कोरिया खबर

दक्षिण कोरियाले पनि मौसमी कामदार नलैजाने

सौल। दक्षिण कोरियाले पनि नेपालबाट मौसमी कामदार नलिने भएको छ।

मौसमी कामदारको रुपमा कोरिया आइपुगेका अधिकांश नेपाली नफर्किएपछि कोरियाले नेपालमाथि प्रतिबन्ध लगाएको हो।

दक्षिण कोरियाको मौसमी कामदार सम्बन्धी अध्यागमन विभागका निर्देशक इसुङ्ह्यनले नेपाली कामदारलाई ३ वर्षको प्रतिबन्ध लगाइएको बताएका छन्।

उनका अनुसार मौसमी कामको लागि नेपालबाट आएका ८० प्रतिशत कामदार सम्झौता अवधि पूरा गरेपछि फर्किएका छैनन्। धेरैले कार्यस्थल छोडी कोरियामै लुकेर बसेका छन्। यसैकारण कोरियाले नेपालबाट ३ वर्षसम्म मौसमी कामदार नल्याउने निर्णय गरेको उनको भनाइ छ।

एक वर्षभित्रमा कोरिया प्रवेस गरेका मौसमी कामदारमध्ये ७० प्रतिशतभन्दा बढि अवैध रुपमा बसेको खण्डमा सो देशबाट मौसमी कामदार ल्याउन ३ वर्ष प्रतिबन्ध लगाउने कोरियाले कार्यविधि बनाएको छ। सोही कार्यविधि अनुसार नेपाललाई मौसमी कामदार भित्र्याउन प्रतिबन्ध लागेको हो।

नेपालबाट गत वर्ष मौसमी कामदारको रुपमा कोरिया भित्रिएका ८० प्रतिशतभन्दा धेरै कामदार सम्झौता अनुसार स्वदेश नफर्किएका कारण कोरियाले प्रतिबन्ध लगाउन बाध्य भएको हो।

यद्यपि कोरियन नागरिकसँग विवाह गरेका नेपालीको आफ्नो आफन्तलाई मौसमी कामदारको रुपमा ल्याउन भने सक्नेछन्। उननीहरुको हकमा आफ्नो दाजुभाई ,दाजुभाइका छोराछोरी, आमाको दाजुभाईको छोराछोरी र वुवातर्फका दाजुभाइको छोराछोरीलाई मौसमी कामदारको रुपमा कोरिया ल्याउन मिल्छ भनेर इसुङ्ह्युनले बताएका छन्।

यसअघि बेलायतले पनि नेपालबाट मौसमी कादमहरू नलैजाने घोषणा गरिसकेको छ।

मौसमी कामका लागि विदेश जाने कामदार बढ्दै गएको र उनीहरू ठगिने क्रम बढ्न थालेपछि नेपाल सरकारले पनि त्यसलाई व्यवस्थित गर्नका लागि ‘मौसमी कामदार व्यवस्थापन निर्देशिका (२०७९) ल्याएको थियो।

जिटुजी (सरकार–सरकार) सम्झौता गरेर त्यस्ता कामदारहरूलाई शून्य लागतमा पठाउने लक्ष्य यो कार्यविधिको हो। तर, यो कार्यविधि कार्यान्वयनमा आउन नपाउँदै बेलायत र कोरियाले भने मौसमी कामदार नलैजाने घोषणा गरेका छन्।

सरकारले बेलायत, क्यानडा, कोरिया र जर्मनी, इजरायललगायत देशमा लक्षित गरी मौसम कामदार पठाउन कार्यविधि बनाएको थियो। कार्यविधिले आगामी दिनमा त्यस्ता कामदारहरू छनोट गर्ने अधिकार स्थानीय तहलाई दिएको थियो।

Author Since: Dec 06, 2019

Related Post