कोरियामा कोरोना: नेपालीलाई कोरियन सहकर्मीबाटै सर्ने उच्च जोखिम
- by siddhartha@post
- 3 years ago
- 0 comments

‘हाम्रो एरियामा ५ जनालाई कोरोना(कोभिद–१९) देखिएको छ। कोरोना देखिएकै ठाँउबाट हाम्रोे कम्पनीमा काम गर्ने दुई जना कोरियनहरु काम गर्न आउँछन्। उनीहरु मास्क पनि लगाउँदैनन्। कोरोना सर्छ कि भन्ने जोखिम बढेको छ।’ख्वाङवन्दोको एक कम्पनीमा कार्यरत एक सरोज कायस्थ (नाम परिवर्तन)ले नेपालखबरसँग कुरा गर्दै सुनाए। उनको कम्पनीमा ४ जना नेपालीहरु छन्। उनीहरुसँगै दुई जना कोरियनहरु पनि काम गर्छन। नेपालीहरु कम्पनीमै बस्ने भएपनि ती कोरियनहरु कम्पनीबाहिर ख्याङवन्दोकै एक अपार्टमेन्टमा बस्छन्।
‘उनीहरु बस्ने ठाँउमा कोरोना देखिएको छ। त्यहीबाट उनीहरु काम गर्न ओहोरदोहोर गर्छन्,’ उनले नेपालखबरसँग भने, ‘उनीहरु बृद्ध भएकाले मास्क लगाएर आउन भनेपछि ‘मरे पनि हामी मर्छौ’ भन्छन्। उनीहरुका कारण अरु कामदारलाई पनि कोरोना संक्रमण हुने जोखिम बढेको छ।’उनीजस्तै दक्षिण कोरियामा कार्यरत नेपालीहरुलाई सहकर्मी कोरियनबाट कोरोना(कोभिद–११)को संक्रमण फैलने जोखिम रहेको गैर आवासायी नेपाली संघ(एनआरएनए)का सचिव मनोज गौतम बताउँछन्।‘नेपालीहरु कम्पनीमै रहने भएकाले उनीहरुलाई संक्रमणको जोखिम कम छ। तर, कम्पनी भित्र–बाहिर आवात–जावत गर्ने सहकर्मीबाट सर्ला कि भन्ने पीर छ,’ गौतमले नेपालखबरसँग भने।
एनआरएन कोरियाका अध्यक्ष यज्ञराज सुवेदीका अनुसार ख्वाङजुमा १६ जना नेपालीहरु कार्यरत एक कम्पनीका ड्राइभरको कोरोनाकै कारण मृत्यु भएको छ। तर, ड्राइभर र नेपालीहरुबीच कुनै सम्पर्क नभएकाले तत्काल त्रसित हुनुपर्ने अवस्था छैन।‘नेपालीहरु कम्पनीभित्र काम गर्छन्। ड्राइभर बाहिरभित्र गइरहन्छन्। नेपालीहरु र ड्राइभरको कुनै सम्पर्क नै भएको छैन,’ सुवेदीले नेपालखबरसँग भने, ‘सबै नेपालीहरु स्वस्थ्य छन् र आजबाट काममा फर्किसकेका छन्। उनीहरुको थप अवस्थाबारे साँझ हामीहरु पनि खबर गर्नेछौं।’
ड्राइभर मृत्यु भएका कम्पनीका कर्मचारीहरुले भने घरपरिवारमा त्रास फैलने भन्दै नाम, ठेगाना उल्लेख गर्न चाहेनन्। एक नेपालीले भने, ‘ड्राइभरको कोरोनाकै कारण मृत्युपछि हामी क्वारेन्टाइनमा बस्न खोजेका थियौं। हामीले दूतावास र एनआरएनएलाई पनि यसको जानकारी गराइसकेका छौं।’एनआरएनएका अध्यक्ष सुवेदीले भने आफ्नो चाहनाले मात्रै क्वारेन्टाइनमा बस्न नमिल्ने बताए। ‘तीन सय जना काम गर्ने त्यस कम्पनीमा सबैले मास्क लगाएर काम गर्छन्। कसैलाई अहिलेसम्म लक्षण देखिएको छैन,’ उनी भन्छन्, ‘कोरियन सरकारले मृतक ड्राइभरसँग सम्पर्कमा आएका मान्छेहरुको चेकजाँच गर्नुका साथै क्वारेन्टाइनमा राख्ने काम गरिरहेको छ। सरकारले कुनै लक्षण देखिए वा शंका लाग्नेलाई मात्रै क्वारेन्टाइनमा राख्ने गर्छ।’
कोरियामा सोमबार बिहानसम्म ७६३ जनामा कोरोनाको संक्रमण देखिएको छ। त्यहाँ ७ जनाको मृत्यु भइसकेको छ। तर नेपाली लगायत कोरियामा रहेका कुनै पनि विदेशीलाई हालसम्म कोरोना नदेखिएको र यो घट्दो क्रममा रहेकाले डराउनुपर्ने अवस्था नभएको सुवेदी बताउँछन्। कोरोनाको जोखिम देखिएपछि केही कम्पनीहरुले भने कर्मचारीलाई ७० प्रतिशत तलब दिनेगरी केही हप्ता विदा समेत दिएको एनआरएन कोरियाका सचिव गौतमले बताए। ‘मलाई सोमबार बिहानमात्रै दुई वटा मझौला कम्पनीमा कार्यरत नेपालीहरुको फोन आएको थियो,’ उनले भने, ‘उनीहरुको कम्पनीले ७० प्रतिशत तलब दिने गरि अनिश्चित कम्पनी बन्द गरेको घोषणा गरेको रहेछ।’
एनआरएनए कोरियाले त्यहाँ रहेका नेपालीहरुलाई सचेतना जगाउने आइतबार साँझ कोरिया सत्तारुढ दलका मिडिया प्रचारप्रसार समिति ख्यंगनामका प्रमुख सिन हयन सङलाई भिडियो लाइभमा निम्ताएको थियो। सङले कोरोना संक्रमण फैलन नदिन कम्पनीहरुलाई कडा निर्देशन दिइएको बताए।‘सामाजिक गतिविधिलाई सञ्चालन गरिरहने कोरियन सरकारको नीति छ। सरकारले कम्पनी बन्द गर्दैन,’ सङले भनेका छन्, ‘कम्पनी सञ्चालनमा भने कडा निर्देशन जारी गरिएको छ। जुन सबै कम्पनीले पालना गर्नैपर्छ।’
सङका अनुसार कम्पनीमा काम गर्दा प्रत्येक व्यक्तिले माक्र्स लगाउनै पर्ने, बाहिर–भित्र एकदमै कम गर्ने, बाहिर फर्किएपछि अनिवार्य रुपमा ३० सकेन्ड जति हात धुनैपर्ने, यदि ३८ डिग्रीभन्दा बढि ज्वरो आयो र श्वास फेर्नलाई केही अप्ठारो महसुस भयो भने तत्काल नजिकैको हेल्थ पोस्टमा सम्पर्क गर्ने वा १३४९ मा फोन गर्न निर्देशन दिएको छ।नेपालखबर बाट