कोरियामा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको योजना छैन,
- by siddhartha@post
- 4 years ago
- 0 comments

काठमाडौं । कोरोनाको प्रकोप उच्च गतिमा फैलिएको कोरियामा रहेका नेपालीहरू तत्काल उद्धार गर्ने विषयमा सरकार चुप बसेको छ । त्यस क्षेत्रमा रहेका नेपालीहरू आफूहरूलाई सरकारले उद्धार गर्न माग गरिरहेका छन् ।सरकारले गत फागुन ४ गते चीनको कोरोना प्रभावित क्षेत्रबाट १ सय ७५ जना नेपालीको उद्धार गर्यो । उनीहरूलाई उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको छ ।
करिब २ सातासम्म रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लगायतका मन्त्री र सचिवहरूबीच पटक–पटकको छलफलपछि मात्र उद्धार गरिएको थियो । चीनमा जस्तै कोरियामा समेत कोरोना भाइरस (कोभिड १९) फैलिएको छ ।त्यस विषयमा परराष्ट्र मन्त्रालयले कोरियामा फैलिएको कोरोना भाइरसका बारेमा दूतावासमार्फत् जानकारी लिइरहेको बताएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले कोभिड १९ उपचारका लागि कोरिया सरकारसँग समन्वय गरेर पहल गरिने बताए । नेपाली कामदार कार्यरत देशमा रोगको महामारी, प्राकृतिक प्रकोप र हाल चीनबाट फैलिएको कोरोना भाइरस जस्ता ठूला रोगका महामारी फैलिए आफ्ना नागरिक फर्काउन सरकारले नसक्ने रोजगार क्षेत्रका विज्ञहरू बताँउछन् ।
चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका १ सय ७५ जनालाई उद्धार गरेर प्रशंसा कमाएको सरकारलाई कोरियामा रहेको नेपालीलाई के गर्ने भनेर अर्को चुनौती थपिएको छ ।दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि सिओलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन आग्रह समेत गरेका गरिरहेको छ । भने कोरियाको अध्यागमन विभागले माघ १५ गते नै सूचना प्रकाशित गर्दै अवैधानिक रूपमा कोरियामा रहेकाहरूलाई कोरोना भाइरसको संक्रमणको शंका लगेका सार्वजनिक स्वास्थ्य संस्थामा जाँच तथा उपचार गराउन निर्देशन समेत दिइसकेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता सागर दाहालले कोरियामा रहेका नेपालीहरू उद्धार ल्याउने विषयमा हालसम्म छलफल नभएको बताए । “कोरियामा मात्र होइन, कोभिड १९ धेरै देशमा फैलिएको छ,” उनले भने, “अब उद्धारभन्दा पनि कसरी बच्ने विषयमा त्यस क्षेत्रमा रहेका नेपालीहरूलाई जानकारी दिने विषयमा छलफल भइरहेको छ ।”
चीनबाट नेपाली ल्याएजस्तो कोरियामा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउने सोच भने सरकारले बनाइ नसकेको उनले जानकारी दिए ।कोरियामा कोरोनाको संक्रमण बढ्न थालेपछि त्यहाँबाट नेपाल आउनेहरू पनि कोरोनाको आशंका गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पुग्ने गरेका छन् । सरकारले कोरोना भाइरसको प्रतिकार्यका लागि चिनियाँ नागरिकबाहेक अन्य देशका नागरिकलाई खासै चासो नदिएको अस्पतालका स्वस्थ्यकर्मी बताउँछन् ।
सरकारले दुइसातासम्म छलफलपछि एउटा निर्णय गरेर चीनको बुहानमा रहेका १ सय ७५ जना नेपालीलाई बल्लतल्ल उद्धार गरेको सरकारलाई कोरियामा रहेका ४० हजार नेपालीको विषयमा के गर्ने भनेर अन्योल सिर्जना भएको स्वास्थ्य विज्ञहरू बताउँछन् ।त्यसैगरी, कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा १७ जनाको मृत्यु भएको छ भने ३१५० जना संक्रमित भएका छन् ।साथै २७ जना निको भएर फर्किसकेका छन।