कोरिया खबर

कोरियाबाट कामना : ‘नेपालमा कोरोना संक्रमण नहोस्’

चीनको वुहानबाट फैलिएको नोवल कोरोना भाइरसले महामारीको रूप लिएको छ । विश्व नै कोरोना भाइरससंग जुधिरहेको छ । चीनमा सर्वाधिक प्रकोप रहेको कोरोनाबाट अहिले अन्य मुलुक पनि प्रभावित भएका छन् । चीनपछि कोरियामा बिरामी अत्याधिक रहेको तथ्याङ्कले देखाएको छ ।कामको शिलशिला तथा पढाइका लागि कोरियामा नेपालीको जमात ठुलै छ ।

कोरोना भाइरसले महामारीको रूप लिइरहेका बेला एक साताअघि २५/३० जना मात्र संक्रमित रहेको कोरियामा हाल करिब तीन हजारभन्दा बढी संक्रमित छन् । यो संख्या दिनानुदिन बढ्दै गइरहेको छ । दैनिक पाँच /सात सयजनामा कोरोना भाइरस देखिन थालेको छ । यसले गर्दा त्यहाँका नागरिक सन्त्रासमा छन् ।

कोरियाली सरकारले उच्च सतर्कता अपनाउँदा समेत यहाँको अवस्था नाजुका बन्दै गइरहेको हो । सुन्दा सहज लागे पनि नजिकबाट यो प्रकोपको त्रास महसुस गर्न निकै कठिन छ । कोरियामा पछिल्लो समय हाइअलर्ट घोषणा गरेसँगै यहाँ भएका मानिस घर बाहिर निस्कन डराएका छन् । मार्टहरूमा समान अभाव भइसकेको छ भने कति मार्टहरु बन्द भइसकेका छन् । अनलाइन सपिङ्ग गर्न सकिने ठाउँहरुमा पनि समान अभाव देखिएको छ । चारैतिर कोरोना संक्रमित भएको म्यासेज मोबाइलमा आइरहेको हुन्छ । हरेक आउने म्यासेजले त्रास सिर्जना गर्छ । छेउछाउमै पनि कोरोना संक्रमित रहेको र उपचारार्थ अस्पताल ल्याइएको म्यासेज आउँछ ।

बुबाले ‘रक्सी खानु रे, कोरोना लाग्दैन’ भन्नुभयो । सायद फेसबुकमा लेखेको देख्नुभयो होला । अल्कोहलले हात धोए राम्रो हुने डाक्टरहरूले सुझाउँदा केही मानिसले फेसबुकमा रक्सी खाए लाग्दैन भन्दै पोस्ट गरेछन् । म पनि कोरियामै भएकाले आजभोलि घरबाट आउने फोनमा एउटै कुरा हुन्छ । कोरोनाको अवस्था के छ ? समाचार देखेर हामी डराइसक्यौँ । घरबाट ‘ज्यानभन्दा ठूलो धन होइन’ भन्दै घर आउन आग्रह गरिरहन्छन् । हिजो मात्रै आमाले फोन गरेर घर आउन भनेर भन्नुभयो । ‘हैन ठिकै छ, यहाँ म मात्रै होइन, लाखौं नेपाली विदेशमा छौं,’ आमालाई भने ।

अहिलेसम्म हामी नेपाली सुरक्षित छाैं । यत्रो ठूलो विकसित देश हो, केही त पार लगाउँला नि भन्दै जवाफ फर्काएपछि आमाको मन केही हलुङ्गो भयो होला ।फोन राख्नै लागेको थिएँ, त्यतिकैमा बुबाले ‘रक्सी खानु रे, कोरोना लाग्दैन’ भन्नुभयो । सायद फेसबुकमा लेखेको देख्नुभयो होला । अल्कोहलले हात धोए राम्रो हुने डाक्टरहरुले सुझाउँदा केही मानिसले फेसबुकमा रक्सी खाए लाग्दैन भन्दै पोस्ट गरेछन् । सायद त्यही देख्नुभयो र भन्नुभयो होला । अघिपछि फोन गर्दा रक्सी खानु हुन्न भनेर सम्झाउने बुबाले यसरी भन्दा मन कताकता भारी हुँदोरहेछ ।

हामीलाई पनि यहाँ चट्कै छोडेर घर आउन मन नभएको त कहाँ हो र ? फेरि घर आउँन त्यति गाह्रो पनि छैन । यहाँको सरकारले ५० दिन भिसा थपेको छ । विद्यार्थी भिसामा आएकालाई कलेजले विदा नदिँदा गाह्रो भए पनि इपीएसमार्फत आएका घर जान चाहिँ सजिलो नै छ ।अहिलेसम्म बिदा अथवा काम छोडेर घर जान कुनै रोकतोक छैन । तर, घर आउन टिकट काट्नु भन्दा पहिला देशको अवस्था, सरकारको उदासीनता झल्झली याद आउँछ ।सामान्य झाडापखाला लाग्दा त उपचार नपाएर मृत्युको हुने देश । अझै पनि देशका धेरै ठाउँमा सिटामोल नपाएर मर्ने धेरै छन् । यस्तो अवस्थाबाट गुज्रिरहेको मेरो देशमा यदि म आफैसँग जान–अञ्जानमा कोरोना भाइरस लिएर पुगें भने के होला ? मेरा कारणले देशमा कोरोना फैलियो भने ?

चीन, कोरियाजस्ता विकसित देशहरुको त कोरोना भाइरसका अगाडि केही नलागेको अवस्थामा झन हाम्रो देशको हालत के होला ? हो, यही सम्झेर मजस्तै हजारौं नेपालीहरु काट्नै लागेको टिकट क्यान्सिल गरेर बरु जे होला, मलाई होला भन्दै भारी मन बनाएर बस्न बाध्य छौं ।यहाँ चारैतिर कोरोना संक्रमितको बिचमा बसेर पनि पटक पटक एउटै कामना गरिरहेका हुन्छौं नेपालमा कोरोना संक्रमण नहोस् । यहाँ राज्यले हरसम्भव प्रयास गर्दा पनि दिन दुगुना र रात चौगुना कोरोना भाइरस फैलिरहेको देखेका छाैं ।यहाँको अवस्था नजिकबाट महसुस गरिरहेका छौँ । चीनबाट ल्याइएका १००/१५० जनालाई क्वारेन्टाइन राख्न हम्यहम्य परेको सरकारले ४० हजार युवालाई कहाँ र कसरी व्यवस्थापन गर्न सक्छ ? एकदम सक्दैन् । त्यसैले यहाँ भएका युवाहरु नेपाल आउँनु भन्दा यतै बसेर घर देश सुरक्षित राख्न चाहान्छन् ।

अहिलेसम्म नेपालमा कसैलाई पनि कोरोना छैन् भन्ने समाचार आउँदा राहात मिल्छ । तर, डब्ल्यूएचओले भने बमोजिम नेपाल कोरोनाको उच्च ज्योखिममा छ ।सरकारले बिदेश भएका मजस्ता लाखौँको उद्धार त गर्न सक्दैन् । तर, नेपालमा भाइरस छिर्न नदिन सावधानी त अपनाउन सक्छ । संक्रमित देशबाट हुने उडानहरु अरु देशहरूले रोकेका बेला नेपालले किन रोक्न सक्दैन ? कति उदासीनता देखिएको हो ? यस्तोबेला सरकारको आलोचना गर्नु छैन ।हामीले स्वदेश फर्काउन भनेका छैनौं सुन्दा नराम्रो सुनिएला । तर, सरकार हामीलाई उद्धार गर्न सक्ने अवस्थामा छैन । तर, यो कुरा साँचो हो कि प्रधानमन्त्रीले जन्मदिन मनाउन झण्डै करोड खर्च गर्छन् । समयमा राम्रो अस्पताल पुर्‍याउन हेलिकप्टर उपलब्ध नहुँदा एक नारी अल्पायुमामै प्राण त्याग्छिन् । उता राष्ट्रपति हेलिकप्टर चढेर जम्बो टोलीसहित महोत्सव उदघाटन गर्न पुग्छिन् ।

रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा अहम् भूमिका निर्वाह गर्ने युवाहरु जो अहिले महामारीको बीचमा छन् । यति हुँदाहुँदै पनि आफ्नोभन्दा घर परिवार र देशको चिन्ता छ । सँगै काम गर्ने साथीलाई घर जाउँ न भन्दा बरु यतै मरिन्छ तर, भाइरस लगेर स्वदेश गइँदैन भन्छन् ।त्यो पनि छाती फुलाएर सरकार यत्रो ठूला र विशाल मन भएका नागरिकले एउटै अनुरोध गरेको छ । बस अरु चाहिँदैन, मात्रै मेरो देशलाई कोरोना भाइरसबाट बचाउन अलिकति सावधानी अपनाऊ । संक्रमित देशका नागरिकलाई आवतजावतमा रोक लगाऔं । केही समय उडान बन्द गरिदिउँ ।

यो एकजनाको हैन, मजस्तै ४० हजार कोरियामा भएका युवाको आवाज हो । नपत्याए सरकार कोरिया हुने अधिकांश युवाको फेसबुक टाइमलाइनमा गएर हेरौं ‘देश बचाउ हामीलाई फर्किनुपर्दैन भन्ने भाव प्रष्ट हुन्छ । मर्नै परे पनि स्वदेशमा मर्ने सबैको चाहना हुन्छ । तर, देशको अवस्थाले युवाहरु यसो भन्न बाध्य छन् ।कोरियामा भएका साथीहरुसंग सामाजिक सञ्जालामा कुरा हुँदा घर नगए पनि यतै सुरक्षित बस्नुपर्छ है भन्दै आँखा रसाउँदै सु–स्वास्थ्यको कामनासहित छुट्टिँदा साँच्चिकै गाह्रो हुन्छ ।

‘यहाँ देशको छ चिन्ता …’ गीतजस्तै आफू मर्नु परे पनि देश बचाउन चाहाने नागरिक अरु कुन देशसँग होलान् ? हामीले त आफ्नो कर्तव्य पूरा गर्दै छौं । तर, सरकार तिमीले अलिकति सावधानी अपनाएर आफ्नो कर्तव्य कहिले पूरा गर्ने ? कहिलेकाहीँ हाम्रो देशका एकजना ठूला… हँसाउने व्यक्तिले भनेको कुरा याद आउँछ नेपाली हो नि !हो, आज म पनि भन्छु– यस्तो अवस्थामा पनि ती मान्छेहरु देशलाई बचाउँन चाहान्छन्, किनकि नेपाली हो नि !यो खबर अनलाईन खबरमा जगदिश गिरीले लेखेका हुन।

Author Since: Dec 06, 2019

Related Post