दक्षिण कोरियामा चार महिना यताकै बढी संक्रमित, चर्चमा उच्च स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध
- by siddhartha@post
- 3 years ago
- 0 comments

सोल
दक्षिण कोरियामा शुक्रबार विगत ४ महिना यताकै बढी संक्रमित फेला परेका छन् ।
सरकारले सामाजिक दुरी कायम गर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै चर्चमा बढाइएका गतिविधिका कारण संक्रमण फैलिएको समाचारमा बताइएको छ ।
शुक्रवार दक्षिण कोरियामा १०८ जना कोरोना संक्रमितहरु फेला परेका छन् । ति मध्ये ८८ जना स्थानिय संक्रमित रहेको कोरियाली रोग तथा प्रकोप नियन्त्रण केन्द्रले जनाएको छ ।
यस सँगै दक्षिण कोरियामा कोरोना संक्रमितहरुको संख्या १४,८७३ पुगेको छ । संक्रमण बढेसँगै सरकारले राजधानी सोल लगायतका संक्रमित बढेका क्षेत्रमा दोश्रो तहको सुरक्षात्मक ब्यवस्था लागु गरेको छ ।
उक्त व्यवस्था अनुसार ५० जना भन्दा बढी व्यक्ति घरायसी प्रयोजनका लागि भेला हुन पाउने छैनन् भने सामाजिक प्रयोजनका लागि १०० भन्दा बढी भेला हुन पाउने छैनन् ।
हाल राजधानी सोल सहित जियोङ्जी , बुसान लगायतका क्षेत्रमा संक्रमितहरुको संख्या बढ्दै गएका कारण सरकारले ति क्षेत्रमा स्वास्थ्य सुरक्षाका उपायहरु कडाईका साथ लागु गरेको केन्द्रले जनाएको छ ।
केन्द्रले दिएको जानकारी अनुसार शुक्रवार पाइएका संक्रमितहरु मध्ये ६० भन्दा बढी चर्च सँग सम्बन्धित भएका कारण सरकारले चर्चसँग सम्बन्धित गतिविधिलाई नियमन गर्न स्थानिय सरकारलाई अनुरोध समेत गरेको छ।