कोरिया खबर

काेरियाबाट फर्केर ऊन कपडा उद्योग खाेलेका युवाकाे वार्षिक ४० लाख कमाइ

बुटवल- दक्षिण काेरिया राेजगारी सकेर उद्यम गर्ने युवाहरू प्रशस्त छन्। तिनै मध्येका एक हुन् बुटवलका रामप्रसाद भण्डारी । ईपीएस प्रणाली शुरू नहुँदै बुटवलका भण्डारी सन् २००२ देखि २००९ सम्म दक्षिण कोरियामा रोजगारीको शिलशिलामा बसे । झण्डै ८ वर्ष कोरिया बसेपछि उनले सोचे- स्वदेश फर्किएका उद्यम गर्नैपर्छ । कोरियाको कमाइले उनले बुटवलमा घरजग्गा जोडे ।

त्यसपछि उनले विद्युतीय सामग्रीको व्यवसाय शुरू पनि गरे । त्यसबाट उनी सन्तुष्ट भएनन् ।उद्यम गर्नैपर्छ भन्ने सोचाइले उनलाई पेल्दै गयो । के गर्ने भन्ने सोचबुझ गर्दै जाँदा उनको सम्पर्क भयो होजियारी उद्योगी जीवनाथ गैरसँग । गैरेको उद्योग देखेर उनी पनि प्रभावित भए । उनले पनि होजियारी उद्योग गर्नुपर्छ भन्ने ठाने । उनले पनि आँटे र शुरू गरे- शिखर होजियारी (ऊन कपडा) उद्योग । कोरियाको कमाइ घरजग्गा किन्दा सकिएको थियो । सुख्खानगरमा रहेको दुई तले घर बिक्री गरेर उनले ५० लाख रूपैयाँको धागो किनेर उद्योग शुरू गरे ।

धेरैले उनलाई घर बिक्री गरेर उद्योग गर्न धागो किन्दा जोखिम मोलेको भन्दै यस्तो काम शुरू नगरी अन्य काम गरे पनि हुन्छ भने । तर उनले व्यवसाय गर्दा जोखिम नमोलेसम्म उद्योग/व्यवसाय गर्न सकिँदैन भनेर एक करोड ५० लाख रूपैयाँको लगानीमा २०६८ सालमा उद्योग सञ्चालन गरे । यस क्षेत्रमा धागोको कपडाको माग पनि बढ्दो थियो ।उनले भने, ‘आफैंबाट देशमै केही गर्नुपर्छ भने विदेशमा बसेको अनुभवले सिकायो र उद्योग शुरू गरेँ । विदेशमा कमाएको धन र सीप स्वदेशमा सदुपयोग गरिनुपर्छ भन्ने धारणा बलियो बनेपछि उद्योग शुरू गरेको हुँ ।’

उनको उद्योगले पहिलो वर्षमै वार्षिक २० हजार जाडोका कपडाहरू उत्पादन शुरू गर्‍यो ।उनी भन्छन्, ‘आर्थिक रूपमा सफल हुन नयाँ व्यवसाय गर्नैपर्छ भन्ने छैन । अन्य मानिसले गरिरहेको व्यवसाय पनि गर्न सकिने रहेछ । व्यवसाय पहिचान गर्ने र काम गर्ने तरिका सिक्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन ।’उनको उद्योगमा विभिन्न प्रकारका १२ वटा मेसिन छन् । उनका उद्योगले अहिले दैनिक ३ सय ५० विद्यार्थीका स्कूल स्वीटर, लेडिज स्वीटर, उलन कुर्था, उलन लेगिज, चोला बच्चाका कोटहरू प्लाजु टोपी उत्पादन गर्ने गर्छ । उनले अहिले वार्षिक १ लाख २० हजार स्वीटर उत्पादन गर्छन् । उनले २२ जना युवालाई रोजगारी पनि दिएका छन् ।

उनको उद्योगमा पनि मासिक १० हजार देखि ४५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी छन् । भण्डारी अहिले बुटवलका सफल युवा उद्यमीको रूपमा परिचित हुन थालेका छन् । उनले अहिले वार्षिक तीन करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् । उनको वार्षिक सम्पूर्ण खर्च कटाएर ४० लाख रुपैयाँ बचत पनि हुन्छ । उनी भन्छन्, ‘देशमै केही गर्ने इच्छाशक्ति भए विदेश जानु पर्दैन । यहीँ जे पनि गर्न सकिन्छ । अहिले लगानीमैत्री वातावरण छ । केही गर्न चाहनेलाई राज्यबाट अनुदान लिने पनि सकिन्छ ।’

भण्डारी अहिले उमेरले ४० वर्ष लागे । उनका छोरा छोरी र श्रीमती छन् । उनी अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । बिहानेदेखि उनी उद्योगमा काम गर्न खटिन्छन् । भण्डारी भन्छन्, ‘विदेशमा बसेर ४० काटेपछि देशमा आएर रमाउने होइन । नेपालमै केही उद्यम गरेर घरपरिवारसँग रमाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।’उनका उद्योगको कपडाको बजारमा ठूलो माग छ । बाह्रै महिना उनको उद्योग सञ्चालन हुन्छ । उनको उद्योगबाट उत्पादित कपडा नेपालभर पुग्छ । जाडोको कपडाका लागि अबौं रुपैयाँ प्रत्येक वर्ष बाहिरिन्छ । त्यसलाई रोक्न ऊनबाट बन्ने जाडोको कपडामा नेपाललाई आत्मनिर्भर बनाउने गरी आफू काम गर्न जुटेको भण्डारीको भनाइ छ ।

विशेषगरी जाडो महिनाका लागि बिक्री गरिने कपडा भएकोले उनी बिक्री बढी हुने समय पूर्व नमूना लिएर बजारमा जान्छन् । कपडा राम्रो भएपछि उनको कपडामा माग अनुसार बजारमा पठाउँछन् । आफ्नो उद्योगबाट उत्पादन कपडाको लागि बजारको कुनै समस्या नभएको भण्डारीले बताए ।पछिल्ला केही वर्ष व्यावसायिक कृषि, पशुपालन र उद्यममा युवाको आकर्षण पनि बढ्दै गएको छ ।उनले खुला सिमानाका कारण भन्सार छलेर ल्याउने भारतीय कपडामा प्रतिबन्ध लगाउन राज्यले कडाइका साथ लाग्नुपर्ने बताए । उनी भन्छन्, ‘भन्सार छलेर ल्याएका वस्तुले नेपाली उद्योगी/व्यवसायी पीडित भएका छन् । भन्सारमा राज्यले कडाइ गर्नुपर्छ । नत्र नेपाली उद्योगीहरू धरासायी बन्न धेरै समय लाग्दैन ।’

अहिले रुपन्देहीमा भण्डारीका जस्तै होजियारी उद्योग करीब एक दर्जन छन् । रुपन्देहीको तिलोत्तमामै पाँच जना युवाको समूहले ६ करोड रुपैयाँको लागतमा पनि हालै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।भण्डारीले नयाँ आधुनिक मेसिनहरू भित्र्याएर उद्योगलाई अझै विस्तारित र परिस्कृत गर्दै जाने सोच बनाएका छन् । उनलको नमूना उद्योग भएको भन्दै विभिन्न क्षेत्रहरू रुपन्देही उद्योग संघलगायतले उनलाई सम्मान पनि गरेका छन् ।

राज्यले उद्योगी व्यवसायीहरूलाई बैंक ब्याज सस्तोमा उपलब्ध गराउने बताउँदै आए पनि त्यो व्यवहारमा कार्यान्वन नभएको उनको गुनासो छ । उद्योग व्यवासायीलाई राज्यले सबै क्षेत्रमा सहुलियत दिनुपर्ने उनको माग छ । उनले देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउन युवालाई यहीँ केही इलम गर्न राज्यबाट पनि प्रोत्साहनका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको औंल्याए ।

Author Since: Dec 06, 2019

Related Post