News

जापानी क्रुजबाट अस्ट्रेलियनहरुको उद्धार

टोकियो — एक जापानी क्रुजमा कोरोनाका संक्रमित भेटिएपछि अलपत्र परेका आफ्‍ना नागरिकहरुको उद्धार प्रक्रिया अस्ट्रेलियाले सुरु गरेको छ । जापानको योकोहामा बन्दरगाहमा क्रुज राखिएको छ ।

प्रधानमन्त्री स्कट मरिसनले दुईसाता अघिदेखि क्रुजमा अलपत्र परेका करिब २ सय नागरिकहरुलाई उद्धार गरेर बुधबार अस्ट्रेलिया ल्याउने बताएका हुन्।डायमण्ड प्रिन्ससेस नाम गरेको क्रुजमा यात्रु र चालकदलका सदस्यसहित ३ हजार ७ सय जनामध्ये ३ सय बढीमा कोरोना भाइरसको संक्रमण भएपछि अन्य यात्रुहरु क्रुजमा नै अलपत्र परेका छन्।

संक्रमितहरुमध्ये २४ जना अस्ट्रेलियाली छन्। सरकारलाई उद्धार गर्न आग्रह गरिरहेका उनीहरुलाई १६ दिनपछि अस्ट्रेलियाले उद्धार गर्ने प्रक्रिया अघि बढाएको हो। उद्धारका लागि घरेलु विमान सेवा कम्पनी क्वान्टासको विशेष विमान मार्फत् उनीहरु बुधबार डार्विन आइपुग्नेछन्। ‘हामी उक्त डुंगामा रहेका आफ्‍ना नागरिकको सुरक्षा र कल्याणका बारेमा अत्यन्तै चिन्तित छौं र उनीहरुलाई घर ल्याउनेछौं,’ प्रधानमन्त्री मरिसनले सोमबार भने।

यसअघि अस्ट्रेलियाले वुहानमा रहेका ३ सयबढी नागरिकलाई उद्धार गरिसकेको छ। प्रधानमन्त्री मरिसनले जापानको उक्त डुंगाबाट ल्याइने नागरिकलाई डार्बिनको होवार्ड स्प्रिङमा राखिने र दुईसातासम्म क्यारेन्टाइनमा बस्‍नुपर्ने बताएका छन्।उनले समग्र अस्ट्रेलियाली नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिएर कडा स्वास्थ्य सुरक्षा व्यवस्था अपनाएको जनाएका छन्। उक्तक्रुजबाट अमेरिकाले आफ्‍ना नागरिकहरुको उद्धार गरिसकेको छ। उद्धार गरिएकामध्ये १४ जनामा भाइरसको संक्रमण भएको पनि समाचारमा उल्लेख गरिएको छ।

यसैबीच अस्ट्रेलियाले पहिलो चरणमा चीनको कोरोना भाइरस प्रभावित क्षेत्र वुहानबाट उद्धार गरेर ल्याएका दुई सय ४० जनामा संक्रमण नपाइएका कारण उनीहरुलाई घर फर्काउने तयारी गरेको छ। स्वाथ्यमन्त्री ग्रेग हन्टले उद्धार गरेर क्रिसमस आइल्याण्ड ल्याइएका सबै सोमबार घर फर्किने जनाएको समाचारमा जनाइएको छ। क्रिसमस आइल्याण्डमा दुई सातासम्म क्यारेन्टाइनमा राखिएका उनीहरुमा संक्रमणको कुनै संकेत नपाइएपछि घर फर्काउन लागिएको हो।

अस्ट्रेलियामा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ। जसमध्ये ८ जनामा भाइरसको संक्रमण हटिसकेको, दुईजना भाइरसबाट स्वास्थ्य लाभ गरिरहेको स्वास्थ्यमन्त्री हन्टले जनाएका छन्। विश्वभरमा अहिलेसम्म यस भाइरसबाट २ हजार ४८ को मृत्यु भइसकेको र ७० हजार ५ सय ४८ जना संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यस भाइरसबाट सोमबार मात्र १ सय ५ जनाको मृत्यु भएको छ भने करिब २ हजार नयाँ संक्रमित पाइएको छ।

यस्तै,अमेरिकाले पनि क्रुजबाट ३ सय ८० जनाको उद्धार गरेको छ। जाहाजमा रहेका ४० जना अमेरिकी नागरिकको स्वास्थ्य परीक्षणमा कोरोनाको संक्रमण देखिएपछि उनीहरुको जापानमै राखेर उपचार भइरहेको छ।

-कान्तिपुरबाट

Author Since: Dec 06, 2019

Related Post