कोरिया खबर

कोरियाबाट फर्केर टि प्याकेजिङ्ग उधोगमा लगानी,मनग्गे आम्दानी !

सिओल

धरान-३ का राजन श्रेष्ठ, धरान-२ का नविन सैजु र धरान-७ का विश्वमोहन पलिखे पढ्दादेखिकै मिल्ने साथी थिए । सँगै हिँड्ने, सँगै सहकार्य गर्नेलगायतको कार्य पनि उनीहरुबीच हुँदै थियो ।

तर उनीहरुमध्ये नविन भने ८ वर्षअघि कोरिया हान्निए । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरिया गएका उनी ८ वर्षसम्म फर्किएनन् । राजन र विश्वमोहन भने धरानमा व्यवसायमै जमे । राजन कपडा व्यवसायमा संलग्न भए भने विश्वमोहन लाइट व्यवसायी बने । उनीहरुले पनि नेपालमै बसेर केही रकम कमाइसकेका थिए ।

उता विदेश पुगेका नविनले सधैं साथीभाइसँग सम्पर्कमा रहिरहे । उनले साथीभाइहरुसँग सरसल्लाह गरिरहन्थे । म पनि स्वदेश फर्किएपछि स्वदेशमै केही गर्ने सोंच बनाएको छु । साथीहरुबीच सरसल्लाह हुँदै गर्दा उनी ८ वर्षपछि धरान फर्किए । उनले फेरि पनि विदेश नजाने निधोमा पुगे । एक वर्षजति साथीभाइसँगको सरसल्लाहमा उनीहरु निचोडमा पुगे– चिया प्याकेजिङलगायत अन्य प्याकेजिङ उद्योग खोल्ने । उनीहरुले ‘अनुपमा प्याकेजिङ उद्योग’ सञ्चालनमा ल्याएका हुन् ।

यही अनुसार उनीहरुले धरानकै नाम राखेर खोले– ‘धरान टी’ । धरान–८ मा उनीहरुले यस्तो उद्योग सञ्चालनमा ल्याएका हुन् । उनीहरुले यही ब्राण्डमा अन्य प्रोडक्ट पनि बजारमा ल्याउन लागेको जानकारी दिए ।
‘नेपाल आएर कृषिमा लाग्ने कि, होटल व्यवसाय पो खोल्ने कि भन्नेबारे पनि छलफल चल्यो, कृषि र अन्य व्यवसायमा अनुभव, ज्ञान नभएकोले यतातिर ध्यान दिइएन’, नविनले भने, ‘योचाहिँ व्यवसाय गर्न सकिन्छ भनेर वर्षदिनसम्म अध्ययन गरियो र यसमा हात हालियो ।’ उनले ७–८ वर्ष विदेशमा पसिना बगाएको र नेपालमै केही गर्नुपर्छ र अन्यका लागि पनि रोजगारी सिर्जना गर्नुपर्छ भनेर आफूहरु लागिपरेको बताए ।

उनीहरुले उद्योग खोलेको लगभग दुई महिना भइसकेको छ । हालसम्म ४० लाख रुपैयाँ बढी लगानी भइसकेको उनले जानकारी दिए । ‘हालसम्म यति नै लगानी भयो भन्ने निस्किसकेको छैन तर पनि भवन निर्माण गर्दा, मेसिन किन्दा लगभग ४० लाख बढी लगानी भइसकेको छ’, उनले भने । उनका अनुसार उद्योग सञ्चालनमा रहेको स्थानको जग्गा पनि आफ्नै हो ।

उनीहरुले प्याकेजिङ गरेको चियाले अहिले बजार समेत लिइसकेको सञ्चालकमध्येका राजनले जानकारी दिए । ‘धरानमा चियापत्तीको ब्राण्डिङ भएको पाएनौं, धरानमै ब्राण्डिङ गर्ने सोंचले यस्तो उद्योग सञ्चालनमा ल्याइएको हो, अहिले यसको माग बढिरहेको छ साथै धराने जनताले रुचाइपनि दिनुभएको पाएका छौं, यसले हामीलाई थप उर्जा मिलेको छ ।’
उनले ब्राण्डिङ गरिएका चियापत्ती गुणस्तरीय रहेकोले पनि उपभोक्ताले रुचाइदिएको जानकारी दिए । उनले चियापत्ती प्रायः कसैले पनि उत्पादन नगर्ने गरेको बताउँदै आफूहरुले पनि ‘रअ चियापत्ती’ मार्फत् उत्पादन गर्दै आएको जानकारी दिए । ‘प्रायः चिया कसैले पनि उत्पादन गरेको हुँदैन’, उनले भने, ‘रअ चियापत्तीलाई आफ्नो नाममा ब्राण्डिङ गर्दै बिक्री वितरण गर्ने हो, हामीले पनि सोहीअनुसार गरेका हौं तर हाम्रो उत्पादन क्वालिटीयुक्त भएकोले सबैले रुचाइदिनुभएको हो ।

’ उनले आफूहरुले उत्पादन गरेको चिया सिटिसी दाना चिया भएको प्रष्ट्याए । ‘हाम्रोमा ५ क्वालिटीको रअ चियापत्ती आउँछ, त्यसलाई हामीले क्वालिटी छुट्याएर ग्रेडिङ, ब्राण्डिङ अनि प्याकेजिङ गरेर बजारमा पठाउँछौं ।’ उनले भने ।

भविष्यको लक्ष्य
चियापत्ती मात्रै नभएर जिरा, धनियाँ र अन्य किचन आइटमका लागि चाहिने मरमसलाको पनि काम गर्ने योजना अघि बढाएको र चाँडै यिनीहरुको पनि धरान ब्राण्डमै प्याकेजिङ गरेर स्वच्छ सामग्रीहरु धरानेलाई खुवाउने लक्ष्य लिइएको उनीहरु बताउँछन् । हाम्रो कोशी आवाज

Author Since: Dec 06, 2019

Related Post