कोरिया खबर

कोरियामा औधोगिक दुर्घटनामा पर्ने र अंगभंग हुने गनिसाध्य छैन

डिसेम्बर २०१८ मा कोरिया आइपुगेका २१ वर्षीय सुरजलाई होङचिवनमा लगिएको थियो । उनलाई कम्पनीले ट्र्याक्टर चलाउन भन्यो । आफूलाई राम्रोसँग ट्र्याक्टर चलाउन नआउने भनेर उनी पन्छिए । मालिकले जबर्जस्ती गरेपछि उनको केही सीप लागेन । ट्र्याक्टर चलाउन थाले । ट्र्याक्टर दुर्घटनामा परी उनको ढाडमा चोट लाग्यो । अस्पतालमा उपचार भएपछि अहिले हिँड्न सक्ने भए पनि कामका

लागि पूर्ण रूपमा सक्षम भएका छैनन् । उनको उपचारको जिम्मा कम्पनीले लिएको छैन ।विमला विक अगस्ट २०१५ मा कोरिया आएकी थिइन् । उनी प्लास्टिक कम्पनीमा प्लास्टिक ब्याग बनाउने काम गर्दै थिइन् । १० अगस्ट २०१७ मा उनको हत्केला काटियो । कम्पनीले उपचारको जिम्मा लिएन । कम्पनीले औद्योगिक दुर्घटनाका रूपमा समेत दर्ता गरिदिएन ।

आप्रवासी सहयोग केन्द्रको सहयोगमा औद्योगिक दुर्घटनाका रूपमा दर्ता भएपछि उनले ५ महिनाको तलब पाइन् । हेटौंडाका ३९ वर्षीय मनोज सुवेदीको काम गरिरहेका बेला एक्कासि खुट्टा भाँचियो । अहिले उपचार गराउँदै छन् । डाक्टरले आराम गर्नुपर्ने भनेपछि उनी न्यूनतम तलबको ७० प्रतिशत मात्र तलब पाउँछन् ।मदन उप्रेती ह्वासाङस्थित कोरियन पीएनपी कम्पनीमा प्लास्टिकका सामग्री बनाउने काम गर्थे । मेसिनको ब्लेड फेर्ने बेला हात काटियो । यो दुर्घटना भएको एक वर्षपछि मात्रै औद्योगिक दुर्घटनाका रूपमा मुद्दा दर्ता भयो । क्षतिपूर्ति लिनका लागि उनले निकै कठिन लडाइँ लड्नुपर्‍यो ।

सन् २०११ यता कोरियामा प्रत्येक वर्ष ६ हजार जना विदेशी कामदार औद्योगिक दुर्घटनामा पर्ने गरेका छन् । सन् २०१८ मा मात्रै ७ हजार २ सय ३९ जना औद्योगिक दुर्घटनामा परेका थिए । १३६ जना कामदारको दुर्घटनामा परी मृत्यु भएको थियो ।इन्चनको वाइदोमा ६ वर्षदेखि कार्यरत धरानका सन्तोष बराइलीले कार्यस्थलमा सुरक्षा सतर्कता र स्वास्थ्यमा ध्यान नदिइने बताए । ‘कोरियाली अधिकारीहरू चेकजाँचमा आउँदा मात्रै हेलमेट र पन्जा लगाउन दिने गर्छन् ।’

उनी अल्मुनियम उद्योगमा प्याक गरेको सामानमा टेप टाँस्ने गर्थे । टेप टाँस्दा टाँस्ता औंलामा गाँठो निस्कियो । डाक्टरले औंलामा बढी प्रेसर भएकाले असर परेको भन्यो । उनी अहिले टेप टाँस्ने काम छोडेर रङ लगाउने काम गर्छन् । रङको गन्ध तान्ने तीन वटामध्ये एउटा मेसिन बिग्रिएको छ । त्यसैले रङ लगाउँदा उनले त्यसको गन्ध खानुपर्छ । उनलाई खोकी लाग्छ । सरकारी मान्छे चेकिङमा आउँदा कम्पनीले रङ नहालेको मेसिन चालु गर्छ जसले गर्दा त्यतिबेला गन्ध आउँदैन ।ओखलढुंगाका तामाङ दुईचोटि दुर्घटनामा परे । उनलाई १० टनको सिसाले च्याप्यो । उनको खुट्टाको हड्डी भाँचियो । ‘भाग्यले बाँचेको भन्नुपर्छ,’ उनले भने । उनले तीन महिना पूर्ण रूपमा आराम गर्नुपर्‍यो । अहिले पनि बिहान उठ्ने बेलामा खुट्टा टेक्नै नसक्ने गरी दुख्छ ।

६ वर्षदेखि कोरियामा कार्यरत हेटौंडाका नवराज तिमल्सिनाका अनुसार अनिँदो भएर काम गर्नुपर्दा पनि दुर्घटना बढेको छ । उनी कम्पनीमा बफादार कामदारका रूपमा पुनः कोरिया आउन पाएका थिए । ‘कार्यस्थल प्रेसररहित हुनुपर्ने हो । यहाँ प्रेसरसहित काम लगाइन्छ । मेसिनमा कोरियाली भाषामा लेखिएको हुन्छ । हामीले पास गर्न मात्रै पढेका हुन्छौं । मेसिनमा लेखिएको भाषा बुझ्न सक्दैनौँ । त्यसमाथि कोरियालीले जतिखेर पनि काम मात्रै खोज्छन् । मेसिन सेन्सरबाट चल्छन् । सधैं सेन्सरले काम गर्छ भन्ने हुन्न,’ उनले भने ।आप्रवासी ट्रेड युनियन (एमटीयूसी) का अनुसार कोरियालीभन्दा विदेशी कामदारको औद्योगिक दुर्घटनादर ६ गुणा बढी छ । कोरियाली कामदारको ०.१८ छ भने विदेशी कामदारको १.१६ प्रतिशत छ ।

‘झन्डै ७० प्रतिशत विदेशी कामदार ३० जनाभन्दा कम कामदार रहेको कम्पनीमा कार्यरत छन्, जहाँ खतरा बढी हुन्छ । ती कम्पनी सञ्चालकले औद्योगिक सुरक्षा दुर्घटना नियन्त्रण गर्न ध्यान दिएको हुँदैन । उत्पादकत्व बढाउनका लागि सुरक्षा उपकरण प्रयोग गरेको देखिँदैन,’ एमटीयूसीका महासचिव ओझाले भने, ‘थोरै आम्दानी गर्ने कामदारलाई खतरनाक काममा लामो समयसम्म खटाइन्छ ।’औद्योगिक दुर्घटना भएमा कम्पनीले कोरियाली सरकारलाई ४५ सय डलर जरिवाना बुझाए जेल जानु पर्दैन । ‘यसले गर्दा औद्योगिक दुर्घटना कम गराउन सचेत भएको पाइँदैन । राम्रो मेसिनका लागि लगानी हुँदैन । पुरानै मेसिनमा काममा लगाउँछ,’ ओझाले भने ।

कान्तिपुर दैनिक

Author Since: Dec 06, 2019

Related Post