News

बिहीबार कोरोनाभाइरसका कारण चीनमा १२३ र जापानमा एक जनाको मृत्यु

बेइजिङ — नोवल कोरोना भाइरसका कारण बिहीबार चीनमा १२३ र जापानमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बिहानसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार ४ सय ९१ पुगेको छ । त्यसमध्ये हङकङ, फिलिपिन्स र जापानमा एक-एक जनाको मृत्यु भएको छ ।बुधबारको तुलनामा भने बिहीबार मृत्यु हुने र संक्रमितको संख्यामा कमी आएको छ।

बुधबार मात्रै डिसेम्बरमा संक्रमण देखिएयताकै सबैभन्दा धेरै २४२ जनाको मृत्यु भएको थियो भने करिब १५ हजार संक्रमित थपिएका थिए।त्यस्तै बिहीबार चीनमा मात्रै थप चार हजार ८ सय ५४ जनामा संक्रमण देखिएको छ। बिहीबार नै जापानमा ५०, सिंगापुरमा ८, हङकङमा ३, अमेरिकामा २ र मलेसिया र भियतनाममा १-१ जनामा संक्रमण देखिएको छ।

शुक्रबार बिहानसम्म विश्‍वरभर संक्रमितको संख्या ६५ हजार २४७ पुगेको छ । उपचारमा नयाँ विधि लागू गरिएपछि थप संक्रमित पहिचान भएको स्वास्थ्य आयोगका प्रवक्ता मीले बताए । प्रयोगशालामा पुष्टि भएका मात्रै नभई लक्षण र जोखिमका आधारमा ‘क्लिनिकल्ली पुष्टि भएका’ लाई पनि संक्रमितमा राखिएकाले यो संख्या पुगेको उनको भनाइ छ ।

संक्रमित पुष्टि गर्न नयाँ विधि

चीनले नोवल कोरोना संक्रमित पुष्टि गर्न नयाँ विधि लागू गरेको छ । संक्रमितको अवस्था हेरेर वर्गीकरणको नयाँ प्रणाली लागू गरिएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ ।यसअघि ‘न्युक्लेइक एसिड’ परीक्षणका आधारमा संक्रमित पुष्टि गरिन्थ्यो । नयाँ विधिअनुसार संक्रमणका लक्षण तथा सीटी स्क्यान गर्दा फोक्सोमा असर देखिए मात्र रोग लागेको पुष्टि गरिनेछ । भाइरसको उद्गमस्थल हुबेई प्रान्तमा लागू गरिएको विधिले संक्रमण निदानको दायरा फराकिलो बनाउने दाबी छ । भाइरस प्रकोप नियन्त्रणमा उचित कार्य गर्न नसकेको भन्दै हुबेई र वुहानका उच्च अधिकारी हटाइएकै दिन मंगलबार संक्रमण पहिचानका लागि नयाँ विधि लागू गर्ने घोषणा गरिएको थियो । संक्रमण नियन्त्रणमा काम गर्न नसकेको भन्दै व्यापक आलोचना भएपछि ती अधिकारी बर्खास्तमा परेका थिए ।

हुबेईले संक्रमितको पहिचान र उपचारलाई तीव्रता दिन संशोधित निदान र उपचार योजना अपनाएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङले बताएका छन् । निमोनिया भएका संदिग्धको पहिचान गर्न ‘क्लिनिकल डाइग्नोसिस केस’ नयाँ उपचार प्रणालीमा राखिएकाले जतिसक्दो चाँडो बिरामीबारे जानकारी हुने र संक्रमण पुष्टि भए उपचार गर्न सकिने उनले बताए । नयाँ प्रक्रियाले बिरामीको संख्या र मृत्युदर घटाउन सहयोग पुग्ने प्रवक्ता मीको भनाइ छ ।वुहानस्थित दुई अस्पतालमा उपचाररत बिरामीको उपचार गर्ने जिम्मेवारीसहित थप दुई हजार ६०० सैन्य स्वास्थ्य अधिकारी पनि खटाइएको चिनियाँ स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् । यसबाहेक चीनका अन्य सहरबाट १८९ स्वास्थ्य टोलीमा रहेका २१ हजार ५६९ अधिकारी पनि हुबेई पठाइएको स्वास्थ्य आयोगले उल्लेख गरेको छ । थप सहयोगका लागि १७ प्रान्तबाट एक हजार चिकित्सक, एक हजार ६८१ नर्स र २१३ विज्ञ बुधबार वुहान पुगेका छन् । त्यसैगरी तीनटा मोबाइल पी थ्री प्रयोगशाला पनि वुहान पुर्‍याइएको छ ।

-कान्तिपुरबाट

Author Since: Dec 06, 2019

Related Post