News

ज्वरो देखिएपछि ६ नेपाली वुहानमै रोकिए, १७५ जना लिएर विमान उड्यो

काठमाडौँ — कोरोना भाइरस संक्रमणकाे केन्द्र चीनको हुबेईस्थित वुहान शहरबाट १७५ जना नेपालीको उद्धार गरिएको छ । सुरुमा १८५ जनाको उद्धार गर्ने भनिए पनि ४ जना नेपालीले वुहानमै बस्ने बताएको र ६ जना नेपालीलाई भने स्वास्थ्यमा केही समस्या देखिएका कारण विमानस्थल अधिकारीहरुले विमान चढ्नबाट अन्तिममा रोकेको बेइजिङस्थित नेपाली दूतावासले बताएको छ ।

नेपाली लिन शनिबार साँझ वुहान पुगेको नेपाल वायु सेवा निगमको वाइडबडी विमान चढ्ने ४ जना नेपालीमा ज्वरो देखिएपछि विमानस्थल अधिकारीले विमान चढ्न रोक लगाएका हुन् भने बाँकी दुई भने एकै परिवारका रहेकाले रोकिएका हुन् ।

राजदूतावासस्थित स्रोतका अनुसार वुहानमा बसोबास गर्ने ३ जनासदस्य रहेको एक परिवारको बुवालाई ज्वरो देखिएपछि आमा र बच्चा पनि उतै बसेका हुन् भने बाँकी ३ वुहान बाहिरका विद्यार्थी हुन् ।

शनिबार अपरान्ह ४ बजेर १ मिनेटमा निगमको वाइडबडी जहाज वुहानतर्फ उडेको थियो। विमान साँझ ८ बजे वुहानमा अवतरण गरेको थियो। उद्धारको पर्खाइमा रहेका नेपालीहरु शनिबार दिउँसै वुहानको एयरपोर्टमा जम्मा भएका थिए।

Author Since: Dec 06, 2019

Related Post