कोरियाले निशुल्क रुपमा दिएको १७ करोड मुल्यका साँढे र बाच्छी नेपाल आईपुगे !
- by siddhartha@post
- 5 months ago
- 0 comments

सिओल
दक्षिण कोरियबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साढे १७ करोड रुपैयाँ मूल्य बराबरका कोरेली बाछी र साँढे आइपुगेका छन् । नेपाल सरकारले गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा बिहीबार ३६ वटा कोरेली बाछी र ६ वटा साँढे उपहारस्वरुप ल्याएको हो ।
उच्च गुणस्तरका कोरेली बाछी र साँढे एसियन एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ल्याइएको हो । नेपाल ल्याउनका लागि हेफर इन्टरनेसनल नेपाल र कोरियाले सहयोग गरेका छन् । हेफर इन्टरनेसनल नेपालका सञ्चार प्रवन्धक प्रबिन गुरुङका अनुसार एउटा बाछीको मूल्य ३ हजार अमेरिकी डलर पर्छ । त्यस्तै एउटा साँढेको मूल्य २ लाख डलर पर्छ ।
‘कोरियाका किसानले अनुदान/उपहार स्वरुप कुल १ सय १ वटा बाछी र २० वटा साँढे दिएका छन् । पहिलो लट अनुसार बिहीबार ४२ वटा आइपुगेका छन्’ उनले भने, ‘अरु बाछी र साँढेहरु पनि क्रमिक रुपमा आउनेछन् ।’ नेपाल ल्याइएका ती बाछी र साँढे क्वारेन्टाइनका लागि कृषि अनुसन्धान परिषद (नार्क)मा राखिनेछ । त्यसपश्चात सिन्धुलीका किसानलाई हस्तान्तरण गरिने जनाइएको छ । ‘८१ वटा बाछी किसानलाई वितरण गर्छौं, बाँकी २० वटा बाछी र २० वटा साँढे सरकारलाई हस्तान्तरण गर्नेछौं’ उनले भने ।
ईकान्तिपुरबाट