कोरिया खबर

राजनैतिक बन्दिहरुलाई रिहा गर्न उत्तर कोरियालाई संयुक्त राष्ट्रसंघको घ्यानाकर्षण

सोल

उत्तर कोरियाका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधिले राजनैतिक बन्दि बनाइएका नागरिकलाई निशर्त रिहा गर्न ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो पटक भेनेजुएलाले आफ्ना जेलहरुमा रहेका राजनैतिक बन्दिहरुलाई रिहा गरे लगत्तै उनले सो धारणा राखेका हुन् ।

संयुक्त राष्ट्रसंघका उत्तर कोरिया प्रतिनिधि थोमस ओएजा क्विन्टानाले आफ्नो ट्वीटर मार्फत भेनेजुएलाले पछिल्लो पटक रिहा गरेका १०० राजनैतिक बन्दिहरु सम्बन्धि ट्वीटलाई उनले रिट्वीट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाले पनि भेनेजुएलाले जस्तै राजनितिक बन्दिहरुलाई रिहा गर्नु पर्छ भन्दै उनले बृद्ध , बिरामी , अशक्त , केटाकेटी तथा गर्भावतिहरुलाई पहिलो प्राथमिकतामा राख्दै रिहा गर्नु पर्नेमा जोड दिएका छन् ।

यता उत्तर कोरियाले भने आफ्नो देशमा मानव अधिकार उल्लङ्घनका घटनाहरु नभएका तथा संयुक्त राष्ट्रसंघले भने जस्तो राजनैतिक बन्दि नभएको र उनीहरुलाई राख्ने क्याम्प पनि नभएको बताएको छ ।

संयुक्त राष्ट्रसंघले भने ८० हजार देखि १ लाख २० हजार त्यस्ता बन्दि उत्तर कोरियामा रहेको तथ्याङ्क आफूसँग रहेको बताएको छ । मानव अधिकारबादी अर्को अन्तराष्ट्रिय संगठन एमनेष्टि इन्टरनेशनलले पनि उत्तर कोरियाले बन्दिहरुलाई क्रुर यातना दिने , श्रम कैद गर्ने , गाली बेज्यति गर्ने लगायतका कार्यहरु गरिरहेको आरोप लगाएको छ ।Hotpati

Author Since: Dec 06, 2019

Related Post