कोरिया खबर

कोरोनाले सुनसान कोरिया

संक्रमण बढेसँगै समग्र देश कोरोनाविरुद्धको युद्धमा होमिएको राष्ट्रपति मुन जे इनको भनाइ दक्षिण कोरिया — दक्षिण कोरियाको राजधानी सोलबाट तीन सय किलोमिटर पर रहेको थेगु सहर अहिले सुनसान छ । कोरियाको चौथो ठूलो सहर सुनसान भएको तीन साता भयो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको केन्द्रबिन्दु भएर होला २५ लाख मानिस रहेको थेगुमा खासै चहलपहल छैन ।

यही सहर आसपास सात हजार नेपाली पनि बस्छन् ।स्थानीय प्रशासनले नै सकेसम्म घर बाहिर ननिस्किन भन्दै छिनछिनमा मोबाइलमा म्यासेज पठाउने गरेको छ । अति व्यस्त रहने थेगुमा मान्छेको चहलपहल नै नभएपछि नेपाली रेस्टुरेन्ट चलाएर बसेका चिरञ्जीवी पाण्डे कोठामै बसेको ठ्याक्कै तीन साता भयो । ‘गत शुक्रबार एक छिन गएर पूजा गरे ।

कोही नेपाली आउँदा फोन गर्थे । आजकाल कसैले फोन गरेका छैनन् । कोरियाली त हिँड्दैनन् भने नेपाली के हिँड्थे ?’ उनले भने ।कोरोना संक्रमण दर बढ्न थालेपछि दक्षिण कोरियाका अधिकांश कम्पनीमा काम घटेको छ । धेरै कम्पनीमा ‘बेसिक मात्रै काम’ भएका छन् भने केहीले साताको चार दिनसम्म बिदा दिएका छन् । केही बन्द गरिएका छन् । सबैजसो कम्पनीले आफ्ना कामदारलाई बाहिर हिँड्डुल गर्न ‘प्रतिबन्ध’ लगाएको छ । प्रतिबन्धपछि थेगुकै एक कम्पनी थोङ्छन ह्वासानमेनमा काम गर्ने तिलक मोक्तान पनि कम्पनीको कम्पाउन्डभित्रै बस्ने गरेका छन् । ‘हामी विदेशीलाई मास्क लाउन र बाहिर नहिँड्न भनिएको छ । कोरियालीहरू भने मास्क नै नलाई कताकता डुलेर आउँछन् । देख्दै डर लाग्ने । रोग सबैलाई लाग्छ नि,’ उनले बताए । धेरै कामदारको दैनिकी फेरिएको छ । काम भए गर्ने नत्र कम्पनीसँगैको खिसुक्सा (होस्टल) मा बस्ने वा कोठामै सुत्ने । बजार जाने कोरियाली जे जस्तो किनेर ल्याउँछन् त्यही पकाएर खाने ।

खेम खत्रीको कम्पनी थेगुको थोङबुकमा छ । कम्पनीमा बीएमडब्लू गाडीको पार्टस बन्छ । एउटै साहुका दुई ठाउँमा कम्पनी छन् । उनी बस्ने ठाउँबाट १५ मिनेट गाडी चढेर कम्पनी पुगिन्छ । तोकिएको समयमा कम्पनीको गाडी लिन पनि आउने गरेको छ । गत बुधबार साहुको अर्को कम्पनीमा काम गर्ने कोरियाली महिलालाई कोरोना संक्रमण भएको पुष्टि भयो । संक्रमित महिलालाई अस्पतालमा राखिएको छ । ‘हामी सात जना नेपाली छौं ।हामी चढ्ने गाडी र त्यो महिला चढ्ने गाडी एउटै हो । त्यो महिलालाई भाइरसको संक्रमण लागेको कन्फर्म भएपछि चार दिन कम्पनी बन्द भयो । हामीलाई हल्का चेकअप गरे । समस्या छैन भनियो । कम्पनीमा किटनासक छरेर सोमबारदेखि काम गर्दै छौं । साथीहरू डराई डराई काम गरिरहेका छन्,’ खत्रीले भने, ‘हामीभन्दा धेरै २५ जना श्रीलंकाका कामदार छन् । उनी सबैले हामी एक महिना आउँदैनौं भनेर कम्पनीमा कुरा राख्दा हुँदै हुँदैन भनेर छुट्टी दिएनछन् । हाम्रो त झन् के सुन्थे ?’

कोरियाली सरकारले कोरोना भाइरसको नियन्त्रणका लागि अनेक प्रयास जारी राखेको छ । उच्च सतर्कता अपनाएसँगै केही नियम परिवर्तन भएका छन् । विभिन्न निर्देशन जारी भएका छन् । संक्रमणबारे जानकारी नगराएको भन्दै सिनचोनजी चर्चमा छापा मारिएको छ । थेगुका सिनचोनजी चर्चबाट कोरोना भाइरस फैलिएको भन्दै सोमबारै सोल सरकारले त्यहाँका धार्मिक नेताविरुद्ध हत्या अभियोगमा मुद्दा दायर गरेको थियो । अहिले भाइरसबाट यही धार्मिक समूहका सबैभन्दा बढी प्रभावित छन् । आफ्ना सदस्यका बारेमा कुनै जानकारी नदिने भएकाले यो समूहमा कति कोरियाली संलग्न छन् भन्ने यकिन छैन । दुई लाख कोरियालीले यो धर्ममा आस्था राख्ने अनुमान छ ।

रोकिएन संक्रमण

दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको संख्यामा बढ्ने क्रम रोकिएको छैन । सरुवा रोग नियन्त्रण विभाग कोरिया (केसीडीसी) ले बिहान र बेलुकी दुई पटक कोरोना संक्रमितको बारेमा जानकारी गराउँदै आएको छ । विश्व स्वास्थ्य संगठनको वेबसाइटमा उल्लेख भएअनुसार बुधबार बिहानसम्ममा कोरियामा ५ हजार १ सय ८६ जना संक्रमित भएका छन् भने ३२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या बढ्न नरोकिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले मंगलबार भाइरस रोकथाम तथा नियन्त्रणका लागि थुप्रै कार्यक्रम घोषणा गरेका छन् ।

पढाइ अनिश्चित

कोरोना संक्रमण बढेसँगै दक्षिण कोरियाका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका पढाइ अनिश्चित भएको छ । प्रायः सबै विश्वविद्यालयले विद्यार्थीको दीक्षान्त गरेका छैनन् । कोरियामा मार्च २ बाट शैक्षिक सत्र सुरु हुने भए पनि तत्कालका लागि दुई साता सरेको छ । ‘यो अहिले हामीलाई विश्वविद्यालयले दिएको जानकारी हो । उनीहरू आफैं दुई सातासम्म के हुन्छ भनेर कन्फर्म छैनन् । यस्तै कोरोनाको संक्रमण बढे कसरी पढाइ हुन्छ ?’ नेपाली विद्यार्थी समाज (सोनसिक) का अध्यक्ष प्रकाश देवकोटाले भने । सबैभन्दा बढी विद्यार्थी नै अप्ठेरोमा परे पनि खासै गुनासो गर्ने अवस्था नरहेको उनी बताउँछन् । ‘काम कम भएको छ । विश्वविद्यालय बन्द छन् । के गर्नु त ? पर्ख र हेर अवस्था छौं,’ उनले भने ।

मास्कको अभाव

सरकारले अनिवार्य रूपमा सबैलाई मास्क प्रयोग गर्न निर्देशन दिएसँगै दक्षिण कोरियामा माक्सको अभाव भएको छ । खुद्रा पसल, ठूला मार्ट, अनलाइन सपिङमा समेत मास्कपाइँदैन । पाइने ठाउँमा पनि माक्सको तीन गुणाले महँगिएको छ । कुपाङ, दानावा, जी–मार्केट, लोट्टे मार्ट, इमार्टजस्ता ठूला अनलाइन सपिङ साइटले मास्क सकिएको सूचना राखेका छन् ।मास्क किन्नका विभिन्न मार्टअघि लामा लाइन देखिन्छन् । अभाव भएपछि सोमबार सरकारले मास्क बनाउने कम्पनीले उत्पादनको १० प्रतिशतभन्दा बढी निर्यात गर्न नपाउने नियम लागू गरेको छ । सरकारी हुलाक सेवाले पनि सुलभ मूल्यमा मास्क बेचिरहेको छ ।

कोरोना भाइरसविरुद्ध युद्धको घोषणा’

कोभिड–१९ को संक्रमण फैलन नरोकिएपछि दक्षिण कोरियाले यसविरुद्ध युद्धको घोषणा गरेको छ । राष्ट्रपति मुन जाय–इनले मंगलबार मन्त्रिपरिषद् बैठकमा कोभिड–१९ विरुद्ध युद्ध घोषणा गरेका हुन् । ‘थेगु र ग्योनबुक प्रान्तमा संक्रमण उच्च बिन्दुमा पुगेसँगै समग्र देश संक्रामक रोग कोभिड–१९ विरुद्ध युद्धमा होमिएको छ,’ भाइरसले अति प्रभावित क्षेत्रबारे उल्लेख गर्दै बैठकमा राष्ट्रपति मुनले बताए ।उनले देशैभरका अस्पतालमा थप शय्याको व्यवस्थापन गर्न र मास्कको उचित आपूर्तिका लागि पनि मन्त्रिपरिषद् सदस्यसहित सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । उनले मास्कलाई अत्यावश्यक सामग्रीका रूपमा स्टक राख्नसमेत भनेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले उल्लेख गरेको छ ।

मुनले मास्क अभाव भएकामा सार्वजनिक माफी पनि मागेका छन् । ‘पर्याप्त मात्रामा र सहज तरिकाले मास्क उपलब्ध गराउन नसकेकोमा म क्षमा माग्छु,’ उनले भने । कोभिड–१९ संक्रमणले आघात पुगेका साना व्यापारीलाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।एसियाकै चौथो ठूलो अर्थतन्त्र दक्षिण कोरिया कोरोना संक्रमितको संख्यामा चीनपछि सबैभन्दा धेरै प्रभावित राष्ट्र हो । प्रकोपको त्राससँगै कोरियालीहरू मास्क किन्न घण्टौं लाइनमा लाग्न परिरहेको छ ।विश्वभर कोभिड–१९ संक्रमितको संख्या ९२ हजारभन्दा बढी छभने तीन हजार बढीकोमृत्यु भएको छ ।यो खबर गोकुल थोकरले कान्तीपुरमा लेखेका छन।

Author Since: Dec 06, 2019

Related Post