
काठमाडौं
चीनले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप बनाइरहेका कम्पनीबाट सूचना चोर्ने प्रयास गरिरहेका ह्याकरहरुलाई सहयोग गरेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकी अधिकारीले दुई चिनियाँ नागरिकमाथि कोरोनाविरुद्धको खोपको अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीको जासुसी गरेको आरोप लगाएको छ ।
अमेरिकाले लि शियाओयू र डाँग जियाजीमाथि ह्याकिङको आरोप लगाएको हो । उनीहरुलाई यो कामको लागि चीन सरकारले सहयोग गरेको अमेरिकाले बताएको छ । गत साता बेलायत, अमेरिका र क्यानडाले रुसमाथि पनि कोरोना खोपको रिसर्च चोरेको आरोप लगाएका थिए ।
अमेरिकाले अहिले ह्याकिङको आरोप लगाएका दुई व्यक्तिहरु पहिला इलेक्टि्रकल इन्जिनियरिङका विद्यार्थी थिए । अमेरिकाले उनीहरुलाई व्यापारको गोप्य जानकारी पनि चोरेको आरोप लगाएको छ ।
यी दुवै विद्यार्थीहरु अहिले चीनमा बस्छन् । अमेरिकाका अनुसार यी दुवै निजी ह्याकर हुन् तर चीनका सरकारी अधिकारीले उनीहरुलाई सहयोग गरिरहेका छन् ।
अमेरिकाका अनुसार यी दुवैले गत जनवरी म्यासाचुएट्सस्थित बायोटेक र्फम ह्याक गर्ने प्रयास गरेका थिए । यो कम्पनीले कोरोना भाइरसको उपचारको विषयमा अनुसन्धान गरिरहेको थियो । उनीहरुले मेरिल्याण्डमा रहेको अर्को कम्पनी पनि ह्याक गर्ने प्रयास गरेका थिए ।
अमेरिकाका अनुसार दुवै चिनियाँ नागरिकले हालै अष्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्याण्ड्स, स्पेन, स्वीडेन र बेलायतमा रहेको बायोटेक र्फमलाई लक्षित गरेका थिए । जुन कम्पनीले कोरोना भाइरसको खोप निर्माणको काम गरिरहेका छन् ।
स्रोत : बीबीसी