
मधुसुदन ओझा/कोरिया,कोरिया नेपाली युवा युवतिको पहिलो रोजाईमा पर्नुको मुख्य कारण कमाई र निस्पक्ष छनोट प्रकृया हो। नेपाली युवाहरु कोरियन भाषा पास गरेर रोस्टरमा बसि निस्पक्ष रुपमा रोजगारदाताको रोजाईमा पर्न सफल भए भने सजिलै कोरिया जान सक्छन्।कोरियाले बिभिन्न माध्यमबाट वर्ष भरिनै विदेशी कामदार भित्र्याउँछ ।
ती माध्यम मध्ये इपिएस पनि एक हो । इपियस कोरियन सरकारले सन् २००४ मा लागु गरेको हो । इपिएसको सबैभन्दा राम्रो पक्ष कोरिया भित्र्याउने माध्यम, भाषा, छनोट प्रकृया हो, यो एकदम निस्पक्ष र पारदर्शी छ।यदि भाषा परिक्षा नभएको भए हामी यति सजिलै कोरिया आउन पाउने थिएनौं । अहिले कतिपय देशमा जान फ्री भिषा, फ्री टिकट भनिए पनि भित्र भित्रै लाखौँ तिरेर जानुपर्ने अवस्था छ।यदि कोरिया छनोट माध्यम भाषा परिक्षा नभएको भए अहिले सायद १५/२० लाख तिरेर कोरिया जान मिल्थ्यो होला तर यति सजिलै हामी नागरिकले जान मिल्दैनथ्यो।
भाषा परिक्षा पास गरेर छनोट भैसकेपछि जान सजिलो भएपनि काम गर्न एकदमै गाह्रो छ। पहिलो कुरा कोरियामा इपिएसबाट कामदार ल्याउने भनेको कोरियनले गर्न नमानेको गाह्रो, फोहर र खतरनाक कामका लागी हो ।अर्को कुरा कोरियामा इपिएसमा सबै अधिकार रोजगारदातालाई दिएको छ। विदेशी कामदारले आफु बिरामी पर्दा समेत बिरामी भएँ भन्न पाउँदैनन् । रोजगारदाताले मान्छे मर्नै लाग्दा समेत जसरी भएपनि थोरै समयमा कति धेरै काम लिन सकिन्छ भनि सोचेका हुन्छन्।
हामीले नेपालमा किताबमा पढ्ने तीन बर्षमा तीन पटक कार्यस्थल फेर्न पाउने भने जस्तो कार्यस्थल सजिलै परिवर्तन गर्न पाउँदैनन् । कोरिया आउने विदेशी कामदारलाई कार्यस्थल आफूूखुशी परिवर्तन गर्न दिइँदैन। कोरिया जाने आसमा ठूलो सपना बोक्दै रातदिन भोक प्यास नभनि कडा मेहनतका साथ भाषा परीक्षाको तयारीमा छन्।आस गर्नु स्वभाबिक नै हो यदि हामी आफ्नै देशमा रोजगार पाउने भए यसरी विदेशीनु बाध्यता हुन्न थ्यो। फेरि कमाईको हिसाबले कोरिया अन्य देशको तुलनामा राम्रो छ । तर पैसा छ भन्दैमा कोरियाको बारेमा राम्रोसँग बुझेर जाँदा राम्रो हुन्छ ।
राम्रोसित नबुुझि कोरिया प्रवेश गरेका केही युवाहरु कामको प्रेसर र अन्य कारण डिप्रेसनको सिकार हुने गरेका छन्। कोरिया नेपालबाट हेर्दा कोरियामा बस्ने अन्य साथीले फेसबुकमा गगनचुम्वी भवन अगाडि खिचेर वा कुनै हाम्रो समुदायले गर्ने बिभिन्न कार्यक्रममा सहभागी हुँदा अतिथिको व्याच लगाएर मन्चमा आसिन गर्दै फेसबुकमा सेयर गरेको फोटोमा सिमित छैन कोरिया ।कोरिया विश्वको सम्पन्न देशमा पर्छ । कोरियाका सहरहरु हरभरा झिलिमिली झकिझकाउ छन्। तर कोरियामा काम गर्न आउने धेरै विदेशी कामदारले बर्षौं शहर नदेखेका पनि छन्। विदेशी कामदारले एकदम दूरदराज कुनाकाप्चामा एक्लै बसेर काम गर्नु पर्ने अवस्था पनि हुन सक्छ । कोरियामा काम गर्न आउने हामी नेपाली कामदारले कोरिया गएर जस्तो सुक्कै परिस्थितिको पनि सजिलै सित सामना गर्ने छु भनि उच्च साहस बोकेर आउदा राम्रो हुन्छ।अर्को कुरा कोरिया आइसकेपछि हामी प्रवासी श्रमिकलाई आफ्नो हक अधिकारको लागि र कार्यस्थलमा अनेकन अपठ्याराहरु आईपर्दा कसको सहयोग लिन सकिन्छ यस्ता जानकारी पहिलेनै हुँदा राम्रो हुन्छ ।
प्रवासी श्रमिकलाई सहयोग गर्ने प्रवासी श्रमिक कै हितकारी प्रवासी श्रमिकद्वारा सन् २००५ अप्रिल २४ तारिक प्रवासी मजदुर युनियन (एमटियु) दक्षिण कोरियाको नामले स्थापना गरिएको प्रवासी श्रमिक युनियन छ। जसले प्रवासी श्रमिकका बिभिन्न हक अधिकार प्राप्ती र सुरक्षाका लागी कोरियन सरकारलाई दबाब दिने काम गर्दछ। एमटियु दक्षिण कोरिया सन् २०१५ अगस्ट २० तारिक सउल श्रम विभागमा दर्ता भएको थियो ।यो सम्बन्धित देशको श्रम बिभागमा दर्ता हुने विश्वको पहिलो प्रवासी श्रमिक युनियन हो । प्रवासी श्रमिक युनियनको कोरिया काम गर्न आउने सबै प्रवासी श्रमिक सदस्य बनि एमटियुमा आवद्ध भएर आफ्नो हक अधिकार प्राप्तीका लागी आफै लड्न पाउने अधिकार छ ।
नेपालमा बिभिन्न भ्रामक प्रचारित गर्ने गरेको देखिन्छ, कोरिया गएपछि रोजगारदाताले कुटपिट गालिगलौच गरेपनि चुपचाप सहनु पर्छ, नभए नेपाल फर्काईदिन्छ भनेको पनि पाइन्छ।वास्तवमा त्यस्तो होइन कोरियामा आफुमाथी दुव्र्यवहार भए आफ्नो हक अधिकार र न्यायका लागी प्रवासी श्रमिक युनियनमा आवद्ध भएर आवाज उठाउन पाउने अधिकार छ। प्रवासी श्रमिक युनियनमा आवद्ध भएकै कारण हाम्रो रोजगारलाई रोजगारदाताले तलमाथि गर्न पाउने अधिकार छैन।तसर्थ, कोरियामा कार्यरत या कोरिया आउने तयारी अवस्था हुने सबै जना प्रवासी श्रमिक युनियनमा आवद्ध भएर कोरियामा कार्यस्थलमा प्रवासी श्रमिक माथी गरिने भेदभावबिरुद्ध एकजुट भएर दबाब सृजना गर्न सकिन्छ।