
आन्दोलन र नक्कली परीक्षार्थी मुख्य कारण
नक्कली परीक्षार्थी भेटिएपछि एक दशक अघिदेखि सञ्चालन हुँदै आएको रोजगार अनुमति प्रणाली (ईपिएस) को भाषा परीक्षा नै रद्द हुने अवस्था उत्पन्न् भएको छ ।
नेपालस्थित कोरियाली दूतावासले सूचना जारी गर्दै भाषा परीक्षामा देखिएको अवान्छित क्रियाकलापका कारण यस वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा नहुने सम्भावना रहेको जनाएको छ ।
कोरिया मानवस्रोत विकास विभाग (एचआरडी)ले सञ्चालन गरेको ईपीएसमार्फत कोरिया प्रवेश गरेका ५८ जना नेपालीले अन्य व्यक्तिलाई परीक्षा दिन लगाएको, प्रवेशपत्रमा फोटो परिवर्तन गरेको र नक्कली कागजात पेश गरेको अभियोग लगाउँदै नेपालको रोजगारी गुम्ने चेतावनी दिएको हो ।
यस्ता नक्कली नेपाली परीक्षार्थीलाई सन २०२० फेब्रुवरीमा पहिचान गरी कोरिया सरकारले गत मार्च र जुन महिनाको अन्त्यमा नेपाल फर्काएको थियो । कोरियाको कानुन मन्त्रालय र ईन्छन विमानस्थल अध्यागमन कार्यालयले सन् २०२० अप्रिलमा ईपीएस अन्तर्गत भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अर्कालाई परीक्षा दिन लगाउने कार्यमा संलग्न भएका नेपालका ५ जना दलालसमेत पक्राउ गरे केही समय जेल राखेर नेपाल पठाएको थियो ।
यसरी पक्राउ परेका नेपालीले २०१८ र २०१९ मा नेपालमा सञ्चालन भएको ईपीएस भाषा परीक्षामा अर्काको परीक्षा दिने तथा अन्य अन्य परीक्षार्थीको माध्यमबाट उच्च अंक प्राप्त गरी कोरिया प्रवेश गरेको दूतावासले जनाएको छ । कोरियाली भाषा परीक्षाको अवैधकार्यमा यहाँ रहेका कोरियाली भाषा प्रशिक्षण केन्द्रको समेत संलग्नता देखिएको कोरियाको आरोप छ ।
यसरी भाषा प्रशिक्षण केन्द्र सञ्चालन गर्दै अर्काको नाममा परीक्षा दिई पैसा असुल्ने २ नेपालीको नाम समेत सार्वजनिक गरेको छ । सन् २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरी सीप परीक्षामा समेत सहभागी भई कोरिया जानका लागि प्रतिक्षारत करिब ७ हजार नेपाली हाल कोरोनाभाइरस संक्रमणका कारण जान नसकिरहेको समेत दूतावासले जनाएको छ ।
कोरिया जान नपाएका केही व्यक्तिले माइतिघर मण्डलामा विभिन्न चरणका आन्दोलन गरिरहेकोमा समेत कोरियाले दुःख व्यक्त गरेको छ । “नक्कली कागजात बनाउने, अर्काको फोटो मिलाएर कोरिया पुगेका ५८ जना व्यक्तिलाई कोरिया सरकारले पक्रिएर फर्काएको विषयले भविष्यमा नेपाली कामदारको कोरिया रोजगारीमा अत्यन्त नकारात्मक प्रभाव पर्ने निश्चित देखिन्छ,” दूतावासका एक अधिकारीले भने, “यसअघि भियतनाममा पनि कोरियाली भाषा परीक्षामा अवैध चलखेल गर्ने व्यक्तिहरू धेरै भएका कारण २ वर्षका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यक्रम नै रद्द भएको थियो ।”
नेपालबाट हरेक वर्ष लगभग ६ देखि ७ हजार नेपाली ईपीएसअन्तर्गत कोरियाको उत्पादनमूलक क्षेत्र, कृषि व्यवसाय आदिमा रोजगारका लागि जाने गरेका छन् । कोरियामा मासिक औसत १ हजार ५०० अमेरिकी डलरभन्दा बढि पारिश्रमिक प्राप्त गर्न सकिने हुँदा अन्य मुलुकको तुलनामा नेपालीले रोजगारका लागि छनोट गर्ने देशमा पर्दछ । बिदाको दिनलगायत अतिरिक्त समय काम गरेको खण्डमा औसत ३ हजार अमेरिकी डलर सम्म प्राप्त गर्न सकिने भएकोले हरेक वर्ष ७० देखी ८० हजार नेपाली युवाले भाषा परीक्षा दिने गरेका छन् ।
नक्कली परीक्षार्थीलाई ८ लाख
कोरिया सरकारको छानबिनअनुसार खेताला परीक्षार्थीका लागि प्रतिव्यक्ति ५ हजार डलरदेखि ८ हजार डलरसम्म भुक्तानी गरेको पाइएको दूतावासले जनाएको छ । हाल नक्कली व्यक्तिलाई परीक्षा दिन लगाएर कोरियाबाट पक्राउमा परी फर्केकाको संख्या नै ५३ रहेको छ भने कोरिया जाने पर्खाइमा रहेका करिब ५० युवाले पनि नक्कली परीक्षार्थीबाटै भाषा परीक्षा उत्तीर्ण गरेको पाइएको छ । ईपीएस भाषा परीक्षाको सेटिङमा संलग्न ५ जना दलालहरू विगतदेखि नै सक्रिय रहेको पनि कोरियाको भनाइ छ ।गोपाल सङ्ग्रौला को कारोबार दैनिकमा प्रकाशित समाचार