कोरिया खबर

नोवल कोरोना भाइरसको प्रकोप बढेसँगै कोरियामा विदेशीमाथि कडाई

पछिल्लो समय विश्वभर कोरोना भाइरसको संक्रमण फैलिने क्रम बढेपछि कोरियाले यस विरुद्धको लडाई तीव्र पारेको छ । यस क्रममा सरकारले कोरोना भाइरसको उद्गम स्थल मध्य चीनको हुवेई प्रान्तबाट आउने यात्रीहरुको प्रवेशमा रोक लगाउनुका साथै अन्य विविध उपायहरु अपनाएको छ । अधिकारीहरुले भाइरसलाई ‘विशेष संक्रामक रोग’को संज्ञा दिएका थिए ।

सरकारले योजना बनाएको भन्दा एक हप्ता अघि नै यस्तो घोषणा गरेको हो । यस कदमले कोरियामा भाइरस संक्रमित विदेशी नागरिकहरुलाई प्रतिबन्ध लगाउन लगायत बाध्यकारी उपाय कार्यान्वयन गर्ने कानूनी आधार दिएको छ ।नयाँ उपायअन्तर्गत कोरियाली अधिकारीहरुले संक्रमण हुन सक्ने आशंका गरेका विदेशी नागरिकहरुलाई आगमनस्थलमै

मेडिकल जाँच गर्ने आदेश दिन सक्ने अनि अस्पताल भर्ती गर्न समेत बाध्य पार्न सक्नेछन् ।पछिल्लो समय कोरियामा पनि संक्रमणको संख्या बढिरहेको छ । ज्वरो, रुघाखोकी वा निमोनिया जस्ता लक्षणहरु देखा नपरेका केही व्यक्तिमा समेत भाइरसको संक्रमण पाइएको घटनाप्रति सचेत देखिएका छन् ।कोरोना भाइरसको ‘विन्डो पिरियड’ १ दिनदेखि १४ दिनसम्म रहन्छ । यो अवधिमा भाइरसका लक्षणहरु केही पनि देखिदैंन तर यो निकै संक्रामक हुन्छ । भाइरसको परीक्षण नगरीकन छ छैन थाहा हुँदैन ।कोरियामा आइपुग्नु अघि २ हप्ता अघि सम्म हुवेई प्रान्त गएर आउने विदेशीहरुलाई प्रवेशमा बन्देज लगाइएको छ ।

विदेशीहरुले विमानस्थलमै सो अवधिमा आफू हुवेई गएको हो कि होइन भन्ने कुरा खुलाउनु पर्ने कोरियाली अधिकारीहरुको भनाइ छ ।सिद्धान्ततः मध्य चिनियाँ प्रान्तको पासपोर्ट भएका चिनियाँहरुलाई पनि प्रवेशमा रोक लाग्नेछ । उनीहरुमा लक्षण देखिए पनि नदेखिएपनि सबै सावधानीका उपायहरु अपनाइने छ । विश्व स्वास्थ्यय संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसलाई विश्वव्यापी जनस्वास्थ्य विपद्को घोषणा गरेको केही दिन पछि कोरियाले यस्तो कदम चालेको हो ।हुवेई प्रान्तको पासपोर्ट भएपनि अन्य प्रान्त वा देशमा बसोबास गर्दै आएकाहरुलाई प्रवेश दिने कि नदिने भन्ने पनि अस्पष्ट छ ।

हुवेईको पासपोर्ट भएको तर कोरियाली नागरिकसँग विवाह गरेको व्यक्तिलाई कोरिया छिर्न दिने कि नदिने भन्ने पनि स्पष्ट छैन ।यो प्रतिबन्ध केही समयसम्म रहने बताइएको ।पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या १४ हजार माथि पुगिसकेको छ । ज्यान गुमाउनेको संख्या पनि ३ सय भन्दा धेरै छ । यी मध्ये अधिकांश चीनमै छन् । जापान, भारत, जर्मनी, थाइल्यान्ड, ताइवान, भियतनाम, फ्रान्स र अमेरिका लगायत अन्य २१ देशमा संक्रमण फेला परेको छ ।

Author Since: Dec 06, 2019

Related Post