विश्व तर्साउदै उत्तर कोरिया,ध्वनिभन्दा पाँच गुणा बढी गतिमा उड्ने क्षेप्यास्त्र परीक्षण
- by siddhartha@post
- 2 years ago
- 0 comments

सिओल
उत्तर कोरियाले ध्वनिको भन्दा पाँच गुणा अर्थात् ६ हजार दुई सय किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ ।
हिजो बुधवार परीक्षण गरेको क्षेप्यास्त्रले सात सय किलोमिटर परको निसानामा सही रूपमा प्रहार गरेको उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले जनाएको छ ।
निसानामा ताक्नुअघि क्षेप्यास्त्रलाई एक सय २० किलोमिटर यताउता घुमाएको बीबीसीले जनाएको छ । यसले क्षेप्यास्त्रलाई नियन्त्रणमा राखेर निसानामा ताक्न सक्ने देखिएको छ ।
उत्तर कोरियाका शासक किम जङ–अनले सैन्य सामर्थ बढाउने प्रतिबद्धता व्यक्त गरेपछि यो पहिलो परीक्षण हो । नयाँ वर्षको सम्बोधनमा किमले कोरियाली प्रायद्वीपको अस्थिर सैनिक वातावरणका कारण आफ्नो प्रतिरक्षा क्षमता अभिवृद्धिलाई निरन्तरता दिने बताउनुभएको थियो ।
हाइपरसोनिक क्षेप्यास्त्र विकास गर्ने प्रयास गरिरहेका अमेरिका र चीनसहित थोरै देशमा उत्तर कोरिया पनि पर्छ । हाइपरसोनिक अस्त्रहरू साधरणतया ब्यालेस्टिक क्षेप्यास्त्रभन्दा कम उचाइबाट आफ्नो निसानातर्फ उड्छन् ।
उत्तर कोरियाले बेला बेला यस्ता परिक्षणहरु गरेर विश्वका शक्तिराष्टहरु तथा छिमेकी दक्षिण कोरिया,जापान अमेरिका आदिलाई तर्साइ रहेको छ ।