
फुकुओका
फुकुओका प्रिफेक्चरल प्रहरीले गस्तीमा प्रयोग गरिने एउटा कार चोरेको आशंकामा एक ५१ वर्षिय पुरुषलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार अक्टोबर १४ मा सो घटना भएको भन्दै क्योदो न्यूजले समाचार छापेको छ ।
यामागुची प्रिफेक्चरका काजुनारी आमिमोतो फुकुओका प्रिफेक्चरको मियामामा क्युशु एक्सप्रेसवेमा आफ्नो भ्यान चलाएर जाँदै थिए । बिहान ४ बजेतिर उनको भ्यानमा पेट्रोल सकियो ।आमिमोतो आफ्नो भ्यानबाट ओर्लिए अनि हिड्न थाले ।
एक जना पुरुष एक्सप्रेस वेमा हिडिरहेका छन् भन्दै मोटरसाइकल सवारले ११० मा फोन गरे । कुमामोतो प्रिफेक्चरको गस्ती कारले उनलाई रोक्यो अनि अधिकारीहरुले उनलाई कारको पछाडिपटिको सिटमा कुर्न भने ।
दुई अधिकारीहरुले स्टार्ट बन्द नै नगरेको अनि रातो लाइट घुमिरहेकै अवस्थामा कारमा आमिमोतोलाई एक्लै छाडे । बाटोमा जम्मा भएका ट्राफिकलाई हटाउन लागे । आमिमोतो पछाडिको सिटबाट बाहिर आएर चालकको सिटमा बसे अनि कार लिएर भागे ।
करीब २० किमि गुडाएपछि कुमामोतोको किता वडामा प्रहरीको कारले उनलाई रोक्यो । यस घटनामा कसैलाई पनि क्षति नपुगेको बताइएको छ । आफूलाई घर जाने इच्छा भएकोले प्रहरीको गस्ती कार नै लिएर हिडेको आमिमोतोले बताएको प्रहरीले भनेको छ ।