News

अमेरिकी राष्ट्रपति उमेदवार स्यान्डर्सको प्रचारमा जुटेका यी नेपाली

एजेन्सी । सुस्मिक लामा २००७ मा नेपालबाट फिलाडेल्फिया पुगेकी थिइन् । त्यतिबेला उनी फर्नेस हाइ स्कुलकी एकमात्र नेपाली छात्र थिइन् ।तर उनले छिट्टै त्यो विदेशी भूमिलाई आफ्नो घर बनाइन् जसबेला उनको परिवार बस्न खान, उनलाई पढाउन र अनपेक्षित स्वास्थ्य खर्च जुटाउन संघर्ष गरिरहेको थियो ।अहिले भने उनले तिनै कठिन परिस्थितिहरुले आफूलाई राजनीतिक आकृति दिनमा मद्दत पुर्याएको बताएकी छन् ।

२८ वर्षकी लामा हाल, २०२० का अमेरिकी राष्ट्रपति उमेदवार बर्नी स्यान्डर्सलाई चुनाव प्रचारमा सघाउन न्यु हेम्सफायरमा बसाइ सरेकी छन् ।यसमा उनको काम त्यहाँका आप्रवासी र शरणार्थी समुदायहरुसँग सम्पर्कमा आउनु रहेको छ ।न्यु हेम्सफायरमा विशेषगरी नेपालबाट गएका भुटानी शरणार्थीहरु ठूलो सङ्ख्यामा बसोबास गरिरहेका छन् ।

बुवाले पनि त्यहीँ जागिर पाएपछि उनको पूरै परिवारले स्थानान्तरण गरेका हुन् जहाँ उनीहरु स्यान्डर्सका लागि स्वयंसेवकको काम गर्छन् ।लामा भन्छिन्, “पढ्नका लागि यहाँ आएका मेरा थुप्रै साथीहरु छन् र घरेलु कामदारका रुपमा आएकाहरुलाई पनि मैले चिनेको छु । त्यसैले मलाई भिसाको अवस्थामा मानिसहरुले कति संघर्ष गर्नुपर्छ भन्ने राम्ररी थाहा छ । यस्तोमा स्यान्डर्सको प्रत्येक व्यक्तिलाई समावेश गर्ने किसिमको योजनामा मैले नीति मात्र नभएर सबै समुदायको अनुहार पनि देखेकी छु ।”स्यान्डर्स विशेष रुपमा आप्रवासी र शरणार्थीहरुको पक्षमा मात्र उपस्थित नभएता पनि न्यु हेम्सफायरलगायत सबै स्टेटमा स्यान्डर्सले उनीहरुबाट बलियो समर्थन पाइरहेका छन् ।

जस्तै स्यान्डर्सको समर्थनमा देशव्यापी रुपमा ‘भुटनिज फर बर्नि स्यान्डर्स’, ‘नेपाल फर स्यान्डर्स’ लगायतका थुप्रै फेसबुक ग्रुपहरु रहेका छन् जुन अन्य कुनै डेमोक्रेटिक उमेदवारका लागि भने देखिँदैन ।यसअघि स्यान्डर्सले सिरियाली शरणार्थी संकट सम्हाल्ने अमेरिकी शैलीको खुलेर आलोचना गरेका थिए भने आप्रवासन सम्बन्धी पनि तार्किक रुपमा सबैभन्दा उदार दृष्टिकोण प्रस्तुत गर्दै आएका छन् ।त्यसैगरी उनले आफ्नो बुवा कसरी मध्य युरोपबाट पलायन भइ परिवारलाई पाल्न पेन्ट बेच्नेसम्मको काम गरेको भन्नेबारेमा पनि पटकपटक कुरा निकाल्ने गरेका छन् ।उनको चुनाव प्रचार अभियानको म्यान्चेस्टरस्थित अफिसमा आधारित लामाले पनि स्यान्डर्सको नीतिमा आप्रवासी र शरणार्थीहरुलाई समावेश गरिनुले नै ती समुदायलाई उनीतर्फ आकर्षित गराएको बताउँछिन् जो यसअघि राजनीतिक रुपमा संलग्न भएका थिएनन् ।

लामाले भने राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावपछि मात्र राजनीतिमा रुची राख्न थालेकी हुन् जसमा बायोकेमिस्टका रुपमा मेडिसिन क्षेत्रमा काम गर्दैगर्दा उनले स्वास्थ्य प्रणालीको पहुँचमा ठूलो समस्या देखेकी थिइन् ।यसरी लामाले चुनाव प्रचार अभियानमा सहभागी भएदेखि उनका अभिभावकले पनि संलग्नता जनाउन सुरु गरेका छन् ।उनका पिता अमेरिकी नागरिक भएदेखि नै डेमोक्रेटिक पार्टीलाई भोट दिँदै आएका थिए तर यसअघि कहिल्यै कुनै उमेदवारका लागि स्वयंसेवकको काम नगरेको उनी बताउँछिन् ।त्यस्तै चुनाव प्रचार कार्यालयमा उनकी आमाको स्पेसल मःमः पनि अहिले सबैको मनपर्ने खानेकुरा बनेको छ ।

पिता कल्याण लामा भन्छन्, “उनले गरिबहरुलाई माथि उठाउने प्रयास गरिरहेका छन् जुन मेरा लागि धेरै महत्वपूर्ण छ । जस्तै उनीहरुको स्वास्थ्य बिमा, न्युनतम पारिश्रमिक लगायतका कुराबारे ख्याल गर्ने नीतिहरु । अङ्ग्रेजी मेरो मातृभाषा होइन त्यसैले मलाई थाहा छैन कसरी भन्ने तर उनले हरेकचोटी बोल्दा मलाई ह्दयदेखि नै बलियो महसुस हुने गरेको छ ।”अमेरिकामा २ लाख भन्दा धेरै नेपालीहरु बसोबास गर्दछन् जसमा सबैभन्दा ठूलो जनसङ्ख्या टेक्ससमा त्यसपछि न्युयोर्क अनि क्यालिफोर्नियामा रहेको छ ।त्यस्तै १९९० को दशकमा भूटानले एकलाख भन्दा बढी मानिसहरुलाई देश निकाला गर्दा पनि नेपालस्थित संयुक्त राष्ट्र क्याम्पमार्फत ९६ हजार भूटानी शरणार्थी अमेरिका पुगेका हुन् ।

त्यसबीच केही न्यु हेमिस्फायर र अर्को ठूलो जनसङ्ख्या ओहिओ र पेनिसिलभेनियामा बसिरहेका छन् ।नेपाल र भूटानको राजनीति र परम्परा धेरै फरक भए पनि दुवैको सिमानामा भारत छ र भाषा पनि एउटै छ भने कतिपय चाडपर्व र संस्कृति पनि मेल खान्छन् ।अमेरिकाले २०१८ मा पनि भुटानी शरणार्थीहरु ल्याएको थियो जसमा झन्डै नौ हजार नेपालबाट रहेका थिए ।सुरज बुढाथोकी पनि अमेरिकामा बस्ने भुटानी शरणार्थी हुन् जो अहिले स्यान्डर्सको चुनाव प्रचार अभियानमा काम गरिरहेका छन् । उनी नौ वर्षको उमेरमा शरणार्थी भएका थिए र १९ वर्षसम्म आफ्नो परिवारका साथमा नेपालमा बसेका हुन् ।

उनका अनुसार अमेरिका आएपछि उनले रोजगारको धेरै अवसर पाउने, गरिबी नहुने, कोही घरविहीन नहुने र भेदभावमुक्त वातावरण अपेक्षा गरेका थिए । तर उनको पहिलो जागिरमा प्रति घण्टा सात डलर मात्र कमाइ हुन्थ्यो जसपछि उनले अर्को जागिर खोज्नु परेको हो । उनी भन्छन्, “यहाँको वास्तविकता मैले सोचेको भन्दा धेरै फरक रहेछ ।”अन्ततः उनी अङ्ग्रेजी कक्षामा भर्ना भए र साउदर्न न्यु हेम्सफायर युनिभर्सिटीबाट डिग्री हासिल गरे ।

यसपछि उनले भुटानी शरणार्थीहरुका लागि एउटा संस्था स्थापना गरेका हुन् ।उनका अनुसार भाषा र पर्याप्त ज्ञानको कमीका कारण शरणार्थी र आप्रवासीहरुको राजनीतिक सहभागीतामा ठूलो अवरोध पुग्ने गरेको छ ।सबैभन्दा पछिल्लो रियल क्लियर पोलिटिक्स पोलिङका अनुसार पनि न्यु हेम्सफायरमा स्यान्डर्स ४ प्रतिशतले अगाडि छन् ।

Author Since: Dec 06, 2019

Related Post