समाचार

भदौ १६ देखि नियमित उडान, यी प्रावधान पुरा गर्नेले मात्र नेपाल जान पाउने

काठमाण्डौं

सरकारले भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सेप्टेम्बर १ देखि नियमित तथा चार्टर्ड उडानबाट विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेको हो ।

सरकारले गरेका निर्णयहरुको बारेमा जानकारी दिंदै सरकारका प्रवक्ता डा युवराज खतिवडाले उडान तालिका र त्यसको अनुमति संस्कृति पर्यटन नागरिक उड्डयन मन्त्रालयले दिने जानकारी दिए ।

अहिलेसम्म विदेशका सबै ठाउँमा चार्टर्ड उडानबाटमात्र उद्धार हुँदै आएको थियो । सरकारले भदौ १६ देखि नियमित उडान खुला गर्ने निर्णय गरे पनि सबैतिर लागू हुने छैन । सरकारले नियमित उडानबाट आरडिटी – पिसिआर परीक्षण नगरेका यात्रुहरु आउन पाउने छैनन् ।

परीक्षणको नतिजा नेगेटिभ भएकाहरु मात्र त्यस्तो उडानबाट नेपाल फर्किन पाउने खतिवडाले जानकारी दिए । ‘ हामी एउटै जहाजभित्र संक्रमित र स्वस्थ मान्छेलाई सँगै ल्याउन सक्दैनौं । त्यसले जोखिम बढाउँछ , ‘ उनले भने । सरकारको यो निर्णयसँगै कोरोना परीक्षणको सहज व्यवस्था भएका देशहरुमा मात्र यस्तो उडान सम्भव हुने छ । सरकारले कुन कुन देशबाट नियमित उडान हुनसक्छ भनेर अनुमान गरेको छ ।

मलेसिया , यू.ए.इ. , दक्षिण कोरिया , थाइल्याण्ड , जापान , चीन , हङकङ , अष्ट्रेलिया , अमेरिका , क्यानडा र युरोपेली मुलुकबाटमात्र नियमित उडान हुनसक्ने छ । सामन्यतया भदौ १६ देखि यी देशहरुमा मात्र नियमित उडान सुरु हुने छ । यसरी नियमित उडान गर्ने एयरलाइन्सले अनुमति लिनका लागि थप प्रक्रिया पुरा गर्नुपर्ने छ ।

त्यस्तो एयरलाइन्सले ल्याउने यात्रु सबैले उडान अघिको ७२ घण्टाभित्र आरडिटी – पिसिआर नेगेटिभ भएको प्रमापणत्र हुनुपर्छ । त्यस्तै सिसिएमसीको वेबसाइटमा नेपाल आउनेले भर्नुपर्ने फारम भरी त्यसको बारकोड वा प्रिन्टेड कपी र सात दिन होटल क्वारेन्टिनमा बस्नेगरी बुकिङको प्रमाणसहित नेपाल नागरिक उड्डयन प्राधिकरणमा पेस गर्नुपर्ने छ ।

त्यति भएपछमामत्र सरकारले नियमित उडान अनुमति दिने परीक्षण रिपोर्ट नेगेटिभ प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि होटल क्वारेन्टिन बसिराख्नुपर्ने बाध्यता हुने छैन । कम्तीमा १४ दिन होम क्वारेन्टिन बस्नेगरी जान दिइने छ । वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा बाहेक आएका यात्रुहरुको होटल क्वारेन्टिन बस्ने खर्च पनि एयरलाइन्स आफैले टिकटबाट काट्नुपर्ने छ ।

त्यस्तो होटललाई एयरलाइन्सले नै भुक्तानी गर्नुपर्ने छ । नियमित उडानमा आरडिटी – पिसिआर परीक्षण नगराएका , होटल बुकिङ्ग नगरेका वा अन्य शर्त पूरा नगरेका कुनै यात्रुहरू लिएर आएको वा अन्य कुनै अनियमितता गरेको पाइएमा सम्बन्धित वायुसेवा कम्पनीलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रचलित कानूनबमोजिम कारबाही गर्ने सरकारले निर्णय गरेको छ । नियमित उडान लिइनका एयरलाइन्सहरु इच्छुक हुनसक्ने अर्को कारण पनि छ ।

सरकारले उडान खुला गरेपनि यात्रु ल्याउन भने सरकारले अनुमति दिएकाहरुलाई मात्र पाउने छन् । सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू , संयुक्त राष्ट्र संघ , विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान गर्नदिने सरकारले निर्णय गरेको छ ।

परीक्षण सहज नभएका मुलुकहरु जस्तै साउदी अरव , कुवेत , कतार वा अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गरिने भएको छ । सरकारले विदेशमा बेखर्ची भएका श्रमिकका लागि कल्याणकारी कोषको रकमबाट उद्धार गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

सरकारले बनाएको कार्यविधिअनुसार दुतावासको सिफारिसमा आउने त्यस्ता नेपाली नागरिकका लागि भने सरकारले उपत्यकामा बन्ने एकीकृत क्वारेन्टिनमा राखिने छ । उनीहरुले त्यहाँ बस्दा भएको खर्च कल्याणकारी कोषको रकमबाट खर्च हुने छ । एउटै उडानमा पिसिआर नेगेटिभ र परीक्षण नै नभएकाहरुलाई मिसाएर ल्याउन पाइने छैन । यदी ल्याएमा सबै यात्रु होटल क्वारेन्टिनमा बस्नु पर्ने र होटल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एअरलाइन्सले नै व्यहोर्नु पर्ने छ ।

उद्धार उडानबाट पिसिआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका व्यक्तिहरू आफ्नै खर्चमा कम्तीमा सात दिन संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड -१ ९ सङ्कट व्यवस्थापन केन्द्रबाट सूचीकृत होटलमा अनिवार्य रूपमा क्वारेन्टिनमा बस्नुपर्नेछ यसरी आएका व्यक्तिहरूलाई क्वारेन्टिनमा बसेको ५ दिनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउने छ । नेगेटिभ आएमा थप सात दिन होम क्वारेन्टिन बस्ने गरी जान दिइने छ ।

Author Since: Dec 06, 2019

Related Post