कोरिया खबर

कोरियामा कसले कहिले भ्याक्सिन पाउँछ?के विदेशीले निशुल्क भ्याक्सिन लगाउन पाउँछन त? (पुरा पढनुहोस)

सिओल

दक्षिण कोरियामा यहि फेब्रुअरी २६ तारिखबाट कोरोना बिरुध्दको खोप अभियान सुरु हुँदैछ। खोप अभियान सुरु हुने मिति नजिकिँदै गर्दा अहिले अधिकाँसको ध्यान कसले सुरुमा खोप लगाउन पाउँछ? आफ्नो पालो कहिले आउला? भन्ने कुरामा छ।

सेप्टेम्बर महिनासम्म कोरियाको जनसंख्याको करिब ७० प्रतिशत अर्थात करिब करिब ३ करोड ६० लाखलाई कोरोना भाइरस बिरुध्दको खोप लगाइसक्ने महत्वाकांक्षी लक्ष्य सरकारले राखेको छ। नोभेम्बरसम्म अधिकांसमा कोरोना बिरुध्द प्रतिरक्षात्मक क्षमता विकास गरिसक्ने गरि तयारी थालिएको छ। खोप अभियानलाई कोरिया सरकाले ४ चरणमा बाँडेको छ। प्राथमिकताका आधारमा कसलाई कहिले खोप लगाउने भनि यो ४ चरण बनाइएको छ।

प्रश्न. कसले कोरियामा पहिला कोरोना बिरुध्दको खोप पाउँछ?

नर्सिङ होममा रहेका बिरामी, त्यहाँका मेडिकल स्टाफहरु, केयरगिभरहरु जसको उमेर ६५ बर्षभन्दा कम रहेको छ उनिहरुले पहिलो चरणमा एस्ट्राजेनेका कम्पनीले उत्पादन गरेको कोरोना खोप पाउनेछन्। कोरियामा उनिहरुको संख्या करिब २ लाख ७२ हजार जति रहेको बताइएको छ। उनिहरुलाई पहिलो लटमा आउने खोप फेब्रुअरी २६ बाट लगाइनेछ। ६५ बर्षभन्दा माथिका नागरिकहरुलाई यो पहिलो चरणको खोप नलाइने भएको छ। केहि समय पहिला एस्ट्राजेनेका खोप ६५ बर्षमाथिकामा प्रभावकारिता हुने नहुने भन्ने कुरामा पर्याप्त डाटा नआइसकेको हुँदा उनिहरुलाइ यो खोप तत्कालका लागि नलगाइने भएको हो।

मार्च ८ तारिखबाट उच्च जोखिममा रहेका मेडिकल फिल्डका मानिसहरुलाई यो खोप लगाइनेछ। विभिन्न मेडिकल सम्बन्धि संस्थाहरुमा काम गर्ने करिब ३ लाख ५४ हजार जनाले मार्चको ८ तारिखबाट कोरोना खोप पाउनेछन्। यो चरणपछि फ्रन्ट लाइनमा बसेर कोरोना रोग बिरुध्दको अभियानमा खटिने करिब ७८ हजार जनाले मार्चको २२ बाट कोरोना बिरुध्दको खोप पाउनेछन्। यसमा आकस्मिक सेवाका क्षेत्रमा काम गर्ने कर्मचारीहरु पर्दछन्।

मार्च महिनाको अन्त्यतिर लगभग ५५ हजारको संख्यामा रहेका कोरोना भाइरसको उपचार गर्ने ठाउँमा खटिनेहरुले फिजर कम्पनीले उत्पादन गरेको कोरोना खोप लगाउन पाउने भएका छन्।

प्रश्न. दोश्रो चरणमा क कसले खोप पाउलान?

कोरियामा कोरोना खोप अभियानको दोश्रो चरणमा ६५ बर्ष माथिका बृध्द बृध्दाहरु पर्नेछन्। कोरियाका बिभिन्न स्थानमा रहेका नर्सिङ होमहरुमा उनिहरुको संख्या करिब करिब ३ लाख ७० हजार जति छ। दोश्रो चरणको सुरुवातमा उनिहरुले खोप लगाउन पाउनेछन्।

यसका अतिरिक्त विभिन्न अस्पताल तथा खोप केन्द्रमा काम गर्ने स्वास्थ कर्मचारीहरु जसले पहिलो चरणमा खोप लगाउनबाट छुटे उनिहरूले पनि दोश्रो चरणमा खोप पाउनेछन्। त्यसैगरी केयर गिभर तथा बिरामीहरु जो अशक्त र घरबारविहिन छन उनिहरुले यो चरणमा खोप पाउनेछन्।

खोप अभियानको तेश्रो चरणमा कोरियाको ठूलो जनसंख्याले खोप पाउनेछन्। १८ बर्ष पूरा भएका र ६४ बर्षसम्मका सबैले यो चरणमा पुगेर कोरोना बिरुध्दको खोप पाउनेछन्। त्यसैगरी सामाजिक सेवा तथा राष्ट्र सेवामा खटिएका शैनिक, प्रहरी, सरकारी कर्मचारीहरु, शैक्षिक संस्थामा काम गर्ने कर्मचारीहरु लगायतले यसै चरणमा खोप पाउनेछन्।

सेप्टेम्बर सम्म खोप नपाएका र पुन खोप लगाउनुपर्ने अवस्था आएका हरुले चौथो चरणमा खोप पाउनेछन्। १८ बर्षभन्दा कम उमेरका बालबालिका र गर्भवती महिलाहरु भने खोपबाट अहिलेका लागि बन्चित हुनेछन्। बालबालिका र गर्भवतिहरुमा खोपको असर र प्रभावकारिता सम्बन्धमा पर्याप्त डाटा नआइसकेकाले उनिहरुलाई खोप अभियानमा सामेल नगरिएको हो। पर्याप्त डाटा आएमा उनिहरुका लागि पनि छुट्टै अभियान चलाइने भएको छ।

प्रश्न. कुन खोपको कति डोज लगाउनुपर्ला?

खोप बनाउने कम्पनीका आधारमा कुन खोप कति डोज लगाउने भन्ने कुरा फरक फरक छ। एस्ट्राजेनेका र मोडर्ना कम्पनीले विकास गरेको कोरोना खोप २ पटक लगाउनु पर्दछ। पहिलो डोज लगाएको २८ दिनपछि दोश्रो डोज लगाउनुपर्ने हुन्छ। फिजर र नोभाभाक्स कम्पनीले विकास गरेको खोप पनि २ पटक नै लगाउनुपर्ने हुन्छ। तर यि कम्पनीको दोश्रो डोज पहिलो लगाएको २१ दिनपछि लगाउनुपर्छ। जोनसन एण्ड जोनसन कम्पनीले बिकास गरेको कोरोना खोप भने १ पटक लगाए पुग्छ।

प्रश्न. कोरियाले कति डोज खोप किनिसकेको छ?

दक्षिण कोरियाले अहिलेसम्म १५ करोड २० लाख डोजको व्यवस्था गरिसकेको छ। यसले करिब ८ करोड जनसंख्यालाई खोप लगाउन पुग्छ। यो डोज कोरियको जनसंख्याको करिब डेढ गुणा बढि हो। यि सबै खोपहरु यो बर्षको पहिलो र चौथो क्वाटरभित्र कोरिया प्रवेश गरिसक्नेछन्।

कोरियाले करिब २ करोडलाई पुग्ने खोप मोडर्ना र एस्ट्राजेनेका कम्पनीबाट अर्डर गरि सुरक्षित गरिसकेको छ। फिजर कम्पनीको खोपले करिब १ करोड ३० लाख जनसंख्यालाई पुग्दछ। जोनसोन एण्ड जोनसोन कम्पनीको खोपले करिब ६० लाख जनालाई पुग्नेछ। कोरियाले केहि दिन अघिमात्र नोभाभ्याक्स कम्पनीसँग २ करोडलाई पुग्ने खोपका लागि सम्झौता गरिसकेको छ। करिब १ करोडलाई पुग्ने खोप कोरियाले कोभ्याक्कस मार्फत पाउनेछ।

प्रश्न. के आफूले चाहेको कम्पनीको भ्याक्सिन लगाउन पाइन्छ?

आफूले चाहेको कम्पनीको खोप लगाउन पाइन्न। अर्थात खोप छनौट गर्न पाइन्न। खोपहरुको बारेमा कन्फुजन नहोस भनेर सरकारले जुन खोप दिन्छ त्यहि नै लगाउनुपर्नेछ। कुन खोप कहिले कति मात्रामा आउँछ भन्ने कुरा अहिले नै यकिन गर्न गाह्रो हुने हुँदा खोप छानेर लगाउन नपाइने भएको हो।

प्रश्न. खोप अभियान कुन कुन ठाउँमा हुनेछ?

सरकारले मोडर्ना र फिजर कम्पनीको खोप लगाउनका लागि देशभरी करिब २५० वटा खोप केन्द्र बनाउदै छ। यि कम्पनीका खोप भण्डारण गर्ने एकदमै धेरै कम तापक्रम करिब माइनस ७० डिग्री आवश्यक पर्ने हुँदा व्यवस्थापनमा अलिकति कठिनाई हुने देखिन्छ। यि खोपकेन्द्रहरु स्थानिय सरकारहरुसँगको समन्वमा स्थापना गरिनेछ।

एस्ट्राजेनेका, नोभाभ्याक्स र जोनसन एण्ड जोनसन कम्पनीका खोपहरुका लागि भने देशभरका करिब १० हजार वटा मेडिकल संस्थाहरु छानिनेछ। यि कम्पनीका खोपहरु भण्डारण गर्न धेरै प्रावधिक कठिनाइ नहुने हुँदा धेरै वटा खोपकेन्द्रबाट यि खोप लगाइनेछ। त्यसैगरि बृध्दबृध्दाहरु भने खोप सेन्टरमा जानुपर्ने छैन। बूढाबूढि उमेर भएका र वाहिर निस्कन नमिल्ने भएका बिरामीहरुलाई उनिहरु भएकै स्थानमा खोप लगाइने ब्यवस्था मिलाइनेछ।

प्रश्न. के बिदेशीले सित्तैमा खोप पाउनेछन्?

कोरियाको राष्ट्रिय स्वास्थ बीमा (National Health Insurance Service) मा आवध्द भएका सबै विदेशी नागरिकले कोरोना खोप निशुल्क पाउनेछन्। बिदेशीहरुले पनि कोरियन नागरिक सरह नै प्राथमिकताका आधारमा खोप पाउनेछन्। उनिहरुलाई कुनै भेदभाव गरिएको छैन।

तर अबैधानिक विदेशीहरुलाई भने कोरिया सरकारले खोप लगाउन आवश्यक देखेको खण्डमा मात्र खोप दिइनेछ। उनिहरुले कोरियाको स्वास्थ अवस्थामा पार्न सक्ने असर, कोरोना भाइरस फैलन सक्ने अवस्था आदि कुराहरु विचार गरि उनिहरुलाई खोप लगाउने नलगाउने कुराको निर्क्योल निकालिने छ।

प्रश्न. खोपका लागि कसरी रजिष्टर गर्ने?

खोप अभियानको क्षेत्रमा पर्ने अथवा खोप लगाउनुपर्नेहरुलाई कोरियाको स्वास्थ्य मन्त्रालय वा कार्यालयहरुबाट पालो आउनुपूर्व नै सूचना दिइनेछ। त्यसैगरी सरकारले अनलाईन रिजर्भेसन गर्न मिल्ने गरि कोरोना भ्याकसिन सम्बन्धि वेवसाईटhttp://ncv.kdca.go.kr/बनाउदैछ। यसका अलावा १३३९ हटलाईनमा कल गरि पनि भ्याक्सिनका लागि बुझ्न सकिन्छ।ईपिएस साथीबाट साभार

Author Since: Dec 06, 2019

Related Post