सानोमिल्ति हाइड्रोमा सन्चालकको बदमासी, कोरियाका श्रमिकको साँढे ११ करोड फँस्यो
- by siddhartha@post
- 1 year ago
- 0 comments

सिओल
रामेछापमा निर्माणाधीन ३ मेगावाटको सानो मिल्ती खोला जलविद्युत आयोजना अलपत्र पारेको भन्दै सेयरधनीहरूले विरोध जनाएका छन्। रिपोर्टर्स क्लबमा भएको पत्रकार सम्मेलनमा सेयरधनीहरूले मिल्ती खोला हाइड्रो पावर कम्पनीलाई विदेशमा पसिना बगाएका मजदुरहरूको लगानी डुबाउन खोजेको आरोप लगाएका हुन्।
६ वर्षअघि आयोजना निर्माण गर्नका लागि भनेर दक्षिण कोरियाबाट पठाएको ११ करोड ४५ लाख रुपैयाँ उठाइएको थियो। सञ्चालक तेन्जी शेर्पा, सुरेश लिम्बु, हरिबहादुर क्षेत्री र देवेन्द्र सोमान्थेलाई आयोजनामा लगानी गर्न ५ सय जनाले रकम पठाएका थिए । आयोजनाले राष्ट्रिय बाणिज्य बैंकको पनि करिब ३ करोड रुपैयाँ लगानी डुबाउन लागेको सेयरधनीले बताएका छन् । बैंकले करिब ३० करोड रुपैयाँ लगानी गर्ने गरी सम्झौता गरेको थियो, तर काम सुरु नभएपछि रकम दिएको थिएन ।
बैंकको सम्झौता अनुसारको म्याद सकिएपछि ऋण तिर्न ३५ दिने सूचना निकालेको थियो । सूचना निकालेको ७० दिन हुँदासम्म सञ्चालक समिति चुप लागेर बसेपछि लगानी डुम्बे खतरा बढेकोले आफ्नो धारणा सार्वजनिक गरेको सेयरधनी चेतबहादुर बस्नेतले बताए ।
सञ्चालकहरूको जायजेथा, चलअचल सम्पत्तिबाट असुलेर भए पनि पसिना बगाएका मजदुरहरूको लगानी नडुबाउन र हाइड्रो सञ्चालन गर्नुपर्ने सेयरधनीको माग छ । ‘हामी सबैले विदेशको चर्को घाममा पसिना बेचेर कमाएको पैसा सुरक्षित हुनुपर्छ,’ बस्नेतले भने, ‘आयोजनाको काम जसरी पनि सुरु गर्नुपर्छ, कि ब्याजसहित पैसा फिर्ता गर्नुपर्छ ।’ आयोजनामा एकजना सेयरधनीले १ लाख देखि १३ लाख रुपैयाँसम्म लगानी गरेका छन् ।
साना लगानीकर्ताहरूको पैसा लिएर सञ्चालकहरूले कामै नगरेको उनको भनाइ छ । कम्पनीले जम्मा ४ किलोमिटर मात्रै सडक निर्माण गरेको छ । हाइड्रो पावरले सेयरधनीहरुलाई धोका दिएको सेयरधनी गोकर्ण रिमालले बताए । उनका अनुसार बैंकले ऋण असुलीको सूचना निकालेपछि हाइड्रो पावरले लगानीकर्ता खोज्दैछौ, तपाईंहरूको लगानी डुब्न दिन्नौं, केही समय धैर्य गर्नुहोस् भन्दै आएको छ तर केही गरेको छैन । आयोजना निर्माण गर्न २०७१ सालमै कम्पनी दर्ता भएको थियो । कम्पनीले २०७३ असोज ९ गते विद्युत विकास विभागबाट उत्पादन अनुमति पाएको थियो। उर्जाखबरबाट