टिकटकले भन्यो-अमेरिकामा अझै लामो यात्रा गर्नुछ
- by siddhartha@post
- 3 years ago
- 0 comments

काठमान्डौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडिया एप टिकटकलाई देशमा प्रतिबन्धित गर्ने चेतावनी दिइरहेको बेला टिकटकले भने अमेरिकामा लामो समयसम्म आफ्नो उपस्थिति रहने आशा व्यक्त गरेको छ ।
अमेरिकास्थित टिकटककी महाप्रबन्धक भेनेसा पापाजले भनेकी छिन्, ‘हामीले अझै अमेरिकामा लामो समयसम्म रहनु छ ।’
एक भिडियो सन्देशमा पाप्पाजले टिकटक एक सुरक्षित मोबाइल एप्लिकेसन रहेको दाबी गरेकी छिन् । अमेरिकी प्रयोगकर्ताहरुले टिकटक एपको समर्थन गरिरहेको आफुलाई अनुभुति भएको भन्दै उनले भनेकी छिन्, ‘हामीले कहीँ जाने कुनै योजना बनाइरहेका छैनौँ । यदि सुरक्षाको विषय हो भने हामीले टिकटकलाई निकै सुरक्षित एप बनाएका छौँ । हामीले के गरिरहेका छौँ भन्ने हामीलाई राम्रो हेक्का छ किनकी अमेरिकामा हामी लामो समयका लागि रहनु छ ।’
अमेरिकी राष्ट्रपति ट्रम्पले भने टिकटकले प्रयोगकर्ताका डाटाको दुरुपयोग गर्ने भन्दै एक कार्यकारी आदेश जारी ग्रेर टिकटकमाथि प्रतिबन्ध लगाउने बताएका थिए ।
चिनियाँ एप टिकटकमाथि चीन सरकारसँग सम्बन्ध रहेको आरोप लागिरहँदा टिकटकले चाहीँ आफुमाथि चीन सरकारको कुनै नियन्त्रण नरहेको प्रष्ट पारेको छ ।
अमेरिकामा टिकटकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या ८ करोड छ । भारतपछि सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको अमेरिकाले समेत प्रतिबन्ध लगाएमा टिकटकलाई ठूलो झट्का लाग्ने निश्चित छ ।
यद्यपि ट्रम्पले कुन अधिकारको प्रयोग गरी टिकटकमाथि प्रतिबन्ध लगाउने हुन् भन्ने अहिलेसम्म प्रष्ट भैसकेको छैन । साथै उक्त प्रतिबन्धलाई कुन रुपमा लागू गर्ने वा त्यस्तो प्रतिबन्धलाई कानूनी रुपमा चुनौती दिन सकिने नसकिने भन्ने विषय समेत अस्पष्ट छ ।
उता रोयटर्सको एक रिपोर्ट अनुसार अमेरिकामा टिकटकको व्यवसायलाई बिक्रि गर्नका लागि टिकटकको मातृ कम्पनी बाइटडान्स सहमत भएको छ । यस विषयमा बाइटडान्स र माइक्रोसफ्टबीच छलफल चलिरहेको र त्यसक्रममा बाइटडान्सले टिकटकको केही हिस्सा शेयर आफुसँग राख्न चाहेको भन्ने खबर समेत आएको थियो ।
झनै लोकप्रिय बन्दै टिकटक
हालैका वर्षहरुमा टिकटक निकै नै लोकप्रिय बनिरहेको छ र टिकटकका अधिकांस प्रयोगकर्ता बीस वर्षभन्दा कम उमेरका छन् ।
यो एपमा प्रयोगकर्ताहरुले पन्ध्र सेकेण्डको आफ्नो अभिनययुक्त छोटो भिडियो शेयर गर्न सक्दछन् । जसमा प्रायः लोकप्रिय गीत वा कुनै लोकप्रिय दृश्यका सम्वादहरुमा लिप-सिंक गरिन्छ । टिकटकमा राखिएको भिडियो आफ्नो साथीले मात्र नभई जो कोहीले देख्न सक्ने हुनाले पनि यसबाट कैयन् प्रयोगकर्ताहरुले एकाएक लोकप्रियता हासिल गर्ने ग्रेका छन् ।
एक तथ्यांक अनुसार भारत र अमेरिकामा मात्रै हरेक महिना करीब ८० करोड मानिसले टिकटक एपको प्रयोग गर्ने गरेका छन् । यद्यपि भारतमा गत महिनादेखि टिकटक सहितका दर्जनौँ चिनिया एप प्रतिबन्धित छन् ।
टिकटकसँग किन असन्तुष्ट छन् डोनाल्ड ट्रम्प ?
हालै चीनसँगको सीमा विवादसँगै भारतले टिकटकमाथि प्रतिबन्ध लगायो । अमेरिकाले चाहीँ भारतसँगको व्यापार युद्ध चर्किँदै जाँदा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको एक र्यालीमा टिकटककै कारण कम सहभागी उपस्थित भएको घटनाले समेत ट्रम्पलाई झस्काएको छ ।
उक्त र्यालीका लागि मानिसहरुले टिकट लिने इच्छा त व्यक्त गरे तर उनीहरु र्यालीमा गएनन् । जसका कारण र्याली खासै सफल हुन सकेन ।
डोनाल्ड ट्रम्पले टिकटक तथा ट्वीटर जस्ता सोसल मिडिया एपहरुले वामपन्थी विचारलाई सहयोग गरिरहेको र आफुहरुप्रति पूर्वाग्रही रहेको आरोप लगाउने गरेका छन् ।
हुनत टिकटकमा रिपब्लिकन पार्टीका समर्थक अर्थात् कन्जरभेटिभ विचारधारका मानिसहरु पनि नभएका होइनन् । तर टिकटकको प्रयोगकर्ताहरुमा अधिकांस युवाहरु छन्, जो वामपन्थी विचारधारासँग नजिक छन् । सोही तथ्यका कारण ट्रम्प टिकटकप्रति नकारात्मक छन् ।
टिकटकप्रति अमेरिकामा किन शंका ?
अमेरिकी अधिकारी तथा नेताहरु टिकटकका माध्यमबाट चिनिया कम्पनी बाइट डान्सले अमेरिकी प्रयोगकर्ताका जति डाटाहरु संकलन गरेको छ त्यो चीन सरकारको हात पर्नसक्ने सम्भावनाप्रति चिन्तित छन् ।
बाइटडान्स कम्पनीले चीनका लागि लक्षित गर्दै टिकटकजस्तै एउटा छुट्टै एप बनाएको छ, जसको नाम डोयिन हो ।
टिकटकका अनुसार अमेरिकी प्रयोगकर्ताका डाटाहरु अमेरिकामै रहेको सर्भरमा सुरक्षित राखिएको छ । यद्यपि उक्त सर्भरको एउटा व्याकअप सिंगापुरमा पनि रहेको छ ।
प्रयोगकर्ताका डाटा सुरक्षाको विषयमा प्रश्न उठेसँगै टिकटकको गत हप्ता आफ्ना प्रयोगकर्ता तथा नियामकहरुसँग अपिल गर्दै उच्चस्तरको पारदर्शिताका लागि आफु प्रतिबद्ध रहेको र आफ्नो अल्गोरिदमको समीक्षाका लागि समेत अनुभति दिइने बताएको छ ।
कम्पनीका मुख्य कार्यकारी अधिकृत केभिन मेयेरले भनेका छन्, ‘हामी राजनीतिको हिस्सा होइनौँ । हामी राजनीतिक विज्ञापन स्विकार गर्दैनौँ र हाम्रो कुनै एजेण्डा पनि छैन ।
हाम्रो एकमात्र उद्धेश्य एक जिवन्त तथा गतिशील मञ्च बन्नु हो जसबाट मानिसहरुलाई मनोरञ्जन प्राप्त होस् । टिकटक अहिले सबैभन्दा ठूलो निसाना बनेको छ तर म भन्न चाहन्छु कि हामी दुश्मन होइनौँ ।’
बीबीसी