
तेह्रथुमको आठराई गाउँपालिका ४ ईवा स्थित प्रणामी माध्यमिक विद्यालयमा आधुनिक विद्यालय भवन निर्माण हुने भएको छ ।
अम होंङ गिल ह्युमन र यम वेलफेयर फाउण्डेशन कोरियाको सहयोग तथा आठराई गाउँपालिकाको साझेदारीमा १८ काठे भवन निर्माण हुने भएको हो । फाउण्डेशनको ३ करोड र गाउँपालिकाको ६० लाख लागतमा निर्माण हुने १९ औं ह्युमन विद्यालयको शुत्रबार शिलान्यास भएको छ ।
शिलान्यास कार्यक्रममा अम होंङ गिल ह्युमनका कार्यकारी निर्देशक अम होंङ गिलले कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयको नयाँ इतिहास सुरु भएको बताए । विद्यार्थीहरु नेपालको आशा र भरोसाका धरोहर भएको उल्लेख गर्दै अम होंङ गिल ह्युमनका कार्यकारी निर्देशक गिलले विद्यालयको भवन निर्माण भएपछि यहाँका विद्यार्थीको सपना पुरा हुने देश विकासमा सहयोग पुग्ने बताए ।
“टयाङ्कल अफ द हिमालय” उपनामले चर्चित विश्वका ८ हजार मिटर भन्दा अग्ला १६ वटा हिमालहरुको सफल आरोहण गर्ने अम होंङ गिल संसारको पहिलो व्याक्ति समेत हुन ।
यम वेलफेयर फायण्डेशन कोरियाका अध्यक्ष पार्क युन सुनले देशको भविष्य राम्रो बनाउन शिक्षामा लगानी गर्नु पर्ने बताए । विद्यार्थीको सपना साकार गर्न फाउण्डेशनले सहयोग गरिरहने बताउर्दै यम वेलफेयर फायण्डेशन कोरियाका अध्यक्ष सुनले भवन निर्माणले विद्यालयको शैक्षिक क्रियाकलापमा सहयोग पुग्ने बताए ।
विद्यायमा आईपुगेका कोरियन दाताहरुलाई बाजागाजा सहित विद्यालय परिवारले स्वागत गरेका थिए । सहित कोरियन दाताहरु शिलान्यास कार्यक्रममा आइपुगेका थिए । कोरियन दाताहरुले विद्यार्थीहरुलाई शैक्षिक सामग्री र पोशाक समेत वितरण गरेका छन् ।
अम होंङ गिल ह्युमनका कार्यकारी निर्देशक अम होंङ गिल र यम वेलफेयर फायण्डेशन कोरियाका अध्यक्ष पार्क युन सुन सहितको दाताहरुलाई विद्यालय परिवारले तेह्रथुमे ढाका टोपी र खदाले सम्मान गरेको छ ।
विद्यालयको पूर्वाधार विकासमा फाउण्डेशनको सहयोग प्रति आभार प्रकट गर्दै प्रदेश १ मा माननीय तेजमान कन्दङवा र आठराई गाउँपालिकाका उपाध्यक्ष बलिराज ईङनामले शुभकमना व्यक्त गरे ।
विद्यालयले निर्माण समिति बनाई भवन निर्माणको काम दुई वर्षमा पुरा हुने विद्यालयका प्रधानाध्यापक अमृत बुढाथोकीले बताए ।