अस्ट्रेलियामा उद्धार उडानको टिकट मिलाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय
- by siddhartha@post
- 3 years ago
- 0 comments

सिड्नी
अस्ट्रेलियाबाट नेपालतर्फको उद्धार उडानमा सिट सुरक्षित गरिदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएको छ ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका प्रतिनिधि भन्दै नेपाल फर्किन चाहेका केही नेपालीहरुलाई उनीहरुले टेलिफोन गर्दै नगद रकम दिन र आफ्नो सिट सुरक्षित गर्न भनिरहेका छन् ।
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले यस्ता ठगसँग सचेत रहन, कसैलाई पनि नगद रकम नदिन र कसैले ठगी गर्न खोजेमा अस्ट्रेलियन प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । गैरआवासीय नेपाली संघका नेताहरुले ‘ठगहरु सकृयु’ भन्ने सूचनाहरु जारी गरेका छन् ।
अस्ट्रेलियाबाट अहिलेसम्म तीनवटा उद्धार उडान भएका छन् । जसमा ६३० जना नेपाल फर्किएका छन् । पहिलो दुई उडान नेपाल वायुसेवा निगमले गरेको थियो । जसको भाडादर एकतर्फी दुई हजार ६५० अस्ट्रेलियन डलर थियो ।
नेपाली दूतावास क्यान्बेराको समन्वयमा तथा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको संयोजकत्वमा भएको तेश्रो उडान भने ९ सय अस्ट्रेलियन डलर सस्तो थियो । अघिल्लो दुईवटा चार्टर उडान भए पनि तेश्रोचाहिँ सेमी चार्टर उडान थियो ।
संसारमा कोरोना भाइरसको महामारी चलिरहेका बेला समस्यामा परेका मानिसलाई महँगो भाडादरमा यात्रा गराउने र त्यसबाट नाफा कमाउन चाहने बिचौलियाहरु अहिले सबैतिर सक्रिय भएका छन् ।
अस्ट्रेलियाका विभिन्न सहरबाट नेपाल फर्किन चाहने फर्म भरेकाहरु अझै झन्डै ७०० जना छन् । उनीहरुलाई लक्षित गरी केही ठगहरु सकृय भएका हुन । नेपालतर्फको उडान अनिश्चित भएको तर आफूहरुले एनआरएनमार्फत छिट्टै नेपालतर्फ पठाइदिने भन्दै फोन गरिरहेको बताइएको छ ।
अस्टेलियामा क्रियाशील नेपाली मुलका केही ट्रावल एजेन्टहरु अस्ट्रेलियाका विभिन्न सहरमा व्यवसायिक उडान गरिरहेका विमान कम्पनीमार्फत उडान गरेर नाफा सुरक्षित गर्ने प्रतिस्पर्धामा छन् ।
नेपालमा पनि केही ट्राभल एजेन्सीहरु यस्तै प्रतिस्पर्धामा हुँदा विदेशमा समश्यामा परेका नेपाली सहजै र सस्तोमा नेपाल फर्किन सकिरहेका छैनन ।
नेपाल सरकारले कि नेपाली वायुसेवा कम्पनी मार्फत उद्धार उडान गर्नुपर्ने वा नियमित व्यवसायिक उडान गरिरहेकाहरुलाई अझै सस्तोमा उडान गर्न समन्वय गर्नुपर्ने यात्रुहरुको राय छ ।
यदि नियमित व्यवसायिक उडान गरिरहेका कम्पनीमार्फत उडान भर्दा अस्ट्रेलियाबाट एक हजार अमेरिकी डलरभन्दा पनि कममा नेपाल उडान हुनसक्ने तर बिचौलियाहरुले संकट देखाएर छिटो नाफा कमाउन खोजिरहेका छन् ।
ठगहरुसँग नेपाल फर्किन चाहने नेपालीहरुको परिचय कसरी पुग्यो यो भने खोजिको विषय भएको बताइएको छ ।