बिचार/ब्लग

कोरोना कहरकै बिच कोरिया बाट नेपाल फर्केर भोगेको पिडा !

कोरोना कहर कै बीच गरिएको यात्रा अनुभव

वैदेशिक र‍ोजगारीको सिलसिलामा दक्षिण कोरियामा प्रवासी मजदुरको रुपमा झण्डै एक दशक (१० वर्ष) बिताईयो । दस वर्षे कार्यकालमा विभिन्न दु:ख, पीडा, समस्या, चुनौती र अप्ठ्याराहरु भोगिय‍ो ।

सन् २०२० मे ११ तारिखका दिन स्वदेश फर्कने निर्णय गरि फेब्रुअरी महिना मै कोरियाको सुवन स्थित Link Asia Tours and Travel Co. बाट Korean Air को टिकट अग्रिम बुकिङ गरियो । तर विश्वभर फैलिएको कोरोना त्रासको कारण सबै उडान रद्द भए ।

उडान रद्द भएपछि टिकटको रकम फिर्ता लिने सूचना जारी गरियो । उडान नहुने भएपछि मैले पनि टिकट रकम फिर्ता मागे तर Link Asia का संचालकले कोरियन वोन ३०,००० काटिने कुरा गर्नु भयो । मैले काम भएको छैन कसरी के आधारमा काटिने हो प्रश्न उठाएँ उहाँले सित्तै (free) मा काम हुँदैन भन्नु भयो । रकम पनि तुरुन्तै फिर्ता नहुने समय लाग्ने कुरा गर्नु भयो ।

मे महिनाको २१ तारिखका दिन कोरियन वोन २०,००० कट्टी गरेर बाँकी रकम फिर्ता गर्नुभएछ । उहाँ कै भनाइमा Link Asia बाट झण्डै ८०० को हाराहारीमा अग्रिम टिकट बुकिङ भएको रे । यो हिसाबले Airlines कम्पनीहरुले बिना service राम्रै पैसा कमाएको देखिन्छ । ट्राभल कम्पनीहरुको पनि पीडा छुट्टै होला । किनकि बीचमा (middle man) बसेर काम गर्न जहिले पनि गाह्रो हुन्छ ।

यसै बीच जुलाई १० तारिखका दिन चार्टर उडान हुने कुरो सुनियो । अनुनय विनय गरेर नेपाली राजदुतावास कोरिया, गैर आवासीय नेपाली संघ (NRNA) कोरिया र KME Travel को समन्वयमा मातृभूमि फर्कने टिकट मिल्यो । कोरोना कहर कै बीच बल्लतल्ल मातृभूमिको यात्रा हुने भयो ।

सन् २०२० जुलाई ०९ तारिख

बेलुकी ०८:३० बजे Osan स्थित कम्पनीबाट आफ्नो सर-सामान (लगेज,झोला, ल्यापटप) लिएर Incheon airport को लागि हिंडियो । एयरपोर्ट लगभग सुनसान थियो । झण्डै १० वर्ष प्रवाशी मजदुरको रुपमा कोरियामा रहँदा कैयौं पटक आवतजावत गर्दा सँधै व्यस्त रहने ईन्छन एयरपोर्ट पहिलोपटक सुनसान देख्दा मनमा अनेक थरी सोचाइ र तर्क वितर्कहरुले राम्रै ठाउँ पाए । क‍ोरोना भाइरसले मानव अस्तित्व खतरामा परेकै हो त ? निकैबेर घोत्लिन बाध्य भइयो । तथापि यो दुनियाँमा कुनै पनि कुराको शुरु पछि अन्त्य अवस्य हुन्छ । अजम्बरी केही र कोही पनि छैन यो दुनियाँमा वास यसरी आफ्नो मनलाई शान्त राख्ने प्रयास गरियो ।

जुलाई १०, २०२०

विहान करिब ०८:३० (नेपाली समय अनुसार) बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल पुगियो । नियमित चेकजाँच गरि आ-आफ्नो सरसामान बुझेर अध्यागमनबाट बाहिर अाए पछि प्रदेश अनुसार छुट्टाछुट्टै गाडी तयारी अवस्थामा थियो । आफू कुन प्रदेशको हो सम्बन्धित प्रदेशको गाडिमा बसेर होल्डिङ सेन्टर तिर लागियो ।

होल्डिङ सेन्टरमा आफ्नो सम्पूर्ण विवरण टिपोट गरिसकेपछि नेपाली सेनाले व्यवस्था गरेक‍ो बसमा पोखराको लागि भनेर चडियो । खै के-के हो के मिलेन बल्लतल्ल दिउँसो १२ बजे मात्र छुट्यो बस । त्यो बसमा हामी कोरियाबाट आएको १५ जना थियौं । मुग्लिन आएपछि झण्डै आधा घण्टा चेकजाँच भनेर गाडी रोकियो ।

साँझ ९ बजे बल्ल पोखरा रंगशाला पुगियो । गण्डकी प्रदेशको लागि पोखरा रंगशालामा रहेछ होल्डिङ सेन्टर । त्यहाँबाट पोखरा भ्याली भित्रका होम क्वारेन्टाइन (home quarantine) बस्नेहरुलाई सम्बन्धित वडा अध्यक्षको अनुमतिमा जिम्मा लगाएर छोड्ने रहेछ । भ्याली बाहिरका लाई एक रात त्यही राखेर भोलिपल्ट सम्बन्धित जिल्लालाई जिम्मा लगाउने रहेछ ।
एकजना नेपाल पुलिसको हवल्दार साव हुनुहुँदो रहेछ विदेशबाट आएकाहरुको विवरण संकलन गर्ने, रजिस्टारमा उतार्ने र जिम्मा लगाउने । हामी जम्मा ३ जना थियौं पोखरा भ्यालीमा होम क्वारेन्टाइन बस्ने । होम क्वारेन्टाइन छोड्नु भन्दा पहिले सम्बन्धित वडाको वडा अध्यक्ष सँग फोन लगाएर लाउड स्पीकरमा हवल्दार साव बोलेपछि मात्र जान पाइने । अरु दुई जना साथिहरु त्यसरी नै हिंडी सके । मलाई भने किन हो निकै बेर आनाकानी गरे हवल्दार सावले ।

म ४ नम्बर वडामा जाने हो वडा अध्यक्षको अनुमति/मञ्जुरी छ ल तपाई कुरा गर्नुहोस् भनेर फोन लगाएर दिएँ । तर उहाँले मोबाइल फ‍ोनमा कुरा नगर्ने रे सम्बन्धित वडा कार्यालयको फोन नम्बरमा मात्र कुरा गर्ने रे । रातको १० बजिसकेछ त्यतिबेला सम्म को बस्छ वडा कार्यालय ? बडो अनौठो र अचम्मक‍ो कुरा । एकनास झरी परिरहेछ छाता छैन साथमा । झरीमा रुझ्दै म अनुरोध गरिरहेक‍ो छु । बाहिर मलाई लिन आएका मेरा आफन्तहरु छिटो आउनु भन्दै छिनछिनमा फोन गरिरहन्थे । निकै समयको आनाकानी पछि हवल्दार सावले जाने अनुमति दिनु भयो ।

छिमेकीले_दिएको_पीडा

मेरो परिवार (श्रीमती, छोराछोरी र आमा) घरको दोश्रो तलामा बस्छन् । घरबेटी विदेशमा भएकोले भुँईतला खाली रहेछ । घरबेटीसँग कुरा गरेर म भुँईतलामा क्वारेन्टाइन बसेको छु । म क्वारेन्टाइन बसेको देखेर छिमेकीले डाहाको नजरले हेर्न थाले । रातिराति लुकेर किन आएको हामीलाई खतरा हुन्छ यी यस्तै पचाउन गाह्रो हुने शब्दहरु सुन्नु पर्दा मन अमिलो भएर आउँछ । घरभित्रै शौचालय (toilet) छैन ।

दिशा-पिसाब गर्नलाई बाहिर निस्कनु पर्ने हुन्छ । तर छिमेकीले बाहिर किन निस्कन दिएको ? निस्कन पाउँदैन भनेर मेरी श्रीमतीलाई खोक्दा रहेछन् । श्रीमतीले पीडा पोख्छिन् । सुने पनि नसुने झैं गर म श्रीमतीलाई सम्झाउँछु ।

आजभोलि नेपालमा बिदेशबाट आएको भनेपछि छेउछाउ पर्न डराउँदा रहेछन् । यसले कोरोना ल्यायो कि भनेर तर्सिदा रहेछन् । कोरोनाले सामाजिक सद्भाव, आत्मियता र भाइचाराको भावना भत्काउन लागेको देखेर म चिन्तित छु अचम्मित छु ।

मैले कसैको मान हानी गर्न खोजेको किमार्थ हुँदै होइन । यात्राको क्रममा भोगिएका पीडाहरु मात्र share गर्न खोजेको हो । साथिहरु जो कोहीले पनि यस्तै दु:ख, कष्ट र पीडाहरु झेल्नुपरेको छ भने कृपया share गरौं ।

लिला_पुन,हाल: पोखरा होम क्वारेन्टाइन (home quarantine) बाट

Author Since: Dec 06, 2019

Related Post