कोरिया खबर

कोरियामा नेपाली कामदार आत्तिहाल्नुपर्ने अवस्था छैन, अवैधानिकको पनि बैधानिक सरह उपचार हुने

सोल-दक्षिण कोरियाम कोरोना भाइरसको संक्रमण बढ्दै गए पनि त्यहाँ रहेका नेपाली कामदार आत्तिहाल्नुपर्ने अवस्था नभएको बताइको छ ।त्यहाँ कार्यरत नेपाली संघ सस्था पदाधिकारी, कामदार, ब्यबसायी, बिद्यार्थीले तुरुन्तै आत्तिहाल्नु नपर्ने अवस्था रहेको प्रतिक्रिया दिएका छन् ।लामो समयदेखि कोरियामा रहेका पत्रकार प्रकाश पोखरेलले अहिले नै आत्तिहाल्नुपर्ने अवस्था नआएको बताए ।

‘समाचारमा आएअनुसार आत्तिहाल्नुपर्ने अवस्था छैन’, उनले भने , ‘कोरिया सरकारले नै थप सङ्क्रमण नफैलियोस् भनेर सावधानी अपनाउन सन्देश प्रवाह गरिरहेको छ ।’सामाजिक सञ्जाल, स्थानीय सञ्चारमाध्यम तथा नेपालका विभिन्न सञ्चारमाध्यममार्फत कोरियामा रहेका नेपालीमाझ सचेतना पुगिरहेको उल्लेख गर्दै पोखरेलले कोरिया सरकारका विभिन्न निकायले पनि कोरोनाका बारेमा ‘अलर्ट’ गराइराखेको जानकारी दिए ।

‘कोरिया सरकारको स्वास्थ्य मन्त्रालय मातहतका निकायमार्फत ‘इमरजेन्सी म्यासेज’ आइरहेका छन्”, पत्रकार पोखरेलले भने , ‘नेपाली दूतावासले पनि सङ्क्रमण हुन नदिन विभिन्न सूचना जारी गरेको छ ।’कोरोनाको प्रकोप बढ्यो भनेर नेपाल फर्कनुभन्दा पनि सुरक्षित रुपमा यही बस्नु उचित हुने मनस्थितिमा धेरै नेपाली रहेको उनको भनाइ छ ।

सतर्कता अपनाउन आग्रह

सोलस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली कामदारलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चालिएका सशक्त प्रयासका बाबजुद रोगको सङ्क्रमण फैलँदै गएको भन्दै दूतावासले अझ बढी सजग र सचेत हुन जरुरी रहेको दूतावासले जनाएको छ ।कोरिया सरकारले कोरोना भाइरसको सङ्क्रमणको शङ्का लागेमा अवैधानिकरुपमा त्यहाँ रहेका विदेशीले समेत सार्वजनिक स्वास्थ्य संस्थामा गई जाँच तथा उपचार गराउन र सोको क्रममा पक्राउ नगर्ने जनाएको छ ।

कोरियाको अध्यागमन विभागले अवैधानिक रुपमा बसोबास गरिरहेकालाई स्वदेश नफर्काउने तथा बिरामीको कानूनी हैसियतका बारेमा नसोध्न अस्पताललाई निर्देशन दिएको छ । अध्यागमनले प्रवेशाज्ञा मिति समाप्त भएको अवस्थामा पनि थप ५० दिनको प्रवेशाज्ञा थप गर्ने निर्णय गरेको छ ।नेपाली दूतावासले पनि सक्रियतापूर्वक विभिन्न सचेतनामूलक जानकारी सबै नेपालीमाझ सम्प्रेषण गरिरहेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने उपायका सम्बन्धमा सोल महानगरपालिकाको कार्यालयबाट प्राप्त जानकारी प्रचार गरिएको दूतावासले जनाएको छ ।

सबैभन्दा बढी सङ्क्रमित देखापरेका कोरियाको थेगु तथा आसपासका क्षेत्रमा रहेका नेपाली विद्यार्थी, अन्य पेशा व्यवसाय र श्रम गरी बसेका नेपालीलाई विशेष सवधानी अपनाउन पनि दूतावासले अनुरोध गरेको छ ।यसैगरी गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले पनि कोरोनाको सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउन अपिल गरेको छ ।हटपाटीबाट शाभार

Author Since: Dec 06, 2019

Related Post