर्ष लामो अनुभव सँगालेकी सुक नेपाली ग्राहकप्रति कृतज्ञ छन्। उनले थपिन्, ‘नेपाली ग्राहक कुरेर बसिदिन्छन्। आज समय छैन भोलि आउनुस है भन्दा आइदिन्छन्।’ तर, कोरियनको त्यस्तो बानी नभएको सुक बताउँछिन्।सुकको नेपालीसँग काम गर्दाको अनुभव भने फरक छ। उनले भनिन्, ‘यहाँका स्टाफहरु अल्छी छन्। काम गर्दा खासै ध्यान दिँदैनन्। काम सिकाउँदा पनि स्टाफले ध्यान दिएर सिक्दैनन्, लापरवाही गर्छन् तर कोरियामा यस्तो हुँदैन। उता मन दिएर सिरियसली काम सिक्छन्।’

परिवार सम्हाल्ने जिम्मेवारी गोविन्द र ली दुवैको काँधमा छ कामसँगै। उनले भनिन्, ‘सासु ससुरा रोगी हुनुहुन्छ। दुईवटी छोरी पनि छन्। सबै कुरा ब्यालेन्समा राख्न गाह्रो नै हुन्छ।’विदेशमा सिप सिक्ने स्वदेशमा त्यसको प्रयोग गरेर आम्दानी गर्ने गोविन्दको मान्यतामा उनी पनि सहमत छन्। भन्छिन्, ‘विदेशमा सीप सिक्नुस् तर आफ्नै देश नेपालमा आएर केही गर्नुस्।’ दैनिक हजारौं युवाहरु नेपालमा पैसा कमाउने ठाउँ नभेटेर विदेशिएको देख्दा दुःख लाग्छ उनलाई।व्यवसायको कुरा गर्नुपर्दा बाह्र वर्ष अघि देखि सञ्चालनमा आएको ई राई व्युटी सैलोन हप्ताको सातै दिन खुल्छ र यहाँ प्रयोग हुने सामान पनि गोविन्दले कोरियाबाटै ल्याउँछन्। सेवा र सामानमा सम्झौता नगर्ने उनको भनाइ छ।

सुक भन्छिन्, ‘भोलम स्ट्रेट, डिजिटल पम्प छन् हामी कहाँ जुन प्रविधि अन्य ब्युटीपार्लरमा छैनन्।’ पार्लरमा अन्य तीनजना स्टाफ पनि छन्।आफ्नो सीप सिकेर अरुले पनि व्यवसाय सुरु गरुन् भन्ने उदेश्यले राई दम्पतीले अहिले बानेश्वरस्थित आईप्लेक्स मलमा पार्लर सहित ४ जना स्टाफको साथमा ट्रेनिङ सेन्टर खोलेका छन्।ट्रेनिङ सेन्टरकी म्यानेजिङ डाइरेक्टर निशा राई पनि यहाँ सीकेको सीप अन्तर्राष्ट्रिय स्तरको हुने भएकाले सबैलाई सिक्न आग्रह गर्छिन्। नेपालमा बस्दाबस्दै सुकले नेपाली गीत पनि सिकिसकेकी छन् अहिले त।कोरियामा २० वर्ष सम्म पार्लरमा काम गरेकी सुकलाई नेपालीको परम्परा र रितिरिवाज पनि राम्रो लाग्यो। आफ्नो पार्लरमा नेपाली सेलिब्रेटी पनि आएकोमा दंग छिन् सुक। नेपाली लगाायत चिनियाँ, जापानी अनि कोरियन ग्राहकहरु पनि आउने सुक बताउँछिन्।देश सन्चारबाट

Author Since: Dec 06, 2019

Related Post