कोरिया खबर

कोरियामा हुनुहुन्छ ? कोरोनाबाट यसरी सचेत हुनुहोस्

काठमाण्डौ – चीनबाट फैलिएको कोरोना (कोभिड–१९) को संक्रमण अरु देशमा पनि फैलिएको छ । नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण त देखिएको छैन, तर धेरै संख्यामा नेपाली रहेका अरु केही देशमा चाहिँ कोरोनाको संक्रमण देखिएको छ ।चीनसँगै धेरै संख्यामा नेपाली रहेका मलेसिया, दक्षिण कोरिया, जापान लगायत देशमा कोरोनाको संक्रमण फैलिएको छ ।

सरकारी तथ्याँक अनुसार झण्डै पाँच लाख नेपाली मलेसियामा छन् । यस्तै दक्षिण कोरियामा सन् २००८ देखि २०१९सम्ममा इपीएस प्रणालीबाट ६५ हजार ८४५ नेपाली रोजागरीका लागि गएका छन् ।दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण देखिएपछि २५ लाख मानिसलाई घरभित्रै बस्न त्यहाँको सरकारले आग्रह गरेको छ ।

यस्तै, जापान, अस्ट्रेलिया, हङकङ, मकाउ, सिङ्गापुर लगायतका देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । वैदेशिक रोजगारी, पढाई या अरु कामको सिलसिलामा तपाईं यी देशमा हुनुहुन्छ भने काम गर्दा, बाहिर निस्कंदा होस् या घरमै बस्दा विशेष सतर्कता अपनाउनुहोस् ।

बच्न के गर्ने ?
अहिलेसम्म यो भाइरसको कुनै उपचार पत्ता लागेको छैन । यो भाइरसले आक्रमण गर्नुभनदा पहिला नै यसबारे सतर्क हुनु नै यसबाट बच्ने उपाय हो । त्यसैले तपाईँ रहेको ठाउँमा यो भाइरसको संक्रमण बढिरहेको छ भने सबैभन्दा पहिला त आफैं सचेत हुनुपर्छ ।यो भाइरसबाट बच्न यो भाइरसको संक्रमण भएका मानिसबाट टाढै रहने एक उपाय हो । त्यसका साथै मास्कको प्रयोग गर्ने, नचिनेका मानिससँग कुरा गर्दा अलि परै बस्ने, हातले आँखा, मुख र नाक नचलाउने, बेलाबेलामा राम्रोसँग साबुन पानीले हात धोइरहने गर्नुपर्छ ।

रुघाखोकी लाग्नेबित्तिकै प्रशस्त्र मात्रामा झोलिलो खानेकुरा खाने, पर्याप्त मात्रामा आराम गर्ने र चिकित्सकको सल्लाहअनुसार यसलाई रोकथाम गर्ने औषधि खानुपर्छ । यस्तै नियमित व्यायाम गर्न र भीडभाडमा आवश्यक परेको खण्डमा मात्र जाने र अस्वस्थ महशुस भए तत्काल अस्पताल गएर जाँच गराउनुपर्छ ।

यसरी सतर्कता अपनाउँदा भाइरसले आक्रमण गर्ने जोखिम पनि कम हुन्छ ।रुघा लाग्ने, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, अत्याधिक ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने र अस्वस्थ महशुस हुने यो भाइरसको लक्षण हो । तर सामान्य रुघाखोकी लाग्दैमा आत्तिन नपर्ने, तर सचेत भने हुनुपर्ने डाक्टरहरु बताउँछन् ।

Author Since: Dec 06, 2019

Related Post