कोरिया खबर

दिलकुमारले कम्पनि छाड्नुपर्ने कारण यस्तो रहेछ ।

दिलकुमारले कम्पनि छाड्नुपर्ने कारण यो रहेछ।(छोरा साथिसंग चाही मिलेर बस्नु है ,परदेशमा साथि शिवाय कोहि हुन्न )आज बिदाको दिन, साबिक जस्तै दिलकुमार नजिकको पार्कमा बसेर मनको लड्डु बनाउँदै हुन्छ। मानव जीवनको श्रीङ्खलालाई नियाल्दा उसलाई यस्तो लाग्छ वास्तवमा मानिस उदाउने पनि एक्लै र अस्ताउने पनि एक्लै ।आखिर साथी नै किन चाहियो र ? तर पाँच महिनै अघि घर छोड्दा आमाले भनेको सम्झँन्छ,

“छोरा,साथीसँग चाही मिलेर बस्नु है । परदेशमा साथी सिवाय कोहि हुन्न।“बाबाले उतिखेरै भनेको झलझलि छ ,”फटाहाहरुको संगत गर्दै नगर्नू,संगत अनुसारको फल।हेक्का राखेस् ।”दिल द्वबिधाको क्यानभासमा टक्क अडिन्छ ।तर फेरि उसको मन आमाले भने बमोजिमै रफ्तारिन्छ ,” हो आमा, प्रवासमा साथी बिनाको जीवन कसरी कल्पना गर्नु ? अरु जस्तोसुकै बनुन् ,आफू असल बने त भै गो नि ।आफू भलो त जगतै भलो । दिलकुमार आफ्नो मनलाई मख्ख बनाएर केहि घण्टापछि कोठा फर्कन्छ।

” ढक् ढक् ढक् “दिलकुमारले सुस्तरी ढोका ढक्ढकाउँछ।तत्काल ढोका नखोलिएपछि फेरि ढक्ढकाउँछ । खोल्दै नखोल्ने संकेत देखेपछि दिलकुमारले ढोकामाथि हात बजार्छ। प्राय सधैँ दिलकुमार कोठाभित्र पस्न सदैव उहि शैली अपनाउँछ । केही मिनेटको कुराइपछि ढोका ढक्रक्क खोलिन्छ र ढोका खोल्दिनसाथ हरि पुन यथास्थानमा बिछ्यौनामा पुग्छ।दिलकुमार सरासर आफ्नै बिस्तारामा पल्टिन्छ। यो देख्दा यस्तो लाग्छ कि मानै दुबैको पानी बाराबार छ । हरिको कृयाकलापले दिलकुमार दुई महिनायता आजित छ ।

उता हरि पनि आफ्नो स्वतन्त्रतामा आँच नपुर्याउँन र कोठाको हक आधा लाग्ने बताउँदै आईरहेको छ। हरि कुनै कुराको प्रवाह नगरी आफ्नै कुरामा लिढे ढिपी झैँ आगाडि बढेको दिलकुमार रुचाउँदैन। दैनिक आलोपालो खाना बनाउँने सहमति भएपनि केही महिनायता दिलकुमार प्राय:आफैँ बनाउँछ। कोठा आफैँ सफा गर्छ। भाडाबर्तन आफैँ माज्छ। हेर्दा यस्तो लाग्छ दिलकुमार त्यस कोठाको पहरेदार हो। तैपनि दिलकुमारलाई झिनो झन्झट लाग्दैन।

तर हरेक दिन चिन्तित यो मानेमा हुन्छ कि कोठाको साथी मिलनसार भएन। मितव्ययी र ईमान्दार भएन।अझ भनौँ आफू जस्तै असल भएन। हरिको पारा देखेर दिलकुमारको कहिलेकाहि पारो पनि तात्छ तर अज्ञानीसँग रिसाउनु भन्दा खुसाउनु नै जाति ठान्छ। हरि काम सकेर कोठा छिरेदेखि नै साथीभाईसँग फोनमा व्यस्त हुन्छ। कम्पनीले उपलब्ध गराएको चारकुने सानो पर्खालभित्र हरि यसरी फोनमा बोलिदिन्छ कि मानै कोठामा ऊ एक्लै छ। गलेर लखतरान भएको दिलकुमार आउने साथ केहिछिन पल्टिन्छ र खाना बनाउन शुरु गर्छ।

हुन त दिलकुमारको त्यति बोल्न स्वभाव छैन। जानेकै कुरा पनि फ्याट्ट नभन्नाले कहिलेकाहीँ हरिले भाकोनभाको कुरा गर्ने मोका चुकाउँदैन। दिलकुमारको नजरमा हरि जथाभावी बोलिहाल्ने एक शिष्टता नभएको मानिस भएर बसेको छ त्यसैले हमेशा बोलि हाल्न पनि रुचाउँदैन। तर भोकलाई भोजन भनेैझैँ हरिलाई असल बानीको विकास गर्न ऊ सधैँ तत्पर छ र आफैँ पनि कठोर अनुशासनमा बसेको छ। तर हरिले त्यस कुरालाई वास्तै गर्दैन। दुबैले एउटै कम्पनीमा काम गर्ने भएपनि दुबैको कार्यस्थल फरक छ। दिलकुमारको काम हरिको तुलनामा गार्हो भएकाले समयसमयमा निराश र तनावमा पनि हुन्छ। उसलाई यस्तो लाग्छ परदेशिनु नै बाध्यता भएपछि परदेशमा भोगेका र भोगिने यावत् कुराहरु बाध्यता नै हुन र ती क्षणिक हुन्छन ।

एकदिनको कुरा हो दिलकुमार कामबाट हरि भन्दा केहि चाँडो आएको हुन्छ। सधैँ अबेर र थकित भएर आउने दिलकुमार त्यस दिन अगावै आएकोले परिवारलाई फोन गर्छ तर सम्पर्क हुन सक्दैन। केही समयपछि फेरि गर्छ र परिवासँग कुरा गरिरहेको हुन्छ। त्यहि समयमा हरि कोठाभित्र प्रवेश गर्छ। केहिछिनपछि हरिले अपाच्य शब्दका साथ फोनमा चर्को स्वरमा बोल्न शुरु गर्छ। फलस्वरुप घरमा आमासँग अति भावुुकतामा कुरा गरिरहेको दिलकुमारको गति भँगं हुन्छ र गर्दै गरेको वातचितलाई अचानक टुंग्याऊछ। तर हरिले उता झिनो पनि असजिलो महशुस गर्दैन।
विगतदेखि जति सम्झाए र बुझाए पनि अटेर गरिदिने भएकोले फेरि दिलकुमार आफैँ कोठा बाहिर गएर बोल्ने प्रयास गर्छ तर नेटवर्कले साथ दिँदैन। पुन कोठामै फर्कि परिवारलाई नेटवर्कको दोष देखाएर बिदा भन्छ।त्यस्तै दिलकुमार धुम्रपान गर्दैन तर हरेक साँझ बिहान हरि कोठाभित्रै धुवाँको मुस्लो उडाउँछ।

दैनिक जसो रक्सी मध्यरातसम्म पिइदिन्छ। कहिलेकाहीँ त हरिले मध्यरातमा आफ्नो हर्कत पनि देखाउँछ। नसामा लठ्ठिएर होस गुमाई दिलकुमारलाई सताउँछ, थर्काउछ। अझ् धम्क्याउँछ। सानो कोठाभित्र एउटा सानो फ्रिज र थोत्रो टिभी पनि छ। टिभीमा राति अबेसम्म हरि कोरियन ड्रामा हेर्न रुचाउँछ र हेरिदिन्छ ।दिलकुमारलाई यो कार्य पट्क्कै मन पर्दैन। सुतिसकेपछि पनि फोनमा बोलिरहने गर्छ।

यसरी बोलिदिँदा निदाइसकेको दिलकुमार धेरै चोटि मध्यरातमा ब्यूँझिएको हुन्छ। हरिले आफ्नो आन्नदको लागि बारम्बार दिलकुमारलाई सताउँछ। तर यो अच्चम छ कि हरि थोरै पनि हिनताबोध गर्दैन। लज्जित महशुस गर्दैन। आजसम्म दिलकुमारले हरिलाई कुनै पनि असर गर्ने काम गरेजस्तो लाग्दैन। तर कम्पनीको एकमात्र मित्रको रुखो व्यवहारले गर्दा दिलकुमार बडो चिन्तामा छ। कोरियामा भाग्यले जुराएको कम्पनी, काम, दाम त ऊसले रुचाएकै छ तर कोरिया आएको पाँच महिना नबित्दै दिलकुमार साथीकै कारणले कम्पनी परिवर्तन गर्ने अठोटका साथ कस्सिएको छ र चाडैँ कम्पनि छाडि नयाँ काम र असल साथिको सामिप्यतामा रहि कोरियाको बसाई सकाऊने ध्याऊमा छ ।

लेखक : बिमल सिटौला
लेखमा रखिएको तस्विर सम्बन्धित व्याक्ती नभएर गुगल बाट साभार गरिएको हो ।

Author Since: Dec 06, 2019

Related Post