कोरिया खबर

दक्षिण कोरियाका नयाँ प्रधानमन्त्री ‘मिस्टर मुस्कान’ , को हुन् उनी ?

सोल/कोरिया

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ इनले पूर्व सभामुखलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । मंगलबार राष्ट्रपति मुन जेइ इनले चुङ स्ये क्युङलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघिको मन्त्रिमण्डलका प्रमुखमाथि भ्रष्टाचारको मुद्दा लागेपछि क्युङलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।

नव नियुक्त प्रधानमन्त्री क्युङलाई ‘मिस्टर स्माइल’ (मिस्टर मुस्कान) को नामले समेत चिनिन्छ । कसैलाई पनि अपमान नगर्ने र कसैप्रति पनि चर्को विमति नराख्ने बानीले गर्दा उनलाई यो उपनाम दिइएको हो ।
छ पटकसम्म सांसद बनिसकेका क्यङ यसअघि वित्तमन्त्री समेत भइसकेका राजनीतिज्ञ हुन् । क्युङ कोरियाकै सबैभन्दा प्रिय र भद्र सांसद मानिन्छन् । उनलाई ६ पटकसम्म ‘सबैभन्दा भद्र सांसद’ घोषणा समेत गरिएको थियो ।

‘क्युङले सधैँ वार्ता र सम्झौतालाई महत्व दिँदै राजनीति गरिरहेका छन्’, राष्ट्रपति मुनले नियुक्तिपछि भने । कोरियामा कार्यकारी राष्ट्रपति हुने व्यवस्था छ । त्यसैले प्रधानमन्त्रीको पद आलंकारिक मानिन्छ ।
यसअघि कानुनमन्त्रीमा नियुक्त भएका मन्त्रिमण्डलका प्रमुख चो कुकमाथि आफ्ना छोराछोरीलाई शैक्षिक सुविधा उपलब्ध गराएको भन्दै भ्रष्टाचारको आरोप लागेको थियो । विवादमा तानिएसँगै कुकले अक्टोबरमा राजीनामा दिएका थिए । कुकले राजीनामा दिएपछि राष्ट्रपति मुनले क्युङलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

को हुन् ‘मिस्टर मुस्कान’ ?: चुङ स्ये क्युन दक्षिण कोरियाका सफल व्यवसायी हुन् । उनले वाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेबारी सफलतापूर्वक सम्हालिसकेका छन् । उनलाई देशको आर्थिक विकास र विपक्षी पार्टीसँगको समन्वयात्मक भूमिकाका लागि उपयुक्त पात्र मानिएको छ । दक्षिण कोरियामा सभामुख समेत भएको व्यक्ति प्रधानमन्त्री बन्ने पहिलो व्यक्ति क्युङ बन्नेछन् ।

सन् १९५० मा जन्मिएका क्युङ यसअघि प्रमुख प्रतिपक्ष दल डेमोक्रेटिक पार्टीका नेता थिए । सन् २०१६ मा सभामुख चयन भएपछि उक्त पार्टी छोडेका थिए । उनले सन् २००० मा क्युङ हि विश्वविद्यालयबाट विद्यावारिधि हासिल गरेका थिए । क्युङ सन् १९९६ मा राष्ट्रियसभाको सांसद बनेका थिए । त्यसबेला उनले आफ्नो गृह जिल्ला जिनानबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरेका थिए ।

सन् २००६ मा उनलाई वित्त, उद्योग तथा ऊर्जामन्त्रीमा चयन गरिएको थियो । वित्तमन्त्रीको हैसियतमा उनले सोही वर्ष डिसेम्बरमा बेइजिङमा भएको ५ देशका मन्त्रीहरुको बैठकमा सहभागी बनेका थिए । उनले आफ्नो कार्यकालमा ऊर्जा खपत र स्वच्छ ऊर्जा विकासलाई केन्द्रमा राखेका थिए । सन् २००८ मा सम्पन्न महाधिवेशनबाट क्युङलाई डेमोक्रेटिक पार्टीको नेता चयन गरिएको थियो ।

सन् २००९ मा नै मिडियासम्बन्धी कानुनको विरोध गर्दै क्युङ ६ दिने आमरण अनशनमा बसेका थिए । मिडियासम्बन्धी कानुन गैरकानुनी भएको र अवैध मतदान र बलपूर्वक कानुन पारित भएमा गलत हुने भन्दै सांसद पदबाट राजीनामा समेत दिएका थिए । एक वर्षपछि भएको उपनिर्वाचनमा डेमोक्रेटिक पार्टीले पराजय व्यहोरेपछि क्युङले पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने आवाज उठेको थियो । उनले पराजयको जिम्मेवारी लिँदै पार्टीको नेताबाट राजीनामा दिएका थिए ।

Author Since: Dec 06, 2019

Related Post