बिचार/ब्लग

सामाजिक सञ्जालमा यसरी समय वर्वाद गरिरहनु भएको त छैन ?

तपाइ दिनमा कति घन्टा सामाजिक सञ्जालमा बिताउनु हुन्छ ? हामी मध्ये कतिपय बिहान उठेदेखि बेलुका ननिदाउञ्जेलसम्मै सामाजिक सञ्जालमै झुण्डिरहन्छौं । अरुसँग (आमुने सामुने बसेर) गफ गरिरहँदा, खाना खाइरहेको बेलामा, छिभी हेर्दै गर्दा र हिड्दा मात्रै होइन शौचालय जाँदा समेत स्मार्टफोनमा फेसबुक नै खोलिएको हुन्छ । तपाइले कहिले आफैंले ‘म यति धेरै समय फेसबुकमा किन खेर फाल्दैछु ?’ भनेर सोध्नु भएको छ । फेसबुकमा हामीलाई अल्झाइराख्ने अनेक सामाग्री छन् ।

ओहो साथीहरुले के हाले होलान् ? को कहाँ घुम्न गए होलान् ? कसको जीवनमा के भइरहेको छ ? मैले गरेको पोष्टमा के कति लाइक आयो ? कसले के भनेर कमेन्ट गरेको होला ? आदि जिज्ञासा सहित हामी क्षण क्षणमा फेसबुकमा आँखा डुलाउँछौं । फेसबुकमा लगातार जोडिरहँदा हामी वास्तविक जीवनबाट टाढिन्छौं । फेसबुक, इन्स्टाग्राम, ट्वीटर लगायतका सामाजिक सञ्जालको दुलोमा जति धेरै भाँसिदै गयो, यसको नतिजा पनि हाम्रो लागि उत्तिनै कठोर हुन सक्छ ।

फेसबुकमा यति धेरै समय वर्वाद गर्नबाट कसरी बच्ने ?

सामाजिक सञ्जालहरुमा थोरै समय बिताउन मद्दत गर्ने खालका केही कदमहरु छन् । ती निम्नानुसार छन्ः

१. फेसबुकको दुनियाँ भर्चुअल भएपनि यसबाट हुन सक्ने गलत व्याख्या यथार्थ हो

तपाइले आफ्नो फेसबुक फिडमा भएका केही वा सबै मानिसहरुलाई चिन्न वा नचिन्न पनि सक्नु हुन्छ । तपाइले उनीहरुसँग डिजिटल संसारमा अन्तरक्रिया गर्नु भएको हो । फेसबुकको पेजमा घन्टौं स्क्रोल गरिरहँदा मैले वास्तविक संसार कहाँ छाडिरहेको छु भन्ने कुरा बुझ्नु पर्छ । तपाइ जति धेरै त्यो संसारमा तल्लीन रहनु हुन्छ त्यहाँबाट उम्किन त्यति नै गाह्रो हुन्छ । तर फेसबुकको संसारलाई पाखा लगाएर वास्तविक संसारमा आउने प्रयास गर्नुहोस् त यसले तपाइको काँधबाट ठूलो भार हटाउनेछ ।

तपाइ आफैं, वास्तविक संसारमा रहन सक्नु हुनेछ । कहिलेकाँही साथी भाइलाई भेटघाटका लागि बोलाउनुहोस् । उनीहरुसँग केही समय बिताउनुहोस् । अनलाइन वा म्यासेन्जरमा च्याट गर्नु आमुने सामुने बसेर कुराकानी गर्नु भन्दा नितान्त फरक हुन्छ । डिजिटल कुराकानीमा तपाइले सुक्ष्म अर्थ, हाउभाव आदि हेर्न पाइदैंन । यो भन्दा पनि खराब भने उनीहरुले बोलिरहेको कुराको गलत अर्थ लाग्ने स्थिति धेरै हुन्छ ।

आमुने सामुने बसेर कुरा गर्दा तपाईले कसैलाई ‘तिमीलाई ठिक छ ?’ भनेर सोध्नु भयो भने उनीहरुले ‘ठिकै छ ।’ भन्छन् । उनीहरुले ठिकै छ भने पनि केही न केही समस्या वा अप्ठयारो छ भन्ने तपाइले हेरेरै थाहा पाउनु हुन्छ । अनुहारको हाउभाव र बोलिचालीबाट पनि यो कुरा प्रष्टिन्छ । तर फेसबुकको च्याटमा भने यस्तो हुँदैन । ‘मलाइ ठिकै छ ।’ लाई उनीहरु पीडामै भएपनि ए सबै ठिक रहेछ भनेर बुझिन्छ ।

२. घातक छ लत

फेसबुकमा सबैले आफू घुमेको, रमाइलो गरेको, राम्रो लगाएको अनि मिठो खाएको आदि तस्वीर र स्ट्याटस राख्छन् । कोही साथीले विवाह गरिरहेको छ । कसैलाई सन्तान लाभ भएको छ । कोही राम्रो पद र जागिरमा पुगेको छ । अनि तपाइले यी सबैसँग आफ्नो जीवन तुलना गर्नु हुन्छ । तपाइलाई हिनता बोध हुन्छ । कुनै पनि स्थितिमा तपाइले आफ्नो जीवनलाई फेसबुकमा राखिएका पोष्ट वा स्ट्याटससँग तुलना गर्नु हुँदैन ।

यसो गरेर तपाइ विस्तारै भाँसिनु हुनेछ । तपाइले डिप्रेसन नै हुन सक्छ । यस्तो भयो भने तपाइमा झन झन फेसबुक स्क्रोल गर्ने तल लाग्नेछ । आफ्नो मनलाई प्रशन्न पार्ने कुराको खोजीमा सामाजिक सञ्जालमै घन्टौं समय बिताउनु हुनेछ । तर तपाइले यस्तो खुसी नपाइकन घन्टौं बित्नेछ ।

यति गरेर तपाइ खुसी हुन सक्नु होला ? यस्तो भन्न कठिन छ । फेसबुकको भित्तामा राम्रो चिज मात्रै पोष्टिए पनि सो व्यक्तिको जीवन कठिन वा अप्ठयारोमा रहेको पनि हुन सक्छ । त्यसैले अरुको जीवनमा केन्द्रीत भएर आफूलाई दुःखी बनाउनु भन्दा आफ्नो आसपास र आफूसँग भएको कुरामै खुसी रहन सिक्नु होस् । आफूलाई अरुसँग तुलना गर्दै नगर्नुहोस् । अरुको खुसीमा सामेल हुनु राम्रो कुरा हो । तर योसँग तुलना गरेर आफू दुःखी हुनु वा म सँग यो छैन त्यो छैन भनेर हिनता महसुस गर्नु राम्रो होइन ।

३. फेसबुकमा साथीको संख्या कटौती गर्ने

यो निकै महत्वपूर्ण कुरा हो । यो फेसबुकमा मात्रै होइन सबै प्रकारका सामाजिक सञ्जालमा काम लाग्दछ । फेसबुकमा साथीभाइको भिड धेरै छ भने पक्कै पनि तपाइको वालमा धेरै जनाको फिड देखाउँछ । अनि ती सबैको पोष्ट हेर्दा हेर्दै तपाइको धेरै समय वर्वाद हुन्छ । आफू धेरै नजिक नभएका मानिसलाई समेत फलो गरिएको छ भने त यो समस्या झनै बढ्छ । त्यसैले स्मापका रुपमा देखा पर्नेहरुको पोष्टलाई साइलेन्स गर्ने वा अनफलो गर्नु नै वेश हुन्छ ।

फेसबुकमा तपाइको २००० भन्दा धेरै साथी छन् तर के तपाई सबैको अपडेट हेर्नु हुन्छ ? यस्तो गर्ने मानिसहरु पनि केही होलान् । यस्तो गरेर उनीहरुले आफ्नो समय वर्वाद गरिरहेको तपाइ ठान्नु हुन्न ? कसैको त फेसबुकमै यति धेरै साथी हुन्छन् कि सबैसँग हाइ हेलो गर्दा गर्दै २/३ घन्टै बित्छ । तपाइको वालमा उनीहरुको फिड कहिल्यै टुङ्गिदैंन । जति स्क्रोल गर्यो उनी धेरै व्यक्तिको स्ट्याटस र फोटो देखा पर्छ । कसले के गरिरहेको छ भनेर घन्टौं बिताउँदा वास्तविक संसारबाट भने तपाइ अन्त्रै हराउनु हुन्छ ।

४. नकारात्मकता धेरै भएका मानिसबाट आफूलाई टाढा राख्ने

नकारात्मकता धेरै भएका व्यक्ति, पोष्ट अनि अपडेट तपाइको लागि हानिकार हुन सक्छ । केही साथीहरुले बारम्बार नकारात्मक वा आक्रामक सामाग्री पोष्ट गरिहन्छन् । उनीहरुलाई चुप लगाउन सकिदैंन । त्यस्ता पोष्टमा लाइक वा कमेन्ट केही पनि नगरी वेवास्ता गर्नु वेश हुन्छ । तपाइले केही भन्नु भयो भने उनीहरुले पनि केही न केही लेख्छन् अनि कुरा त्यसै लम्बिन्छ । उनीहरुले हदै गरेभने अनफलो गर्नु पनि उत्तम हुन्छ । हरेक चिजमा सबैको आ–आफ्नै राय हुन्छन् हरेक व्यक्तिले आफ्नो वालमा उनीहरुलाई चाहेको जे पनि लेख्न सक्छन् । हुन पनि उनीहरुको वालमा लेख्न मिल्दैन भन्ने त होइन नि । तर अनावश्यक कुरालाई वेवास्ता गरेर विवादबाट टाढै बस्नु वेश हुन्छ नि होइन र ?

५. नोटिफिकेशन अफ गर्ने

यो त निकै सजिलो छ । नोटिफिकेशन अन नै हुँदा टुङटुङ आवाज आइरहन्छ । अनि तपाइको मनमा पनि कस्ले के कमेन्ट गरेछ वा के भनेछ भन्ने उत्सुकता जाग्छ । तपाइ बारम्बार सामाजिक सञ्जालमा हात डुलाइरहनु हुन्छ । नोटिफिकेशन आउने बित्तिकै फोन चेक गर्ने लत नै बस्छ । अनि तपाइ सामाजिक सञ्जालमा झनै धेरै अड्किनु हुन्छ । हालै भएका विभिन्न सर्वेक्षणहरुले पनि यस्तै नतिजा देखाएका छन् । नोटिफिकेशन अफ भयो भने फेसबुकमा कम समय खर्च हुन्छ । तपाइले नोटिफिकेशन आउने बित्तिकै हेर्नु भएन भने त्यहाँ भएका कुरा हराएर जाने त होइन नि । ढिलै भएपनि तपाइले नोटिफिकेशनले देखाउन खोजेको कुरा हेर्न सक्नु हुन्छ ।

६. फोनबाट फेसबुक एप नै मेटाउने

फेसबुकले धेरै समय खाइदिन्छ । अनजानमै तपाइले यसमा समय वर्वाद गरिरहनु भएको हुन्छ अनि पेजमा झुण्डिरहन अनेक बाहान बनाउनु हुन्छ । च्याट नै नगरेपनि अरुको फोटो÷भिडियो हेर्नु हुन्छ । राम्रा नराम्रा जस्ता कुरा नि हेर्नुहुन्छ । त्यसमा प्रतिक्रिया जनाउनु हुन्छ । फोनको बेक्कार प्रयोग बढ्छ । फेसबुकमा कम समय बिताउने हो भने फोनबाट एप डिलेट गर्नु उत्तम हुन्छ । मोबाइलमा फेसबुक भएन र डेस्कटपमा मात्रै हेर्ने गर्नु भयो भने कम समय खर्च हुन्छ । मोबाइल जति बेला नि हातमा हुन्छ । कम्प्युटरलाई त जहाँ गए पनि लान मिल्दैन नि होइन र ? फेसबुकले विकर्षण बढाउँछ । तर यसको पकडबाट फुत्किने र दैनिक जीवनमा व्यस्त रहन असम्भव भने छैन ।

यसो भनेर मैले फेसबुक नै नचलाउनु वा सामाजि सञ्जालको प्रयोग नै नगुर्न चाँहि भन्न खोजेको होइन । तर मानिसहरुले फेसबुकमा यति समय बिताउँछु उति समय खर्च गर्छु भनेको सुन्दा चाँहि मेरो मनमा यस्तै खालका कुराहरु आउँछ । फेसबुक उपयोगी एप हो । यो रमाइलो पनि छ । यो निजी जीवन र व्यवसायको लागि समेत प्रभावकारी छ । संसारभरका सूचनासंग अपडेट हुन, आफन्तसंग नजिक रहन र आफ्ना कुराहरु अरुमाझ पुर्याउन यो निकै उपयोगी छ तर यसको गलत र अत्याधिक प्रयोग भने राम्रो होइन । सामाजिक संजालहरुमा गलत प्रवृति भएका, नकरात्मक सोचमात्र राख्ने व्यक्तिहरुको संगत नगर्नु नै फलदायी हुन्छ ।

भर्चुअल र वास्तविक संसारमा भिन्नता छ भन्ने कुरा तपाइले राम्ररी बुझ्नु पर्छ । भर्चुअल संसार भन्दा वास्तविक संसार निकै महत्वपूर्ण छ । हामी बाँच्ने वास्तविक संसारमा हो, भर्चुअलमा होइन । यस विषयमा आफूलाई नियन्त्रित राख्न त्यति धेरै गाह्रो छैन । सामाजिक संजाल चलाउँ तर जिम्मेवारीपूर्ण हिसाबले ।नेपाली ईन जापानबाट

Author Since: Dec 06, 2019

Related Post