विदेशी विद्यार्थीको लागि प्रवेश छिटै खुकुलो बनाउँदै जापान
- by siddhartha@post
- 3 years ago
- 0 comments

टोकियो
जापानले आगामी केही हप्ता भित्रै विदेशी विद्यार्थीहरूको लागि जापान प्रवेश खुकुलो बनाउने भएको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले सीमा बन्द गरेको थियो । तर स्रोतहरूको भनाई उद्धृत गर्दै आसाही शिम्भुनले शनिवार समाचार छापेको हो ।
प्रतिबन्धका कारण सीमापार नै अड्किएर बस्न बाध्य भएका गैर–जापानी बासिन्दाका लागि पनि सेप्टेम्बरदेखि प्रवेश खुकुलो हुने भएको छ । निश्चित खालका अवस्था पूरा गर्ने विदेशी विद्यार्थी लाई छिटोमा अगष्टको अन्त्यदेखि जापान प्रवेश गर्न दिइने निर्णय सरकारी अधिकारीहरुले गरेका छन् ।
प्रवेशको अनुमति पाउनेमा जापान सरकारबाट छात्रवृत्ति पाएर जापान पढ्न आएका विद्यार्थीहरू पहिलो हुनेछन् । आवासीय हैसियत भएका विदेशी नागरिकहरूलाई पनि सेप्टेम्बरदेखि जापान पुनः प्रवेशको अनुमति दिइने सरकारी स्रोतको भनाइ छ ।
जापानले १६ देश र क्षेत्रसँग व्यवसायिक यात्रीका लागि प्रवेश खुकुलो बनाउने सहमति गरिसकेको छ । विद्यार्थीलाई प्रवेश गर्न दिइने अनुमति महामारीको अवस्थामा सीमा खुलाउने सरकारी प्रयासको दोस्रो चरण हुनेछ । छात्रवृत्ति नभएका वा जापान सरकारबाट अन्य खालको वित्तीय सहायता पाइरहेका विद्यार्थीहरू माथिको यात्रा प्रतिबन्ध फुकाउने विषयमा पनि यस्तै खालको निर्णय बाँकी नै छ ।
जापानमा अधिकांश विदेशी विद्यार्थीहरू बसन्त वा पतझड्को मौसममा आउँछन् । यी दुई मौसममा जापानी विद्यालयको क्यालेन्डर शुरु हुन्छ । शिक्षा मन्त्रालयका अनुसार जापानमा सन् २०१८ मा पतझडमा करीब ३५ हजार विदेशी विद्यार्थी आएका थिए । सन् २०१९ को बसन्तमा भने यसरी आउनेको संख्या ५४ हजार भएको बताइएको छ ।
महामारीका कारण सरकारले यस वर्षको अप्रिलमा यात्रामा प्रतिबन्ध लगाइएका देश तथा क्षेत्रका सूचि विस्तार गरेको थियो । जसले गर्दा त्यसयता केही नयाँ विद्यार्थीहरू मात्रै जापान आउन सकेका छन् ।