कोरियाली भाषा परीक्षा यो वर्ष नहुने, भिसा लागेका ९६१ युवासमेत जान पाएनन्
- by siddhartha@post
- 3 years ago
- 0 comments

गोपाल सङ्गौला
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत बर्सेनि हुँदै आएको कोरियाली भाषा परीक्षा यो वर्ष नहुने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएका कारण यो वर्षको भाषा परीक्षा नहुने भएको हो ।
रोजगार गन्तव्य कोरियामा कोरोना संक्रमण घट्दो दरमा रहे पनि स्रोत मुलुक नेपालमा भने संक्रमण बढ्दै गएको कारण देखाउदै भाषा परीक्षा नहुने निर्णय भएको हो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार सन् २०२० का लागि लिइने भाषा परीक्षा नहुने कोरियाली पक्षले अनौपचारिक जानकारी दिएको छ । साधारणतया विगतमा वैशाख र जेठ महिनामा भाषा परीक्षा हुने भए पनि त्यसको तयारी भने ४ महिना अगाडिदेखि नै गरिँदै आएको छ ।
कोरियाली पक्षले यो वर्षको भाषा परीक्षा नहुने भएपछि तयारी समेत गरेको छैन । शाखाका निर्देशक इन्द्र गौतमले कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले प्राविधिक हिसाबले यो वर्ष भाषा परीक्षा हुने सम्भावना नरहेको अनौपचारिक जानकारी दिएको बताए ।
“कोरियाली पक्षले सन् २०२१ को परीक्षा भने कसरी गर्ने भन्ने बारेमा मात्र तयारी गरेको बुझिन्छ, यसलाई आधार मान्ने हो भने पनि यो वर्ष भाषा परीक्षा हुँदैन,” निर्देशक गौतमले भने, “उडान र अन्य विषयमा नै अन्योल रहेका बेला भाषा परीक्षा हुने देखिँदैन ।” भाषा परीक्षा नगर्ने बारेमा कोरियाले आधिकारिक जानकारी भने दिएको छैन । सन् २००८ देखि सुरु भएको ईपीएस भाषा परीक्षा यसअघि सन् २०१२ मा पनि भएको थिएन ।
कोरियामा कोरोना संक्रमण नियन्त्रण उन्मुख भएपनि नेपालमा भने बढ्दै गइरहेको छ । यस्तो बेला हजारौं मानिस जम्मा गरेर परीक्षा सञ्चालन गर्न तत्कालका लागि सम्भव नदेखिएपछि नेपाली पक्षले पनि परीक्षा गराउनु पर्छ भनेर कुनै पहल गरेको छैन । कोरोना संकट सुरु भएयता १ हजार ७०१ युवाले कोरियाका रोजगारदातासँग श्रम सम्झौता गरे पनि कुनै श्रमिक पनि कोरिया प्रवेश गर्न पाएका छैनन् ।
श्रम सम्झौता गरेर भिसा प्राप्त गरेका ९ सय ६१ जना समेत कोरिया जान पाएका छैनन् । ९६१ भिसा लागेका युवाको भिसा म्याद भने सकिन लागेको छ । यिनीहरूको भिसा म्याद नोभेम्बरको दोस्रो सातासम्म मात्र रहेको शाखाले जनाएको छ । ९६१ मध्ये कोरियामा काम गरेर फर्केका कमिटेड वर्कर (सर्मपित श्रमिक) ७५८ भिसा लागेर पनि कोरिया जान नपाएको शाखाले जनाएको छ ।
भिसा लागेका श्रमिकलाई कोरियाले लैजान चाहेको भए पनि दुवै देश ‘पर्ख र हेर’को स्थितिमा छन् । कोरिया जाने उडान नियमित भए पनि ईपीएसका श्रमिक पठाउने र बोलाउने बारेमा कुनै प्रक्रिया अघि बढेको छैन । रोजगारदाताले श्रम सम्झौता रद्द नगरेको अवस्थासम्म म्याद समाप्त भएका युवाको भिसा अवधि थप गर्ने एचआरडीले आश्वासन दिएको छ ।
नेपाली युवा कोरिया प्रवेश गर्ने अवस्था नभए पनि त्यहाँको सरकारले असोज १२ देखि २६ गतेसम्म कृषि क्षेत्रका श्रमिकको माग प्रक्रिया सुरु भने गर्ने भएको छ । कोरियाले रोष्टरमा रहेका विदेशी श्रमिक माग गर्न एक वर्षमा चार पटक माग प्रक्रियालाई खुला गर्ने गरेको छ । यसैगरी उत्पादनमूलक क्षेत्रमा कोरिया जान रोष्टरमा रहेका नेपाली युवाका लागि असोज २७ देखि कात्तिक ७ गतेसम्म माग प्रक्रिया खुला गर्ने जनाएको छ ।
यसरी माग प्रक्रिया अघि बढाएपछि नेपालबाट कोरिया जाने युवाको संख्या अझ बढ्ने देखिएको छ । यो माग प्रक्रिया कोरिया सरकारले रोजगारदातालाई विदेशी श्रमिक माग गर्न आवेदन दिने समय हो ।
नेपालबाट वार्षिक औषत ८ हजारको हाराहारीमा नेपाली युवा कोरिया जाने भए पनि यो वर्षको ९ महिनामा १ हजार २७ नेपाली मात्र रोजगारीका लागि कोरिया गएको शाखाले जनाएको छ । सन् २०१९ मा ७ हजार १३६ नेपाली रोजगारीका लागि कोरिया गएका थिए । हालसम्म ४ हजार २० महिला र ६२ हजार ८५२ पुरुषसहित ६६ हजार ८७२ नेपाली रोजगारीका लागि कोरिया गइसकेका छन् ।कारोबारबाट