कोरियाका मजदूरबाट करोडौं उठाएको सानो मिल्ति हाइड्रोमा हिनामिना, मजदूरको पसिना पानीमा मिल्यो
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
सञ्चालकहरु बीचको विवादले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ मा निर्माण हुन लागेको ३ मेघावाटको सानो मिल्ती होइड्रोपावर अलपत्र परेको छ । २०७० साल कार्तिक ७ गते विद्युत विकास विभागबाट सानो मिल्ती हाइड्रोपावर प्रा.लि.द्धारा ३ मेघावाट विद्युत उत्पादन गर्ने अनुमति लिएर काम सुरु भएको थियो । सञ्चालकहरुकै बीचमा आर्थिक हिनामिनाको विषयलाई लिएर भएको विवादको कारण २०७४ सालको मंसिरदेखि बन्द भएको निर्माण कार्य हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन। आर्थिक हिनामिना गरेर काम समेत बन्द भएको भन्दै सञ्चालक मध्यका एक सञ्चालक तथा सानो मिल्ती हाइड्रोपावरको संस्थापक अध्यक्ष समेत रहेका रामबहादुर तामाङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका छन्।
सानो मिल्ती होइड्रोपावरको आर्थिक लेखा परीक्षणमा दक्षिण कोरियामा रोजगारी गरिरहेका ३ सय ६३ जना नेपालीको ११ करोड लगानी रहेको र सो रकम सबै खर्च भइसकेको देखिएको छ । तर, हाइड्रोपावरको काम भने २ किलोमिटर सडक ट्रयाक खोल्ने र तत्कालीन फुलासी गाविसले खनेको ५ किलोमिटर सडकको मर्मत गर्ने बाहेक अरु काम भएको छैन । सानो मिल्ती होइड्रोपावरमा लगानी गर्ने नाउमा दक्षिण कोरियामा काम गरिरहेका नेपालीबाट प्रतिब्यक्ति २ लाखदेखि १० लाखसम्म रकम असुलिएको सञ्चालक मध्यका रामबहादुर तामाङले बताए । कोरियाबाट संकलन गरिएको रकम सञ्चालक तेन्जी शेर्पा, सुरेशकुमार लिम्बु र कपिलदेव न्यौपानेको मिलेमतोमा हिनामिना गरिएको रामबहादुर तामाङको आरोप छ ।
आर्थिक हिनामिनाको विषयलाई लिएर सञ्चालकहरुकै बीचमा भएको पटक–पटकको विवादपछि काम रोकिएको थियो । आर्थिक हिनामिनाको विषयलाई लिएर २०७४ साल साउन ४ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समितिका तत्कालीन अध्यक्ष तेन्जी शेर्पालाई पदबाट हटाई सुरेश लिम्बुलाई अध्यक्ष पदमा चयन गरिएको थियो । ताप्लेजुङ्गका सुरेश लिम्बु हाल कोरियन नागरिक हुन् । (उनको कोरियाको नाम पारसाङ्ग्यू रहेको छ ।)सुरेश लिम्बुले पनि कम्पनीको हिसाब पारदर्शी गर्न नसकेपछि सञ्चालकबीच विवाद चर्किदै गयो । सञ्चालक तामाङका अनुसार कोरियामा रोजगारी गर्नेहरुबाट संकलन गरिएको रकम एसएम इन्भेष्टमेन्ट कम्पनीको नाउमा जम्मा गरेर हिनामिना गरि सानो मिल्ती होइड्रोपावरमा लगानी गरिएको छ भनि लगानी कर्ताहरुलाई झुक्याइरहेको छ ।
लगानी कर्ताहरुबाट जति संकलन भएको रकम सबै खर्च भएको देखाइएको छ तर साइडमा काम भने नभएको तामाङको भनाई छ । एसएम इन्भेष्टमेन्ट कम्पनीबाट खर्च गरेको रकम पनि लेखा परीक्षण गर्दा सानो मिल्ती होइड्रोपावरमा खर्च भएको भनि देखाइएको तामाङले बताए । एसएम इन्भेष्टमेन्टबाट खर्च भएको रकम लेखा परीक्षकले अडिट गर्न नमिल्ने बताएपछि सञ्चालकहरुले अग्रिम भुक्तानी लिइएको देखाइएको छ । शेयर कर्ताहरुबाट उठाइएको रकम हिनामिना गरेकाले लेखा परीक्षणमा आपूmले हस्ताक्षर समेत नगरेको रामबहादुर तामाङको भनाई छ। आयोजना सम्पन्न गर्न ५४ करोडको लागत स्टिमेट रहेको छ । तर ११ करोड खर्च हुँदा २ किलोमिटर सडक ट्रयाक खोल्ले मात्र काम भएको छ ।
सञ्चालकबाटै आर्थिक हिनामिना भएपछि आर्थिक वर्ष २०७१/०७२ देखि सानो मिल्ती हाइड्रोपावरको साधारणसभा समेत हुन नसेको रामबहादुर तामाङले बताए। होइड्रोपावरको निर्माण स्थलसम्म जान भनि ट्रयाक खोल्दा क्षति भएको स्थानीय प्रयोग गर्दै आएको कुलो समेत स्थानीयसँग गरिएको सहमति अनुसार मर्मत नगरिदिंदा स्थानीय समस्यामा परेका छन्। आफ्नो ठाउँमा होइड्रोपावर निर्माण भएपछि स्थानीयको लागि फाइदा हुने आशामा हाइड्रोपावर निर्माण स्थलसम्म जाने सडक निर्माण गर्न विनामुआब्जा जग्गा दिएका कृषकहरु पनि होइड्रपावर अलपत्र परेपछि निराश भएका छन्। यो समाचार हाम्रोअनलाईनन्यूज डटकममा प्रकाशित छ।