कोरिया खबर

कोरियाले बदलिदिएको जीवन:

ब्राजिलियन लेखक पावलो कोयलोको चर्चित पुस्तक ‘द अल्केमिस्ट’ (कमसल धातुलाई सुन बनाउने रसायन वा आयु लम्बाउने औषधि पत्ता लगाउने विद्या अध्ययन गर्ने व्यक्ति) ६० लाख प्रतिभन्दा बढी बिकिसकेपछि एक पत्रकारले प्रश्न राखे। यत्रो किताब बिक्नुको रहस्य के हो ? पावलोले भने– ‘इमानदार उत्तर मलाई थाहा छैन।’शुरूमा द अल्केमिस्ट ९ सय कपी छापियो।

त्यसपछि प्रकाशकले रि–प्रिन्ट गरेनन्। पावलोले आफ्नो सपना त्यागेनन्। उनले अर्काे प्रकाशक खोजे र खोजिरहे। भेटे पनि।विस्तारै दश, बीस, पचास हजार हुँदै लाखौंलाख कपी बिक्यो। ६२ भाषामा त उनको पुस्तक अनुवाद नै भयो। ब्राजिलियन लेखकले शुरूमा पावलोलाई मानेनन्। अहिले पनि कतिले मान्दैनन्। अरूले माने पनि नमाने पनि उनले आफ्नो सपना फेरेनन्। बरु सपनासँग नमिल्ने साथी फेर्दै गए। आज पावलो निजी जेटमा चढ्ने लेखक बने।

जीवन हरेकको उस्तै हुन्छ। सबै एकैपल्ट सफल हुँदैनन्। सफलता पछाडि लामो कथा हुन्छ। धोका हुन्छ। अरूले गन्दैनन्। पीडा दिन्छन्। असफल हुन्छ भनेर सफल हुनेले सपना फेर्न हुँदैन। ब्राजिलियन लेखकको आफ्नो कथा बोकेजस्तै बोधराज रेग्मीको पनि आफ्नै कथा छ। धोकाको, पीडा, असफलता र सफलताको। बोधराजले पनि आफ्नो लक्ष्यसँग नमिल्ने साथी फेर्दै गए। विचार फेरेनन्। रविलाल रेग्मी र सावित्रीको छोरा मात्र भएर स्याङ्जा पकवादीमा बसेनन्। सपनामा धार लगाउँदै लगे। त्यसैले त आज कुनै गाउँमा बेनामी भएर उनी बसेनन्। राजधानी आएर आफ्नो नाम एक उपन्यासकार, गीतकार, कोरियन भाषाका चर्चित चार गाइडमध्ये एकमा दर्ता गरे।

जीवन जसोतसो जसको पनि चल्छ। चलेकै छ। जति बेला पनि उद्देश्य सफा भएको मान्छे नै अगाडि जाने हो। दुख त जसलाई पनि हुन्छ। जहाँ दुख हुन्छ। सुख त्यहीं हुन्छ। समयको जीजिविषाले मान्छेलाई एकबाट अनेक बनाउँछ। त्यही अनेकतामा एकता खोज्ने मान्छे नै अगाडि बढ्ने हो| लेखिरहने पढिरहने बोधराजले जिन्दगीको हर मोडबाट शिक्षा लिएर अगाडि बढे। स्याङ्जा जिल्ला अहिले पनि लोकसेवामा नाम निकाल्ने मान्छेमा अग्रपंक्तिमा पर्छ। उनले पनि उति बेलै २०४० सालमा मुखिया पास गरे। त्यसले उनलाई राजधानीमा टिकायो। बाहिरबाट राजधानी केही गर्न आएकालाई गाउँ नै फर्कन पर्ला कि भन्ने बडो पीर हुन्छ। उनले पाएको मुखिया पदले राजधानीबाट फर्कन परेन। पढ्दै गए। दिउँसो काम र रातको पढाइ छाडेनन्।

एसएलसी पास गरेपछि राजधानी छिरेका उनी आईए पास गरेपछि सुुब्बा भए। स्वास्थ्य क्षेत्रमा उनले आठ वर्ष काम गरे। रुकुममा कार्यालय प्रमुख बने। दाङमा सेकेन्डमेन भएर चलाए। सरकारी सिउँदो भनिए पनि त्यसले उनको चित्त बुझेन। साथीहरूको व्यवहार र भ्रष्टाचारी मानसिकताले उनलाई बिरक्त बनायो। उनले आफू केही हुने बन्ने विचार त्यागेनन्। खराब साथी त्यागे। केही बन्नका लागि पैसाको पनि आवश्यकता हुने उनको ब्रह्मले बुझायो। भिजिट भिसामा कोरिया जाने समय थियो उनको। आजभन्दा २२ वर्षअघि उनी त्यसरी नै कोरिया गए। काम गरे। केही कमाए।

जसका कारण राजधानीमा उनको कुटेरोको जोहो भयो। कोरियाले नै उनको जीवनमा धेरै फरक पार्यो। कोरियन भाषा जानेकै कारण आज विश्वभाषा क्याम्पसमा कोरियन भाषाका लेक्चरर बनेका छन्। सिटी मनी एक्सप्रेसमा सिनियर अफिसर छन्। रामायणमा राम १२ वर्ष वनबास बसेको कथाजस्तै कोरियामा १२ वर्ष बस्दाको उनको कथा छँदै छ। जसरी रामको जीवनको उत्सर्ग काल वनबास भएको थियो। बोधराजको पनि कोरियाको बसाइ नै उत्सर्गको काल बन्यो। बिदेसिनु पर्दाको पीडा समेटेर एक उपन्यास नै तयार गरे।

माया नेपाली गीतसंग्रह बनाए। सफल कोरियन गुरु र गाइडका रूपमा चिनिए। श्रीमती केशकुमारी छोरा चण्डी र छोरी पुनमका लागि राम्रो ओत बन्न सके। यी सबैको जग कोरिया नै थियो। कोरियाले बोधराजको जीवन बदल्यो। कौशलटारको उनकै घरमा कुराकानी गर्दा बिहानको सूर्य दिउँसोतिर लम्कँदै थियो। बाहिर राजधानीमा आउँदै गरेको सार्कको हो–हल्ला थियो। एक सामान्य मान्छे पनि नेपाली बिन्दास पारामा यो काम सार्कपछि गरौँ भन्दै हिँडेको थियो।

बोधराज भने कोरियन भाषाका गुरु जो थिए। उनकै घरमा खोलिएको ल्याङ्ग्वेज सेन्टरमा पढाउन जान आतुर थिए। उनलाई सार्कले पनि छोएको थिएन। आफ्नै काम बितिरहेको थियो। त्यही कर्मले नै उनलाई अग्लो बनाउँदै लगेको थियो। कहानी सुन्दा उदेक लागेको थियो। कोदाको रोटी पीपलको टोड्कामा राखेर कुनै दिन स्कुल जान्थे बोधराज। आज राजधानीमा आफ्नै कर्मले घर ठडाएर बसेका छन्। चप्पल नलगाई स्कुल जाने बोधराज आज गाडी चढेर हिँड्छन्। छोराछोरी दुवै हुर्केका छन्। कामको ठाउँमा काम छ |नामको ठाउँमा नाम छ। भन्दैथे– ‘म त कल्पना लोकमा छु अहिले।’ कोरिया बसिरहेको भए उनको जीवन अहिले जस्तो हुदैनथ्यो। पैसा उनीसँग केही बढी हुन्थयो होला। जीवन सुुखी हुन सक्दैनथ्यो। कोरियामा नबसी नेपाल फर्के। उनी फर्कंदा कोरिया जानेको ताँती रातैभर लाइन लाग्नेमा पुग्यो।

कोरिया देशको नाममा धेरै व्यापार खुले। रेस्टुरेन्ट, ल्याङ्ग्वेज सेन्टर, पुस्तकहरु। उनले पनि पुस्तक लेखे। कोरियन भाषा पढाइको। उनले पनि जानेको कुरा कोरियन भाषा थियो। त्यसलाई लिएर घरमा पढाउने तालिम केन्द्र खोले। बिहानै उनको घरमा राम्रो पढाउँछन् भनेर मान्छे आइपुग्छन्। राम्रो गरेपछि विज्ञापन गर्नै पर्दाेरहेनछ। एकाबिहानै उनको घरमा कोरियन पढ्नेको लाइन थियो। कोरियन भाषाले नै आज उनलाई कोरियन भाषा पढाउने लेक्चररका रूपमा विश्वभाषा कलेजमा नियुक्ति दिलाइसक्यो। सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिट्यान्स कम्पनीमा सिनियर म्यानेजरका रूपमा कार्यरत छन्।

सामान्य जीवन असमान्य बन्दै गएकोमा बोधराज खुसी छन्। जुन कुरा यस्तो भए पनि हुन्थ्यो भनेर सोच्थे। आज उनी त्यही जीवनमा छ। आनन्दका रूपमा जीवन अगाडि बढाउन पाउनुजस्तो सौभाग्य के हुन सक्छ। उनी त्यस्तै शौभाग्यशाली बन्दै छन्। आफूले मनले चाहेको गर्न पाउने एक भाग्यमानी मान्छे। बोधराजको पनि कोरिया बसाइ नै उत्सर्गको काल बन्यो। बिदेसिनु पर्दाको पीडा समेटेर एक उपन्यास नै तयार गरे। माया नेपाली गीत संग्रह बनाए। सफल कोरियन गुरु र गाइडका रूपमा चिनिए। श्रीमती केशकुमारी छोरा चण्डी र छोरी पुनमका लागि राम्रो ओत बन्न सके। यी सबैको जग कोरिया नै थियो। कोरियाले बोधराजको जीवन बदल्यो।

Author Since: Dec 06, 2019

Related Post