कोरिया खबर

कोरियामा रहँदा घरको यादले सतायो?यसो गर्नुहोस।

आफ्नो परिवार अनि गाँउ घर छाडेर अन्यत्र जाँदा भोग्नु पर्ने सबैभन्दा ठूलो पीडा भनेको आफन्त, माया गर्नेहरुको अभाव हो । सधैं बसिरहेको ठाँउ छाडेर अन्यत्र जानु सहज छैन । अझ देशै छाडेर परदेशिनु त झनै सजिलो छैन । यस क्रममा सामाजिक र सांस्कृतिक समस्या त भोग्नु पर्छ नै मानसिक र भावनात्मक कठिनाइ पनि उतिकै हुन्छ । कठिनाइ र दूरी हुँदा हुँदै पनि पछिल्लो समय पढ्न र काम गर्ने नेपालीहरुको संख्या उच्च छ । उच्च तलब पाउने अनि छोराछोरी एवम् परिवारका सदस्यको भविष्य उज्जवल बनाउने सपना लिएर विदेश जाने त झनै धेरै छन् । पढ्न गएकाहरु पनि विदेशमै ‘सेटल’ हुने क्रममा पनि बढेको छ ।

काम गरेर खान त्यति सजिलो भने हुँदैन । चाहे नेपालमा होस् कोरिया वा विश्वका अन्य कुनामा नै किन नहोस् कुनै पनि काम सहज भने पक्कै हुँदैन । अनि यस्तोमा बारम्बार सताइरहने घर, परिवार, आफन्तको यादले झन परदेशमा जीवन कष्टकर बनाउँछ । यसलाई सहज रुपमा लिनु भने हुँदैन । यसले नयाँ वातावरणमा भिज्ने व्यक्तिको क्षमतालाई प्रभावित पार्दछ । अनि यसले उल्टै सो व्यक्तिको कार्य प्रदर्शन र समग्र मानिसक स्वास्थ्य र व्यवहारमा पनि असर गर्न थाल्छ । आजको यस लेखमा हामीहरुले विदेशमा भर्खरै आएका अनि लामो समयदेखि यतै रहँदै आएकाहरुले घरको यादसँग जुझ्ने तरिकाहरुबारे बताउन गइरहेका छौं ।

१. घरमा फोन गर्न नियमित समय छुट्टयाउने

पछिल्लो समय सञ्चारका विविध उपायहरु छन् । हिजोआजको प्रविधिले दूर दराज अनि दूर्गम ठाँउलाई पनि जोडेको छ । दूरी विस्तारै सीमित बन्दै गइरहेको छ । हातमा स्मार्टफोन वा घरमा ल्यापटप (वा यस्तै खालका अन्य उपकरणहरु) छ भने त इन्टरनेटको माध्यमबाट भाइबर, स्काइप, वि च्याट, ह्वाट्स एप, फेसटाइम, फेसबुक, गुगल डूओलगायत अनेक एपहरुले तपाईलाई एक सेकेन्डमै आफन्त अनि साथीभाइसँग जोडिन सकिन्छ ।

अनि यी एपहरुको सबैभन्दा राम्रो पक्ष भनेको दुबै तर्फ इन्टरनेट छ भने आफूलाई जति बेला मन लाग्यो उतिबेला निःशुल्क फोन वा म्यासेज पठाउन सकिन्छ । तर यसका लागि आफूलाई पायक पर्ने अनि कुरा गर्न मिल्ने समय छुट्टयाएर आफन्तहरुसँग बिना रोकतोक कुराकानी गर्न सक्नु हुनेछ । यसो गर्दा उनीहरुसँग तपाईले राम्रो समय बिताउन सक्नु हुनेछ अनि घरको याद पनि कम गर्न मद्दत मिल्छ ।

२. नियमित अपडेट लिने

तपाईले कहिलेकाँही नजिकका साथीभाइहरुलाई अचानक फोन गर्ने अनि उनीहरुको हालखबर सोध्ने त गर्नु भएको छ होला । घर परिवारका सदस्यलाई पनि यस्तै गर्नु हुन्छ कि हुँदैन ? तपाईको यस्तो बानी छैन भने अचानक फोन गरेर के छ कसो छ सोध्ने वा भ्याइएन भने सानो म्यासेज नै पठाउन पनि सक्नु हुनेछ । यसो गर्दा आफन्तहरुलाई पनि यसले हाम्रो बारेमा सोच्दो रहेछ भन्ने छाप पर्छ । उनीहरुलाई खुसी दिन्छ । अनि उनीहरुले पनि तपाईलाई यस्तै गर्दा तपाईको पनि त पीडा कम हुन्छ अनि खुसीको स्तर बढ्छ नि हैन ? हामी टाढा हुँदा साथी भनेकै यस्तै खालका मिठो सम्झना, बोलीचाली अनि याद त हो नि ।

३. फुर्सदको समयमा नेपाली फिल्महरु हेर्ने

तपाई देशमा हुँदा के गर्नु हन्थ्र्यो ? पक्कै पनि समय मिलाएर टिभी हेर्ने वा फिल्महरु हेर्ने गर्नु हुन्थ्यो होला । विदेशमा छँदा टिभी वा यूट्यूबमा नेपाली शो वा फिल्महरु हेरेर पनि तपाईले समय कटाउन सक्नु हुन्छ । यसले देशभित्र के भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्नु हुनेछ । आफन्तहरुसँग कुराकानी गर्दा वा च्याट गर्दा गफ गर्ने अन्य बाहानाहरु प्नि यसले दिन्छ ।

४. आफ्नो समुदायमा भएका अन्य नेपालीहरुसँगको भेटघाट

तपाई विश्वको जुनसुकै कुनामा गएपनि आफू आसपास आफ्नो देशबाट आएको मानिसहरु छन् भने पनि आत्मिय महसुस हुन्छ ।कोरियामा पनि कयौं नेपालीहरु छन् । तपाईको विश्वविद्यालय वा कार्यस्थल वा समुदायमा नेपालीहरु पक्कै देख्न सक्नु हुन्छ । उनीहरुसँग घुलमिल हुने अनि समय बिताउँदा पनि घरबाट टाढा हुनुको पीडका कम गर्न मद्दत मिल्छ । यस्तो महसुस गर्ने त आफू एक्लै होइन रहेछु भन्ने भावनाले पनि राहत दिन्छ । एक अर्कासँग मन कसरी भुलाउने अनि विदेशमा बस्दा व्यस्त कसरी रहने भन्ने विषयमा एक अर्काको अनुभव, टिप्स र विचार साट्न सकिन्छ । यसै क्रममा मित्रता विकास भएर तपाईले घरमा साथीभाइसँग मिलेर गर्ने गतिविधि गर्न पो सक्नु हुन्छ कि ? यस्तो भयो भने विदेशमा बस्दा भोग्नु पर्ने अनेक समस्याहरुमध्ये कम्तिमा घरको यादले सताउने समस्या कम हुन सक्छ ।

विदेश होस् वा स्वदेश परिवारसँग टाढा बस्दा घर परिवारको यादले सबैलाई सताउँछ । जहाँ रहेपनि घर परिवारको यादले सताउनु तनावको मुख्य स्रोत मध्ये एक हो । तर सबै जनामा योसँग लड्न सक्ने अनि सोही अनुसार व्यवहार गर्न सक्ने साधन र क्षमता नहुन पनि सक्छ । कसैले त्यसको सामना राम्ररी गर्छन् त कोही सहन नसकेर घरै फर्कने पनि गर्छन् । यद्यपि, हामीहरु सकेसम्म चाँडै अनि दीर्घकालीन अवस्थामा समेत यसको सामना गर्न भने तयार रहनु पर्छ ।

आजको यस लेखले तपाईहरुलाई पक्कै पनि यस काममा सघाउनेछ भन्ने आशा हामीले लिएका छौं । तपाईहरुलाई घरको यादले सताउँदा के गर्नु हुन्छ । माथि बताइएका भन्दा फरक उपायहरु पनि छन् भने तल कमेन्ट बक्समा हामीलाई बताउन सक्नु हुनेछ ।

Author Since: Dec 06, 2019

Related Post