समाचार

एप्पलको कीर्तिमान, आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघ्यो

विश्वको सबैभन्दा मूल्यवान कम्पनी एप्पलले आइफोन बिक्रीको आँकडामा नयाँ कोशेढुङ्गा पार गरेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वमा आइफोन प्रयोगकर्ताको संख्या १ अर्ब नाघेको छ । योसँगै विश्वमा हरेक ७ जनामध्ये एकजनाले आइफोन चलाउँदछन् ।

यद्यपि प्रिमियम अर्थात महँगो फोनको रुपमा रहेको आइफोनका प्रयोगकर्ताको संख्या विश्वभर समान भने छैन । विकसित देशहरुमा आइफोन प्रयोगकर्ताको संख्या उच्च छ भने अति कम विकसित तथा विकासशील देशहरुमा आइफोन प्रयोगकर्ता कम छन् ।

भौगोलिक क्षेत्र अन्तर्गत युरोप र अमेरिकामा आइफोन प्रयोगकर्ताको संख्या अत्यधिक छ भने एसियाका विकसित तथा विकासशीललगायतका सबैजसो देशमा आइफोनको तुलनामा अन्य स्मार्टफोन प्रयोगकर्ता धेरै छन् । यद्यपि पछिल्लो दुई वर्षयता एसियाली विकसित तथा विकासशील देशहरुमा समेत आइफोन प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

Neil Cybart नामक एक प्रविधि विश्लेषकका अनुसार गत महिना अर्थात् आइफोन १२ सिरिज लञ्च हुनु अगाडि नै विश्वमा आइफोन प्रयोगकर्ताको संख्याले १ अर्बको सीमा पार गरेको हो । यसबाट उच्च मूल्यका बाबजुत पनि प्रयोगकर्तामा आइफोनप्रति ठूलो आकर्षण रहेको देखिन्छ ।

स्मरणरहोस्: आइफोनले दुई वर्ष अगाडिबाटै आइफोन बिक्रीमा भएको उतारचढाव तथा बिक्रीका मामिलामा भएका कीर्तिमानका विषय सार्वजनिक गर्न बन्द गरेको छ । तथापि एप्पल निकट सुत्रहरुलाई उधृत गर्दै विश्लेषकहरुले आइफोनको बिक्रीले १ अर्बको कोशेढुंगा पार गरेको खुलासा गरेका हुन् ।

एप्पलले सन् २००८ मा पहिलोपटक आइफोन बजारमा ल्याएको थियो । एप्पलको पहिलो आइफोन सुरुकै वर्षमा एक करोड १० लाख गोटा बिक्री भएको थियो । त्यसपछि एप्पलले पछाडि फर्किनु परेन । सन् २००९ सम्म दुई करोड ८० लाख, सन् २०१० सम्म ६ करोड तथा सन् २०११ सम्म ११ करोड ६० लाख गोटा आइफोन बिक्री भए ।

त्यस्तै सन् २०१२ सम्म २० करोड ६० लाख आइफोन बेच्न सफल भएको एप्पलले सन् २०१४ सम्म ४४ करोड २० लाख थान आइफोन बेचेको थियो ।सन् २०१५ सम्ममा ५६ करोड ९० लाख गोटा, २०१६ सम्ममा ७१ करोड, २०१७ सम्म ८१ करोड ४० लाख र सन् २०१८ सम्म ८८ करोड ८० लाखवटा आइफोन बिक्री भए ।

अघिल्लो वर्ष सन् २०१९ को अन्तसम्ममा एप्पलले ९४ करोड ८० लाख वटा आइफोन बिक्री गरेको थियो । यो वर्ष सन् २०२० समाप्त नहुँदै अघिल्लो महिना सेप्टेम्बरमै आइफोन बिक्रीको संख्याले १ अर्बको कीर्तिमान कायम गर्न सफल भएको हो ।

एजेन्सीको सहयोगमा

Author Since: Dec 06, 2019

Related Post