सलनालमा कोरियाको राजधानी सिओल ‘महापुरुषमय’ हुने !
- by siddhartha@post
- 5 months ago
- 0 comments

गुरुदत्त न्यौपाने/सिओल
कोरियाको राजधानी सिओलमा नेपाली चलचित्र महापुरुष प्रदर्शन हुने भएको छ।कोरियाली नयाँ बर्ष ‘सलनाल’ मा राजधानी सिओल महापुरुषमय हुने भएको आयोजक हेल्लो कोरिया ग्रुपले बताएको छ।
सलनालको अवसर पारेर आउदो जनवरी २२ तारिखका दिन यो चलचित्र प्रदर्शन हुन लागेको हो।सलनालमा लामो बिदा हुने भएको र महापुरुष चलचित्र सर्वाधिक रुचाईएको चलचित्र भएकाले यहाँका कोरियाबासी नेपालीहरुलाई फुर्सद हुने समय पारेर यो चलचित्र प्रदर्शन गर्न लागिएको आयोजक ले बताएको छ।
महापुरुष यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र हो ।फिल्ममा लोकप्रिय हास्य कलाकारहरु मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, गौरी मल्ललगायत कलाकारको अभिनय रहेको छ ।
पारिवारिक कथावस्तुमा निर्माण भएको चलचित्रमा माया, घृणा, संवेदना, रोमान्स र विद्रोहका अनेक आयामलाई समावेश गरिएको छ । श्रीमती गुमाएको पुरुष पात्र छोराको बिहेको तयारीमा जुट्नुपर्ने बेला बुढेसकालमा आफ्नै विवाह गर्न लागेपछि परिवारमा आउने उतारचढाव नै चलचित्रको मुख्य कथावस्तु बनेको छ ।
चलचित्रमा रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, अरुण क्षेत्री, अञ्जना बराइली, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकारलगायत कलाकारको अभिनय छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ ले नेपालमा ५१ दिन लामो प्रदर्शनको कीर्तिमानी बनाएको छ । चलचित्रका निर्माता दिपेश खत्री हुन् । कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ रहेका छन् ।