अस्ट्रेलियामा बिदेशी कामदारको चरम अभाव, नेपालबाट कामदार लैजाने तयारी..
- by siddhartha@post
- 1 year ago
- 0 comments

काठमाडौँ- अस्ट्रेलियाका व्यवसायीहरूले देशभर रहेका कम्पनीहरूमा देखिएको कामदारहरूको चरम अभावलाई यथाशीघ्र सम्बोधन गर्न आग्रह गरेका छन्।
उनीहरूले सिपयुक्त आप्रवासीहरूलाई सजिलोसँग स्थायी वासस्थान भिसा दिने व्यवस्था लगायत थप सुविधाहरू दिएर अस्ट्रेलियामा आउन आकर्षित गर्न समेत दबाब दिइरहेका छन्।
कोभिड-१९ प्रतिबन्धहरू हटेपछि सिड्नी सिबिडीमा कार्यालय जानेहरूको भिड बढेसँगै रेने बल्टोभको कपाल काट्ने पसलमा ग्राहकहरू पनि बढेका छन्।
तर कोभिड महामारी पूर्व रहेका आफ्ना कामदारहरूको सङ्ख्याको आधिले मात्र अहिले काम गर्ने भएकाले उनले माग अनुरूप सेवा प्रदान गर्न सङ्घर्ष गरिरहेकी छिन्।
“सबै जना कामदारहरूका लागी आलाप गरिरहेका छन्, यो कपाल काट्ने व्यवसायको लागि चरम कामदार अभाव हो र जुन हाम्रो पनि व्यवसाय हो।”बल्टोभ भन्छिन् उनले गत वर्ष मात्र पाँच जना सिपयुक्त कामदारहरू गुमाएकी थिइन्। उनीहरू अस्ट्रेलियाले लामो समय सम्म सीमा नखोल्दा र लकडाउन जारी राख्दा आफ्नै देश फर्किएर गएका थिए।
नोभेम्बरमा अन्तर्राष्ट्रिय सीमा खुलेको भए पनि धेरै सिपयुक्त कामदारहरू अस्ट्रेलिया फर्कन बाँकी नै रहेको छ।सरकारको नयाँ आँकडाले पछिल्ला पाँच महिनामा २३ हजार मात्र अस्थायी सिपयुक्त भिसा धारकहरू अस्ट्रेलिया आएको देखाएको छ।
बल्टोभ भन्छिन्, “मलाई अस्ट्रेलिया आउने क्रम बिस्तारै हुने थाहा थियो तर यति बिस्तारै होला भनेर अपेक्षा गरेको थिइन।”देशभर कामका लागी अहिले सम्मकै धेरै रिक्त स्थानहरू रहेको देखिदा व्यवसायीहरूले सम्पूर्ण क्षेत्रमा कामदार अभाव रहेको बताएका छन्।
इनेस विल्कक्स अस्ट्रेलियाली उद्योग समूहका प्रमुख कार्यकारी हुन्। र उनी भन्छन्, “श्रमिक र उनीहरूलाई चाहिएको सिपको अभावका कारण रोजगारदाताहरूलाई व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भइरहेको छ।”विल्कक्स पनि कामदार अभाव कम गर्न सरल र छिटो सीपयुक्त भिसा आवेदन प्रक्रियाको आवश्यकतामा जोड दिन्छन्।
सङ्घीय निर्वाचनका लागी चुनावी अभियानहरू जोडतोडले अगाडी बढिरहँदा साना व्यवसायहरूले राजनीतिक दलहरूलाई थप सहायता प्रदान गर्न गुहार गरिरहेका छन्।अस्ट्रेलियाका साना व्यवसाय सङ्घहरूको परिषद्की प्रमुख कार्यकारी एलेक्सी बोयडले सीपयुक्त कामदारहरूको अभावका कारण धेरै व्यवसायहरूमा विकास र विस्तार नहुने सम्भावना देखाएकी छिन्।
मेलबर्नमा अध्यागमन वकिल रहेका बेन वाट भन्छन् विदेशी पर्यटक र कामदारहरूका लागी अस्ट्रेलियाले विश्वका अन्य राष्ट्रहरूसँग प्रतिस्पर्धा गरिरहेको छ।उनले पनि रोजगारी मार्फत स्थायी वासस्थान भिसा (पिआर) प्रदान गर्ने बाटोहरू सरकारले निर्माण गर्नु पर्नेमा जोड दिएका छन्।
सरकारले सन् २०२२-२३ को लागी स्थायी आप्रवासनका लागी १ लाख ६० हजारको सीमितता राखेको छ। साथै सरकारका अनुसार ‘सीपयुक्त भिसाले कुल आप्रवासन कार्यक्रमको दुई तिहाइ स्थान ओगट्छ जसका लागी १ लाख ९ हजार ९ सय स्थानहरू रहेका छन्।’
विपक्षी पार्टीले आफ्नो नयाँ अध्यागमन नीति चाडै घोषणा गर्ने बताई रहेको छ। तर यस अगाडी नै उसले स्थायी आप्रवासनमाथि समर्थन देखाई सकेको छ।